‘कुष्ठ’ रोगले गाँसेका जीवन : समाजमा तिरस्कार, अस्पतालमा प्रेम

काठमाडौं- करिब ५३ वर्ष पहिले। उनी आफैलाई थाहा थिएन, शरीरमा के हुँदैछ। गल्न थालेपछि बल्ल थाह भो, त्यो कुष्ठरोग थियो।

त्यो बेला रामेछापका उमा नाथ तिवारी बिमार मुक्त हुन त चाहन्थे। रोगको असहजता उस्तै, अझ कुष्ठरोगी भएकै कारण समाजले गरेको अवहेलना दुर गर्नैपर्ने बिकल्प उनले देखिरहेका थिए।

समाजबाट बहिष्कृत बनाउन आइलागेको रोग छनक्कै होओस् भन्ने चिन्तनमा रहेका तिवारी आनन्दवन अस्पताल पुगे। बिमार मुक्त हुन अस्पतालको शैयामा पुगेका तिवारीका लागि ‘शैया बसाई’ पवित्र प्रेम गाँस्ने प्रेमिल थलो पनि बन्यो। यही ‘प्रेम-शैया’ ले लगन गाँठो कसिदियो, सुन्दर घरजम बस्यो।

रोग मुक्त हुन अस्पताल पुगेका अविवाहित तिवारीका आँखा आफू जस्तै एक बिरामीसँग जुधिरहन्थे। सिन्धुलीकी राधाका आँखाले पनि तिवारीलाई ताकिरहन्थे। राधा र उमा नाथले अस्पतालका ‘बिमार-साथी’ का रुपमा सम्बन्धको जग हाले।

आफूमाथि आइलागेको रोग ब्याधको अनुभुति असहजता साटासाटले राधा र उमा नाथलाई अझ नजिक बनाइरहेको थियो। शान्त, सरल स्वभावका उमा नाथ राधाको नजरमा केबल साथी मात्रै सिमित बनिरहेका थिएनन्। आफूजस्तै बिमारसँग प्रेमिल सम्बन्धमा गाँसिने अभिलाषाका अघि राधाका आफन्ती कसैको केही जोर चलेन। उनले केबल उमा नाथलाई नै रोजिरहिन्।

२०२९ बैशाखमा उमा नाथ राधासँग अस्पतालबाट छुटिट्ए। उनी खोकना पुगे। खोकना आरोग्याश्रम उमा नाथ जस्तै कुष्ठ रोगीहरुको आश्रय थलो हो।

यो आरोग्याश्रम नेपाल कुष्ठरोग निवारण संघले बनाएको हो। बैशाखमा खोकना पुगेका उमा नाथलाई राधाले पछ्याई रहिन्। उनी एक महिना पछि जेठमा उमा नाथ बसेको खोकना आश्रममा पुगिन्।

अस्पतालमा बसेको प्रेमले राधा र उमा नाथ (दुई कुष्ठ रोगी) लाई त्यही आश्रम भित्रै लगनगाँठोमा कसिदियो। अहिले उनीहरुको एक छोरी छिन्। २०३० मा तिवारी दम्पतीको छोरी जन्मिएकी हुन्।

छोरीलाई राम्रो शिक्षा कसरी प्रदान गर्ने उमा नाथ दम्पत्तिका सामु ठूलो चुनौती बन्दै थियो।

उनको एक मात्र सन्तान (छोरी) लाई सक्षम बनाउनुपर्छ भन्ने सोचे। त्यहि अनुसार नजिकै कखरा सिकाउन पठाए।

त्यसबेला छोरीलाई राम्रोसँग पढाउँछु भनेर उनले एक जना व्यक्तिसँग आफ्नो दुखेसो पोखेका थिए।

