कुष्ठरोग दिवस मनाइयो

काठमाडौं- आज ७० औं विश्व कुष्ठरोग दिवस । ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौं’ भन्ने नाराका साथ यो दिवस मनाइएको छ ।
विश्व कुष्ठरोग दिवस फ्रान्सका प्रसिद्ध मानवता रावल फोलेरियोले कुष्ठरोगको समुचित उपचार गरी निवारण गर्ने, जनचेतनाको माध्यमबाट कुष्ठरोग नियन्त्रण र न्युनिकरण गर्ने तथा कुष्ठ प्रभावितहरु प्रतिको भेदभावलाई हटाउने उद्देश्यले सन् १९५४ देखि जनवरी महिनाको अन्तिम आइतवार मनाउन थालनी गरिएको थियो ।
नेपालमा पनि हरेक वर्ष यो दिवस विभिन्न कार्यक्रम गरी मनाइन्छ। कुष्ठ रोग नियन्त्रण तथा अपांगता व्यवस्थापन महाशाखाले पनि यस अवसरका एक कार्यक्रम गरेको छ।
कार्यक्रमका प्रमुख अतिथी स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले कुष्ठरोगको बारेको सामाजिक अवधारणाबाट हामी धेरै अगाडि बढे पनि अहिले पनि कही कतै केही चुनौतीहरु रहेको बताए। यो पुर्ण नियन्त्रणमा आउन नसक्नुको मुख्य कारण सामाजिक डर रहेकोले कोहि पनि व्यक्ति खुलेर परीक्षण तथा उपचार गर्ने वातावरण बनाउन ध्यान दिनुपर्ने जोड दिए।
नेपाललाई २०६६ माघ ५ गते (१९ जनवरी, २०१०) राष्ट्रिय स्तरमा कुष्ठरोग जनस्वास्थ्य समस्याको रुपमा निवारण (प्रति १० हजार जनसंख्यामा १ भन्दा कम बिरामी) भएको घोषणा गरेको थियो । त्यस समयमा राष्ट्रिय स्तरमा कुष्ठरोगको प्रकोप दर ०.७७ रहेको थियो ।
अहिले त्यो संख्यामा वृद्धि भएको छ । आ व २०७८/७९ को अन्त्य सम्म कुष्ठरोगको प्रकोप दर ०.८१ रहेको छ । हाल १६ जिल्लाहरुमा कुष्ठरोग प्रति १० हजार जनसंख्यामा १ भन्दा धेरै बिरामी रहेको स्थिति छ । निवारणको घोषणा पश्चात् हालसम्म पनि राष्ट्रिय स्तरमा निवारणको अवस्थामा कायम रहे पनि जिल्लागत रुपमा भने छैन।
यो अन्तर्राष्ट्रिय कुष्ठ रोग दिवस कुष्ठ प्रभावित मानिसहरूको स्मरण गर्दै रोगको बारेमा चेतना जगाउने र कुष्ठ रोगसँग सम्बन्धित लान्छना र भेदभावको अन्त्य गर्न आह्वान गर्ने एक अवसर रहेको कुष्ठ रोग नियन्त्रण तथा अपांगता व्यवस्थापन महाशाखाले जनाएकोे छ।
हाल कुष्ठरोगको निदान तथा उपचार गर्न विश्वमा बिभिन्न प्रविधि, उपकरण तथा औषधी उपलब्ध छन । जुन अशक्ततालाई रोक्नको लागि महत्वपूर्ण छ । तर, विश्वभर अझै पनि कुष्ठ रोगबाट धेरै व्यक्तिहरू प्रभावित छन् ।
कुष्ठ प्रभावितहरुले लान्छना, भेदभाव र स्वास्थ्य सेवामा पहुँचको अभावको सामना गरिरहेका छन्।
कुष्ठरोग
कुष्ठरोग आँखाले देख्न नसकिने माइकोव्याक्टेरियम लेप्रे नामको सुक्ष्म जीवाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने सामान्य रोग हो। यो रोग मानिसबाट मानिसमा सर्छ । उपचार नगरेको कुष्ठरोग विरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतय श्वास प्रश्वासको माध्यमबाट यो रोग सर्न सक्छ ।
उपचार गरे पूर्ण रुपमा यो रोग निको हुन्छ। शुरू कै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरूलाई सर्दैन साथै कुष्ठरोग पूर्ण रूपमा निको हुन्छ र अपांगता हुदैन । त्यसैले समुदायमा रोग संक्रमण हुन नदिन रोगका लक्षण र चिन्ह देखिन साथ नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी रोग निदान भएमा पूर्ण रुपमा उपचार गर्नु पर्दछ