म्याग्दीमा कुष्ठरोगका नयाँ बिरामी देखिएनन्

हेल्थपोस्ट नेपाल

म्याग्दी – म्याग्दीमा कुष्ठरोगको नयाँ बिरामीको सङ्ख्या शून्यमा झरेको छ। दुई आर्थिक वर्षदेखि जिल्लामा कुष्ठरोगको नयाँ बिरामी पहिचान नभएको स्वास्थ्य कार्यालयले जनाएको छ।

सत्तरीऔं विश्व कुष्ठरोग दिवसका अवसरमा आइतबार बेनीमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रमा स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले जिल्लामा कुष्ठरोगको नयाँ बिरामी पहिचान नभएको जानकारी दिए। ‘दुई वर्षयता जिल्लामा स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा कोही पनि नयाँ कुष्ठरोगको बिरामी दर्ता भएका छैनन्, जिल्ला बाहिरका स्वास्थ्य संस्थामा पुगेर उपचार गरेकाको विवरण जिल्लामा अभिलेख हुँदैन, केहीले जिल्ला बाहिरबाट कुष्ठरोगको उपचार गराएको हुनसक्छ हाम्रो अनुमान छ,’ उनले भने।

कार्यालयका अनुसार, दुई वर्षअघि जिल्लामा कुष्ठरोगको बिरामीको सङ्ख्या १३ थियो। अहिले दुई वर्षअघि नै पहिचान भएका पाँच जनाले उपचार गराइरहेका छन्। दुई वर्षअघि प्रति १० हजार जनसङ्ख्यामा एक दशमलव नौ प्रतिशतमा कुष्ठरोग देखिएकामा अहिले कुष्ठरोगको सङ्क्रमण दर घटेर शून्य दशमलव।४७ प्रतिशत रहेको कार्यालयले जनाएको छ।

कार्यक्रममा बेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शङ्कर लामिछानेले कुष्ठरोगको पहिचान समयमै भएर उपचार गरेमा रोग निको हुने र कुष्ठरोगको कारण हुनसक्ने अपाङ्गता स्वास्थ्य समस्यासमेत नहुने भएकाले लक्षण देखिएका र पहिचान भएका बिरामीले उपचार गराउनुपर्ने बताए। उनले ६ देखि १२ महिनासम्म नियमित औषधि सेवन गरेमा कुष्ठरोगको उपचार हुने भएकाले कुष्ठ रोगलाई भेदभाव र लान्छनाको दृष्टिकोणबाट हेर्न नहुने बताए।

रासस



Leave a Reply

Your email address will not be published.