उनै व्यक्तिले सानो गौचरनमा रहेको एक सरकारी स्कुलमा छोरीलाई भर्ना गरिदिए।

केहि समयपछि उनको छोरीलाई पढाइदिने दातृ पाए। एसएलसीसम्म पढाइदिए।

त्यसपछि तिवारीले छोरीलाई भरतपुरमा नर्सिङ पढाउन पठाए। चार वर्षको नर्सिङ पढाउनका लागि केहि खर्च तिवारीले बेहोरे भने केहि केन्द्रले सहयोग गरेको थियो।

छोरीलाई नर्स बनाएर राम्रो परिवारमा नै विवाह गरिदिए। एक नाती, एक नातिनी छन्।

प्रेम, बिवाह अनि पारिवारिक गफमा गफिँदा हर्षित देखिएका उमा नाथ कुष्ठरोगको आक्रमणमा पर्दाको क्षण सम्झँदा भावुक बने।

२०२६ मा उनको आमाको देहान्त भयो। किरिया बसेका उमा नाथको नाक एक्कासी फुलिन थाल्यो। एकाएक नाक फुल्न थालेपछि उमा नाथ आत्तिए, अझ छिमेकले उनको अस्वाभाविक शारिरिक अवस्था देखेर खिसिट्युरी गर्न थालेपछि उमा नाथ कमजोर हुन थाले।

‘सबैभन्दा जान्ने डाक्टरहरू भन्दा गाउँले हुन्छन्, नाक फुलेको देख्ने बित्तिकै समाजले मलाई कुष्ठ रोगी घोषित गरिदिए,’ उनले दुखेसो पोखे। आमा गुमाउँदा को शोक, त्यसमाथि कुष्ठ रोगको बज्र। समाज र आफन्तले कुष्ठरोग लागेको भनेर बहिष्कृत गरिदिए।

‘त्यसबेला कुष्ठ रोगीलाई घृणाको दृष्टिले हेर्थे। छेउछाउमा आउन डराउँथे। समाजभन्दा टाढा बसाल्नुपर्छ भन्थे,’ उनले दुखेसो पोखे।

समाजले आफुप्रती गरेको दुर्व्यवहारले असह्य पीडा बोध भयो उनलाई। अनि नफर्कने दृढताका साथ बहिनी ज्वाईको सहायतामा टिकाभैरवस्थित आनन्दवन अस्पताल पुगे। समाजले कुष्ठरोगी घोषणा गरिदिएपनि अस्पतालले यसको गलत पुष्टि गरिदिए हुन्थ्यो भन्नेमा उनी थिए। तर अस्पतालमा रगत परिक्षण गर्दा उनीमा लेप्रे किटाणु भेटिएको रिर्पोट आयो। उनी छाँगाबाट खसेजस्तो भए।

अस्पतालमा उनको उपचार प्रक्रिया सुरु भयो।  समाजले बहिस्कार गरेका उनले अस्पतालमा भने साथ पाए। समाजमा दुर्व्यवहार सहेका उनले अस्पतालमा डाक्टरको माया पाए। साथै, आफु जस्तै समस्या भएका धेरै बिरामीहरु संग उनको साक्षात्कार भयो, मन शान्त बन्दै जान थाल्यो।

त्यसबेला उक्त अस्पताल कुष्ठ रोग डेडिकेटेड अस्पताल थियो। उनले कुष्ठ रोगबाट प्रभावितहरुका लागि बनाइएको ‘खोकना आरोग्याश्रम’ मा बसिरहेका बिरामी भेटे।

त्यहाँ उनले आफु जस्तै बिरामीलाई राख्ने व्यवस्था भएको थाहा पाए। अस्पतालमै चिनजान गरेका एक साथीले उनलाई खोकना बोलाए। उनी अस्पतालबाट छुट्टी लिएर खोकनमा पुगे। टेकु पुगेर रासनको व्यवस्था मिलाए। शिशुवस्थामा नै अपांग भएका तिवारीलाई कुष्ठ रोग सुरुवाती अवस्थामा नै पत्ता लागेको थियो। समयमा नै औषधि पाए। जसका कारण उनलाई कुष्ठ रोगले हानी पुराउन सकेन। सबैको व्यथा एउटै। खोकनामा उनी सहजै घुलमिल भए।

