खरिद प्रक्रियालाई पारदर्शी बनाउन मन्त्री गिरीको चेतावनी

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले खरिद प्रक्रियालाई पारदर्शी बनाउन पनि चेतावनी दिए।
स्वास्थ्य सेवा विभागको अनुगमन र बिफ्रिङ मा पुगेका मन्त्री गिरीले खरिद प्रक्रियालाई लिएर मिडियामा अनेक समाचार आउने गरेको भन्दै पारदर्शी बनाएर काम गर्न चेतावनी दिएका हुन् ।
उनले भने, ‘खरिद प्रक्रियामा सत प्रतिशत पारदर्शी भएर काम गर्नुहोला। अन्यथा ढिलो चाँडो त्यो स्पष्ट भइहाल्छ। ’
त्यस्तै उनले विभागका कर्मचारीहरुलाई प्रभावकारी रूपमा काममा लाग्न उनले निर्देशन दिए । ‘विभाग जति प्रभावकारी हुन्छ । त्यतिनै जनताप्रति उत्तरदायी हुन्छ । जनताले त्यति नै राम्रो स्वास्थ्य सेवा पाउँछन्,’ उनले भने, ‘त्यसैले तपाईहरु अझै प्रभावकारी भएर लाग्नुस् । अब हामी कमी कमजोरी पहिल्याएर अझै जिम्मेवार भएर लाग्न आवश्यक छ।’
देशका विभिन्न अस्पतालमा रहेका पुराना स्वास्थ्य उपकरणहरु प्रयोगविहीन रहेको गुनासो आइरहेको भन्दै मन्त्री गिरीले त्यसतर्फ ध्यान आर्कषण गराउँदै उपकरणको अवस्थाबारे छानबिन गर्न सुझाए।
उनले भने, ‘उपकरणहरु यहाँबाट विभिन्न ठाउँमा पठाएका छौं । तलबाट माग भएर आईअनुसार खरिद गरिएको हुन्छ । त्यो कुन अवस्थामा छ। ती उपकरण प्रयोग नभएर डम्पिङ भएको छ र बिरामी अन्यत्रै गइरहेको अवस्था पो छ कि। राजस्वबाट किनेका सामाग्री अलपत्र हुनुहुँदैन । यसतर्फ सजग रहनुस्।’
उनले स्वास्थ्य संस्थाहरूलाई प्रविधि मैत्री बनाउनुपर्ने बताए । ‘घरमा बसेर अस्पतालको बेड खाली छ कि छैन भन्ने कुरा सहजै एप्समा हेर्न सकियोस् । सबै कुरा डिजिटल हुनुपर्छ । मोबाइलबाट हेर्नुपर्छ । स्वास्थ्य क्षेत्रमा उत्साहजनक रूपमा देखिनेगरी परिवर्तन आउनुपर्छ,’ उनले भने, ‘बिरामी टिचिङ लग्यो, बेड हुँदैन । त्यसपछि वीर लग्यो, पाटन लग्यो, बाटोमै मर्छ भन्ने अवस्था रहनु हुँदैन ।’
प्रयोगशालाहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने तथा प्रदेशहरूमा व्यवस्थित प्रयोगशाला खोल्नुपर्ने आवश्यकता रहेको उनले बताए ।