नेपाललाई अत्यावश्यक औषधिमा आत्मनिर्भर बन्नेतर्फ लैजान स्वास्थ्यमन्त्री गिरीले डिडिएलाई दिए निर्देशन

काठमाडौं – नेपाललाई अत्यावश्यक औषधी उत्पादनमा आत्मनिर्भर बन्नेतर्फ लैजान औषधि व्यवस्था विभागलाई कार्ययोजना ल्याउन स्वास्थ्य मन्त्री पदम गिरीले निर्देशन दिएका छन्।
नेपालमा २९ प्रकारका औषधिलाई अत्यावश्यक औषधिमा सूचीकृत गरिएको छ। तीमध्ये अहिलेको अवस्थामा ५५ प्रतिशतभन्दा बढी अत्यावश्यक औषधि नेपालमा उत्पादन हुने गरेको छ।
स्वास्थ्य राज्यमन्त्री तोषिमा कार्की र स्वास्थ्य सचिव देवकुमारी गुराई सहित आज बिजुली बजारस्थित औषधि व्यवस्था विभाग (डिडिए) मा अनुगमनमा पुगेका स्वास्थ्यमन्त्री गिरीले डिडिएलाई अत्यावश्यक औषधिमा आत्मनिर्भर बनाउन कार्ययोजना बनाउन आदेश दिएका हुन्।
उनले औषधि आम नागरिकको जीवनको सुरक्षासँग जोडिएको हुनाले डिडिएलाई प्राथमितामा राखेर अनुगमनमा पुगेको बताए।
‘स्वस्थ्य नागरिकको मुद्दा हामीले उठाइरहँदा गुणस्तरहीन औषधि छ्यापछ्यापी बजारमा पाइएको सुन्नमा आएको छ,’ उनले भने, ‘नमुना परिक्षण गर्दा ९ प्रतिशत औषधि न्युन गुणस्तरको भनिरहनु भएको छ। तर परिक्षणको दायरा बढाउँदा यो आँकडा पनि बढ्नसक्छ।’
उनले जनशक्ति र प्रयोगशालामा उपकरण अभावको बाहाना बनाइन मिल्दैन भन्दै प्रभाबकारी कार्ययोजना बनाई आम जनताले परिर्वतन देख्ने गरी काम गर्न डिडिएलाई चेतावनी दिए ।
चालु आर्थिक वर्षको सात महिनामा ७ मा डिडिएले ७ प्रतिशत मात्र पुँजिगत खर्च गरेको आकडा प्रस्तुत गरेकामा उनले प्रश्न तेर्साएका छन्। उनले भने, ‘अहिले यहाँको पूर्वाधारको दुरावस्था हो। तर पूँजिगत खर्च भने ७ प्रतिशत मात्र हुनु लाजमर्दो हो।’
उनले स्वास्थ्य सेवालाई चुस्त दुरुस्त बनाई सिस्टम र सर्भिसलाई आम मानिसले परिर्वतन देख्ने गरी काम गर्न सुझाए।
उनले विभिन्न स्थानमा पुग्दा फार्मेसी नविकरण गर्न केन्द्र नै धाउनुपर्ने झन्झट रहेको गुनासो सुनेको भन्दै त्यसलाई अन्त्य गर्न अनलाईन मार्फत नै नविकरण गर्ने व्यवस्था मिलाउन आग्रह गरे।
उनले भने, ‘अनुगमनलाई निर्ममतापूर्वक कडाई गर्नुपर्छ तर सेवालाई भने झन्झटिलो होइन सहज बनाउनुपर्छ।’