उनी खोकना पुग्दा आफु जस्तै समस्या भएका पाँच सय ९६ जनालाई भेटे। खोकना भित्र उमा नाथले आफू जस्तै कुष्ठ रोगीहरुको एक ठूलो परिवार भेट्टाए।

तथापि समाजले गरेको वहिस्कारको रापले उमा नाथलाई पोल्न भने छोडेन। घर कहिल्यै नफर्कने भनेर खोकना ठोक्किएका उनी घर नफर्कने निर्णयबाट टसमस भएनन्।  खोकनाबाट उनी १६ वर्ष अघि एकपटक मात्रै जन्मथलो पुगे। तर उनको त्यहाँ मन बसेन। जन्मथलो भन्दा खोकना नै प्रिय लाग्यो उनलाई, जन्मथलोको घर त्याग्न बाध्य पारिएका उनको घर अब खोकना बन्यो।

अहिले खोकनामा १२० जना कुष्ठ रोगबाट प्रभावितहरु छन्।

त्यहाँ प्रति व्यक्ति एक कोठा उपलब्ध छ। प्रभावितले खाने सुत्ने व्यवस्था त्यहि एउटा कोठामा गर्नुपर्ने हुन्छ।

प्रभावितको परिवार भए पनि उक्त कोठामा व्यवस्थापन गर्नुपर्ने हुन्छ। तर दम्पती नै प्रभावित भएमा दुई ओटा कोठा पाउँछन्।

खोकनामा प्राय प्रभावितहरु दम्पत्ति नै छन्। एउटा परिवारमा ५ देखि ६ जनासम्म छन्।

आरोग्याश्रममा बस्ने प्रभावितलाई महिनामा २७ किलो चामल, २ किलो दाल, एक किलो तेल र महिनामा इन्धन र मसला खर्च भनेर दुई हजार रुपैयाँ दिइन्छ।

पुर्ण रुपमा अपांगता भएका व्यक्तिलाई रासन उपलब्ध गराइन्छ भने आंशिक अपांगता भएका व्यक्तिलाई मासिक दुई हजार मात्र उपलब्ध गराइन्छ।

घर समाज त्यागेर खोकना पुगेका तिवारी अहिले आश्रमका नाइके छन्। २०४९ सालमा उनले नाइके (रासन बितरण गर्ने) को जिम्मेवारी पाए।

खोकनामा रहेका केही प्रभावितहरुले आश्रम छोडेका छन्।

छोराछोरी भएका प्रभावितहरुले आफ्नो स्थायित्व खोजे। त्यहाँ आफ्ना छोराछोरीको भविष्य देखेनन्। उनीहरुले सरकार समक्ष आफ्ना गुनासो राखेपछि दातृ संस्था खोजेर उनीहरुलाई पुनर्वासको व्यवस्था गराइदिएको छ।

आल्टा नेपाल नामक संस्थाको सहयोगमा करिब १२० परिवारलाई पुनर्वास गएका छन्।

पुनर्वासका लागि सुरुमा ८० हजार दिइएको थियो। त्यसपछि एक लाख २०, २५ हजार दिइयो। त्यसपछि केहि परिवारलाई ती कोठाको घर बनाएर पनि हस्तान्तरण गरे।

रकम दिइएको समयमा उक्त रकमले घडेरी किनेर घर बनाउन सकिन्थ्यो।

आश्रमकै वरिपरिको वस्तीमा पनि पुर्नवास गरेर बस्ने प्रभावितहरु छन्। भने कोहि आफ्नो पुर्खौली थलोमा पनि फर्किएका छन्।

खोकनामा उमा नाथ जस्तै प्रभावितका लागि राम्रो व्यवस्था मिलाइएको छ।

उनी त्यहाँ पुग्दा नजिकै बस्ती थिएन। अहिले बस्ति नजिकिएका छन्। पहिलाको तुलनामा समाजले गर्ने व्यवहार पनि केही परिर्वतन भएको उनी सुनाउँछन्।

‘त्यतिबेला आश्रम हुँदैन थियो भने हामी जस्ता धेरैलाई बाँच्न समस्या हुन्थ्यो,’ उनले भने।

अहिले उनले स्वस्थ्य जीवन बिताइरहेका छन्।

No description available.

