बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गिरीविरूद्ध विशेष अदालतमा मुद्दा दायर

हेल्थपोस्ट नेपाल

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

गिरीले पदीय मर्यादाविपरित काम गरेको भन्दै अख्तियारले विशेष अदालत काठमाडौंमा सोमबार मुद्दा दायर गरेको हो।

नपाएको ओहदा पाएँ भनेर पदीय मर्यादाविपरित काम गरेको पाइएकोले उनीविरूद्ध मुद्दा दायर भएको अख्तियारले जनाएको छ।

गिरीले प्राध्यापक नभइ प्राध्यापक हुँ पनि पदको प्रयोग गरेकोले भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।

‘उपकुलपति जस्तो पदमा नियुक्ति भइसकेपछि नियमित काम गर्ने क्रममा अरूले विश्वास गरोस् भनी बदनियतसाथ कुनै पनि आधिकारिक निकायबाट प्राप्त नगरेको नपाएको ओहदा पाए भनी बदनीयतसाथ अरूले विश्वास गर्ने गरी प्रोफेसर पद प्रयोग गरेको देखिएको,’ अख्तियारले भनेको छ।

गिरीले गरेको काम भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १५ बमोजिमको कसुर भएकोले सोही ऐनबमोजिम सजाय गर्न अख्तियारले माग गरेको छ।

कसुर ठहर भएमा यो दफाअनुसार गिरीलाई एक वर्षदेखि २ वर्षसम्म कैद र ५० हजारदेखि १ लाख रूपैयाँ जरिवाना हुने व्यवस्था छ।

अख्तियारले गिरी सार्वजनिक संस्थाका पदाधिकारी रहेकाले यस कसुरमा थप ३ वर्ष कैद गर्न माग गरेको छ।

साथै अर्का प्रतिवादी डा।ज्ञानेन्द्रमान सिंह कार्कीले गिरीलाई प्रोफेसर पदको अनुमोदनका लागि काठमाडौं विश्वविद्यालयमा सिफारिस गर्नसम्म सक्नेमा नपाएको ओहदाको प्रयोग गरेको अख्तियारले बताएको छ।

कार्कीले मतियारको भूमिका देखिएकोले उनलाई सोही ऐनको दफा २२ बमोजिम कारबाही गर्न अख्तियारले माग गरेको छ।



Leave a Reply

Your email address will not be published.