नर्सको श्रम शोषण गर्ने अस्पतालको नवीकरण खारेज गर्ने स्वास्थ्य मन्त्री गिरीको चेतावनी

काठमाडौं- नर्सको श्रम शोषण गर्ने स्वास्थ्य संस्थालाई नवीकरण नगर्ने वा खारेज गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले बताएका छन्।
नेपाल नर्सिङ संघको ६१औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गिरीले नर्सले न्युनतम पारिश्रमिक भन्दा कम आठ हजार र दश हजारमा काम गर्नुपर्ने निकै भयावह अवस्था रहेको भन्दै श्रम शोषण गर्ने संस्थालाई अनुगमन गरी कारबाही गरिने चेतावनी दिएका हुन्।
उनले तथ्य र प्रमाणसहित जानकारी दिएमा त्यस्ता संस्थालाई कारबाही कारवाही गर्ने, आवश्यक परेको अवस्थामा नवीकरण नगर्ने वा खारेज नै गरिने बताएका छन्।
उनले भने, ‘नर्सको तलब पेन्सिलले लेखिन्छ भन्ने सुनेको छु। अब त्यस्तो अवस्थाको अन्त्य गर्न स्वास्थ्य संस्था डिजिटल पेमेन्टमा जानुपर्छ ।’
उनले नर्सलाई राज्यले न्यायोचित ढंगले व्यवस्थापन गर्ने बताएका छन्। अहिले स्वास्थ्य मन्त्रालय ओएनएम गर्ने प्रक्रियामा जान लागेको त्यसको अध्ययन पश्चात हरेक सरकारी स्वास्थ्य संस्थामा आवश्यकता अनुसार पदपुर्ति गरिने योजना रहेको उनले जानकारी दिए।
उनले सरकारले नर्स मैत्री ऐन निर्माण गर्ने समेत बताएका छन्।