१६६ वर्षदेखिको थलो खोकना आरोग्याश्रम

इतिहासमा फर्केर हेर्ने हो भने कुष्ठरोग सदिऔं देखि रहेको दखिन्छ।

कुष्ठरोग नेपालमा पहिलो पटक कहिले देखियो भन्ने यकिनका साथ भन्न नसकिने डा बाबुराम मरासिनी बताउँछन्।

उनले भने, ‘सरकारी ‘अभिलेख’मा पनि यो कुरा कतै उल्लेख गरेको पाइदैन। तर जानकारहरुका अनुसार करिव दुई सय वर्ष अगाडि कुष्ठरोगको बिरामी नेपालमा थिए।’

सन् १८५७ मा जंग बहादुर राणाले खोकनामा कुष्ठ रोगीलाई राख्ने केन्द्र निर्माण गरेका थिए। त्यो नै नेपालको पहिलो स्वास्थ्य संस्था रहेको डा मरासिनी दाबि गर्छन्।

उनी भन्छन्, ‘त्यसबेला पश्चिमदेखि काठमाडौंसम्म कुष्ठ रोगीहरु थिए।’

उनका अनुसार त्यो बेला पश्चिम–काठमाडौंलाई जोड्न हुलाकी राजमार्ग थियो। काठमाडौंबाट दार्चुलाको नावी भन्ने ठाउँसम्म पुग्न ३५ दिन लाग्थ्यो।

पूर्वदेखि पश्चिमसम्म पुग्नका लागि ३५ दिन लाग्ने भएका कारण जंग बहादुर राणाले मुलुकी ऐनमा ३५ दिने सुचना बनाएको उनले बताए।

‘त्यो बेलामा यातायातको सुविधा थिएन। मानिसहरु आफ्नो गन्तव्यमा पुग्नका लागि बाटोमा बास बस्न थाले।त्यसपछि हुलाकी मार्गमा सबै भन्दा धेरै कुष्ठरोग देखिएको रहेछ,’उनले भने।

उनका अनुसार यो सरुवा रोग हो। यात्रुहरु घरघरमा बास बस्दा कुष्ठरोग फैलिएको अनुमान गरेपछि ठाउँठाउँमा पाटीपौवा बनाइएको हो। त्यसबेला घरमा बास बस्न नपाइने भन्ने नियम बनेको थियो।राणाकालमा देशका धेरै ठाउँमा पाटीपौवा व्यवस्था भइसकेको थियो।

‘कुष्ठरोग लागेका व्यक्तिलाई घर, गाउँबाट निकाला गरी बस्तीबाट टाढा मानिसको सम्पर्क नहुने ठाउँमा उनीहरुको व्यवस्थापन गरिन्थ्यो,’ उनले भने, ‘घरबाट  निकालिएका हरु जंगल, ओडारमा बस्थे। त्यसरी बसि रहेकाहरु बिस्तारै काठमाडौं आए। पशुपती लगायतका मठमन्दिरहरूमा बस्न थाले।’

मठमन्दिरहरूमा विजोग अवस्थामा उनीहरु भेटिन थाले।

सन् १८५० जंगबहादुर राणा फ्रान्स र लण्डन गएका थिए। त्यो बेला उनले त्यहाँ धेरै स्वास्थ्य संस्थाहरुको अवलोकन गरेका थिए।

