आइसीयुमा ‘प्रोटोकल’ मिचेर छिरेको भन्दै आलोचना भएपछि राज्यमन्त्री डा. तोसिमाले यसरी बचाउ गरिन्

हेल्थपोस्ट नेपाल

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले सबैभन्दा माथिल्लो ‘प्रोटोकल’ मानवताको भावना लिएर आत्म दाह गरेका प्रेमप्रसाद आचार्यलाई भेट्न गएको भन्दै आफ्नो बचाउ गरेकी छन्।

संसद भवन अगाडि आत्म दाह गरेका प्रेमप्रसाद आचार्यलाई आइसियूमा पुगेर भेटेर आइसियूको ‘प्रोटोकल’ मिचेको भन्दै आलोचना हुन थालेपछि कार्कीले आफ्नो बचाउ गरेकी हुन्।

स्वास्थ्य पत्रकार मञ्चले शुक्रबार स्वास्थ्य मन्त्रालयमा आयोजना गरेको पत्रकार भेटघाट तथा परिचय कार्यक्रममा राज्यमन्त्री कार्कीले आचार्यलाई भेट्न जाँदा आफूले आइसीयुको प्रोटोकल पूरा गरेको दाबी गरिन्।

‘म आफैं पेशाले चिकित्सक हुँ। मेडिकल काउन्सिलको सदस्यका रूपमा समेत काम गरिसकेको छु,’ उनले भनिन् ,‘काउन्सिलको सदस्य भएर काम गर्दा स्वास्थ्यकर्मीले पालना गर्नुपर्ने एथिक्स समेत बनाएकी छु। आइसीयुभित्र प्रवेश गर्दा गाउन, मास्क लगाएको थिएँ। प्रवेश गर्नुअघि र निस्किएपछि हातमा स्यानिटरी समेत प्रयोग गरेको थिएँ। मेरो मोबाइल फोन पनि बन्द थियो।’

संसद भवन अगाडि पेट्रोल खन्याएर शरीरमा आगो लगाएका प्रेम प्रसादलाई भेट्न कीर्तिपुरस्थित बर्न अस्पतालको आइसियूमा पुगेपछि राज्यमन्त्री कार्कीको आलोचना भएको छ। प्रोटोकल मिचेको भन्दै कार्कीविरुद्ध मेडिकल काउन्सिलमा उजुरीसमेत परेको छ।

चौतर्फी आलोचना हुन थालेपछि उनले शुक्रबार सामाजिक सञ्जालबाट समेत आफ्नो प्रष्टिकरण दिएकी छन्।



Leave a Reply

Your email address will not be published.