‘विदेश भ्रमणका बेला उनले बिरामीको व्यवस्थापन कसरी गर्ने भन्ने कुुरा देखे या कोही विदेशी भ्रमणका बेला उनलाई कुष्ठरोगीको व्यवस्थापन गर्न भने यो कसैलाई पनि थाहा छैन,’ उनले भने।

तर सन् १८५७ मा जंगबहादुरले काठमाडौं सदर प्रहरीलाई ठाउँ खोजेर कुष्ठरोगीको व्यवस्थापन गर्न आदेश दिएको डा मरासिनीले जानकारी दिए।

प्रहरीले बस्ती भन्दा टाढा ललितपुरको खोकनामा जग्गा खोजेर सानो झुपडी बनाए। र, कुष्ठरोगी खाना (ल्याप्रोसी असाइलम) बनाएर मठमन्दिरमा भएका सबैलाई त्यही राखिदियो।

उनका अनुसार त्यहाँ महिला र पुरुषका लागि अलग–अलग बस्ने व्यवस्था गरिएको थियो। खानाको व्यवस्था पनि सरकारले नै गरेको थियो। रोगले हातखुट्टा गलेका थिए। उनिहरुलाई राखिएको ठाउँबाट टाढा–टाढासम्म गन्ध आउथ्यो। त्यो बेला अहिलेको जस्तो औषधि नभएका कारण वैद्य गएर उनीहरुको मलमपट्टि गरिदिन्थे।

उनीहरु जेनतेन बसिरहेका थिए।

‘त्यही बिचमा राणा परिवारको कुनै सदस्यलाई कुष्ठरोग पुष्ट्रि भयो। उनलाई पनि खोकनाको कुष्ठरोगी खानामा राख्नु पर्ने भयो,’ उनले भने, ‘सन् १८६७ मा वीर शमशेर राणाले खोकनाको सानो कुष्ठरोगी खानालाई भत्काई राणाकालीन संरचनामा चार वटा भवन बनाए। जसले उनीहरुको बसोबास अझै अहज भयो।’

विभिन्न अन्तराष्ट्रिय जर्नलहरूले कुष्ठरोगी खाना स्थापना सन् २०६७ मा भएको भनिएपनि तर झुपडीको रुपमा सन् २०५७ स्थापना भएको बताउँछन्, डा. बाबुराम मरासिनी।

नयाँ संरचनामा कुष्ठरोगी खाना बनेसँगै वीर शमशेरकै पालामै सन् १८८९ टेकुमा कुष्ठरोग अस्पताल स्थापना भयो। उनीहरुको त्यही उपचार गर्न थालियो।

त्यसपछि विभिन्न ठाउँ गैर सरकारी संस्थाहरुले अस्पताल सञ्चालनमा ल्याए। कुष्ठरोग खानाको सुरुवात भएको करिव एक वर्ष अगाडि आनन्दवन अस्पताल, मिसन अस्पताल स्थापना भएसँगै उपचारका लागि सहज हुँदै गयो।

बिरामीको संख्या बढ्न थाल्यो। उपत्यकामा उनीहरुको व्यवस्थापनको लागि कठिन हुन थाल्यो। स्याङ्जाको गल्याङ भन्ज्याङमा अर्को कुष्ठरोगी खाना सुरु गरियो। यो जुद्ध शमशेर राणाको पालमा सुरु भएको थियो। तर सन् १९९३ मा यो बन्द भयो। त्यहाँ अहिले प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन हुदै आएको छ।

डेढ शताब्दी अघि (१६६ बर्ष) खोकनामा कुष्ठ रोगीका लागि आश्रय बनाइएको हो।

यस रोग लागेका व्यक्तिप्रति समाजको दृष्टिकोण र दुर्व्यवहारका कारण यसका लागि छुट्टै डेडिकेटेड अस्पताल र आरोग्य आश्रम पनि सञ्चालनमा छन्।

ललितपुरमा आनन्दवन अस्पताल, पोखरामा हरियो खर्क अस्पताल, धनुषमा लाल गढ अस्पताल, बाँके र सुर्खेतमा साइनिङ अस्पताल सञ्चालनमा थियो।

खोकनाको अहिले पनि यो सञ्चालनमा छ।

अहिले यहा १२० जना प्रभावितहरु बसोबास गरिरहेका छन्।

No description available.

कुष्ठरोगको बिरामी बढ्दो

अघिल्लो वर्षको तुलनामा यस वर्ष कुष्ठरोग का बिरामी संख्या बढेको कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखा प्रमुख डा प्रशन्न नापितले बताए।

आर्थिक वर्ष २०७८-७९ मा २ हजार २८५ जना नयाँ बिरामी थपिएको उनले जानकारी दिए।

अघिल्लो वर्ष २१७३ जना नयाँ बिरामी थपिएको नापितले बताए।

उनका अनुसार यो हाम्रो सम्पर्कमा आएको बिरामी संख्या मात्र हो यसलाई हामीले बिरामी यति मात्र हो भन्न मिल्दैन। यस रोगमा बारेमा हाम्रो समाजमा स्थापित अन्धविश्वासका कारण केहि व्यक्तिहरु समस्या लुकाएर पनि बसिरहेका छन्। त्यस्ता व्यक्तिको खोजी हुनु अत्यावश्यक छ।

समुदाय स्तरमा गएर कुष्ठ रोगका बिरामी खोज्ने हो भने यो संख्यामा वृद्धि हुने उनको भनाई छ।

अहिले देशभर २ हजार ३७३ जना बिरामीहरु उपचाररत रहेको प्रमुख नापितले बताए।

कुष्ठ रोगका जिटुडी (देखिने गरी अपांगता भएका) को संख्या १७० रहेको छ। तिमध्ये ४ जना १५ वर्ष मुनिका बालबालिका रहेको केन्द्रको तथ्यांक छ।

कुष्ठरोगको दुई प्रकारमध्ये शरिरमा बढि किटाणु भएको र अलि बढि संक्रामक एमसीका बिरामी १ हजार ६६१ जना रहेका छन्। पिभीका बिरामी ६२४ जना रहेका छन्।

१६ जिल्लामा निवारण छैन

नेपालमा २०१० मा नै कुष्ठ रोग निवारण घोषणा गरिएको हो।

प्रति दश हजार जनसंख्यामा १ प्रतिशत भन्दा कम बिरामी भेटिनुलाई निवारण भएको मानिन्छ।

२०१० मा यो निवारण भएको घोषणा गरेपनि केहि १६ जिल्लामा निवारण हुन सकेको छैन।

देशव्यापी रुपमा अहिले पनि नेपालमा कुष्ठ रोग प्रिभेलेन्सदर शुन्य दशमलव ८१ रहेको नापितले जानकारी दिए।

जिल्लागत रुपमा हेर्ने हो भने अहिले १६ जिल्लामा निवारण नभएको उनले जानकारी दिए।

झापा, मोरङ, सर्लाही, धनुषा, महोत्तरी, सिरहा, रौतहट, बराहा, पर्सा, परासी, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र अछाममा अहिले कुष्ठ रोग प्रिभेलेन्स दर एक भन्दा माथि रहेको केन्द्रले जनाएको छ।

अघिल्लो आर्थिक वर्षमा नेपालमा कुष्ठ रोग प्रिभेलेन्स दर शुन्य दशमलव ७३ रहेको थियो। १६ जिल्लामा कुष्ठ रोग प्रिभेलेन्स दर एक प्रतिशत भन्दा माथि थियो। अघिल्लो बर्षको तुलनमा देशव्यापी र जिल्लागत रुपमा नै कुष्ठ रोगका बिरामी बढेका छन्।

प्रदेशगत रुपमा हेर्ने हो भने पाँच प्रदेशमा कुष्ठ रोग निवारण (प्रिभेलेन्स दर एक प्रतिशत भन्दा कम) भएको छ। भने मधेश र लुम्बिनी प्रदेशमा निवारण हुन सकेको छैन।

मधेशमा सबैभन्दा धेरै एक दशमलव ४३ प्रतिशत बिरामी छन् भने लुम्बिनीमा एक दशमलव १२ प्रतिशत बिरामी रहेका छन्।

उनका अनुसार अहिले १५ बर्ष मुनिका ७३ जना बिरामीहरु फेला परेका छन्। यसले समुदाय स्तरमा तत्कालको अवस्थामा पनि नयाँ थपिरहेको देखाउँछ।

सरकारले २०३० भित्र कुष्ठ रोगको फैलावट रोक्ने (५ वर्षसम्म लगातार १५ वर्ष मुनिका बालबालिकामा संक्रमणका स्थानीय बिरामी शुन्य हुनु) लक्ष्य लिएको छ।

उनका अनुसार यो लक्ष्य मिट गर्नका लागि गाउँ गाउँमा बिरामीको खोजी गर्नुपर्छ। जसका कारण अबका केहि बर्ष बिरामी संख्यामा बृद्धि हुने उनले बताए।

यस संक्रमणको शंका हेल्थ पोष्टमा तालिमप्राप्त स्वास्थ्यकर्मीले गर्न सक्छन्। तर यसको प्रमाणिकरण भने छाला तथा कुष्ठ रोगका विशेषज्ञले मात्र गर्न सक्छन्।

कानुनी अड्चन

मुलुकी देवानी संहिता, २०७४ को भाग–३ मा पारिवारिक कानून परिच्छेद–१ विवाह सम्बन्धी व्यवस्था छ।

त्यसको दफा ७१ को उपदफा (२) मा कसैलाई  पनि देहायका कुनै अवस्थाको पुरुष वा महिलालाई झुक्याई विवाह गर्न वा गराउन हुँदैन भनिएको छ। त्यसको खण्ड (ग)  मा ‘पूर्ण रूपमा बोल्न वा सन्नु नसक्ने पूर्ण रूपमा दृष्टिविहीन वा कुष्ठ रोगी भएको’ भनेर उल्लेख गरिएको छ।

यो कानुन विभेदकारी नियमलाई संशोधन गर्नुपर्ने केन्द्रका प्रमुख नापित पनि बताउँछन्।

कुष्ठ रोग के हो?

कुष्ठ रोगलाई हान्सेन्स् रोग पनि भनिन्छ।यो एक जीर्ण संक्रमण हो जुन माइकोब्याक्टेरियम लेप्रे र माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिस जीवाणु (ब्याक्टेरिया) को कारणले हुन्छ।

संक्रमण हुँदा सुरूमा कुनै लक्षण देखा पर्दैन र सामान्यतया ५ देखि २० वर्षसम्म यस्तै रहिरहन्छ।स्नायुहरू, श्वासप्रश्वास मार्ग, छाला, र आँखामा ग्रेन्युलो यसका लक्षणहरू पर्दछ। यसको परिणाम पीडा महसुस गर्ने क्षमता कम हुन सक्छ। त्यसकारण बारम्बार चोटपटक लाग्नाले हात खुट्टाका भागहरू गुम्न सक्छन्। कमजोरी हुने र दृष्टि कमजोर हुने पनि हुन सक्छन्।

कुष्ठ रोग उपचारबाटै निको हुन्छ। पौसिबेसिलरी कुष्ठ रोगको उपचारको लागि ६ महिनासम्म ड्यापसोने र रिफाम्पिसिन औषधिहरू सेवन गर्नुपर्छ। मल्टिबेसिलरी कुष्ठ रोगको उपचारको लागि १२ महिनासम्म रिफाम्पिसिन थ्याप्सो, र क्लोफेजिमाइनसेवन गर्नुपर्छ।



Leave a Reply

Your email address will not be published.