नर्सिङ जनशक्तिविनै वीरको सेवा विस्तार, प्रभावित भइरहेको छ गुणस्तर

काठमाडौं – नेपालको पहिलो अस्पताल वीर अस्पताल जसको विभाग विभाजित भएर स्वायत अस्पताल बन्यो।
कुनै समय वीर अस्पतालको एक विभागको रुपमा थियो शहिद गंगालाल हृदय रोग केन्द्र, परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल र मानसिक अस्पताल।
अहिले यी अस्पतालहरू स्वायत रुपमा सञ्चालनमा छन्।
तर वीरमा यस्ता समस्या भएका बिरामी दैनिक रुपमा पुग्छन्। ती अस्पतालमा रिफर गर्नुको विकल्प वीरसँग छैन।
एउटै बिरामीलाई एकभन्दा बढि स्वास्थ्य समस्या भएको अवस्थामा सेवा दिन निकै जटिल भएपछि वीरको सेवा विस्तार गर्न थालिएको छ।
नेपालमा पहिलो पटक मुटुको शल्यक्रिया गरेको वीरमा लामो समय मुटुको उपचार रोकिएको थियो।
अहिले अस्पतालले उक्त सेवालाई निरन्तरता दिनका लागि क्याथ ल्याब सेवा विस्तार गरेको छ।
कार्डियोलोजी विभागमा काम गर्नका लागी अस्पतालमा ४ जना डि एम डाक्टरहरु छन्। ती डाक्टरहरुको मिहिनेत र स्वास्थ्य मन्त्रालयको विशेष पहलमा बिहिबार वीरमा क्याथ ल्याबको उद्घाटन भएको छ । आइतबारबाट सञ्चालनमा ल्याउने अस्पतालले तयारी गरिरहेको छ।
वीरको नयाँ सर्जिकल भवन निर्माण भएपछि क्याथ ल्याबसँगै अन्य सेवा विस्तार भएको छ।
तर अस्पतालका मेरुदण्ड मानिने नर्सिङ जनशक्ति नै वीरमा निकै कम छन्। क्याथ ल्याबका लागि मात्र नभइ अन्य सेवाका लागि नर्सिङ जनशक्तिको अभाव छ।
अहिले विस्तार भइरहेको सेवाका लागी विशिष्टिकृत नर्सको आवश्यकता पर्छ। तर वीरमा ५७६ शय्याका लागी ३७६ जनशक्ति मात्र छन्।
अहिलेको अवस्थामा वीरलाई नयाँ र पुरानो वार्डमा सेवा सुचारु गर्न थप ४८९ जना नर्सिङ जनशक्तिको आवश्यकता रहेको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा भुपेन्द्र कुमार बस्नेतले बताए।
अस्पतालमा सरकारी दरबन्दी अन्तर्गत १८६ दरबन्दिमा १४५ जना नर्स कार्यरत छन्। र न्याम्सको दरबन्दीमा १२४ दरबन्दि १४३ जना नर्स कार्यरत छन्।
कोभिडको समयमा सरकारले पुल दरबन्दी थपेको छ। कोभिडको समयमा स्विकृत भएको १८५ दरबन्दी अन्तर्गत अहिले १६८ जना अस्पतालमा कार्यरत छन्। थपिएका नर्सिङ जनशक्तिले नै अस्पतालको सेवा धानिरहेको छ, अहिले।
पहिलाको सेवालाई नै जनशक्ति अभाव भएको अवस्थामा सेवा विस्तार गर्दा झनै कम भएको अस्पतालको नर्सिङ शाखा प्रमुख संगीता श्रेष्ठले बताइन्।
‘अहिले हामीले धेरै सेवा विस्तार गरेका छौं। सेवा विस्तारमा ओपिडी लगायत १८ शैय्याको आइसीयु, १८ शय्याकै क्याबिन, पोष्ट अपरेसन १० बाट १८ पुगेको छ,’ उनले भनिन्।
जनशक्ति अभावका कारण अस्पतालको एचडियु अलपत्र छ। जसका कारण बिरामीलाई आइसीयुबाट सिधै वार्डमा लैजानुपर्ने बाध्यता रहेको उनले दुखेसो पोखिन्।
‘कुनै बिरामीलाई वार्डमाभन्दा बढी हेरचाह आवश्यक हुन्छ। तर आइसीयुमा राख्नुपर्ने अवस्था हुँदैन। त्यस्तो अवस्थामा अस्पताललाई सेवा दिन कठिन भएको छ,’ संगीताले भनिन्।
वीरले यो अभाव हटाउन पुल दरबन्दीको माग गरेको छ। स्वास्थ्य मन्त्रालयसँग पुलको दरबन्दी ५६६ जना छ।
वीरमा ३०० जना नर्स दरबन्दी थप्नका लागि विशेष विज्ञापन दिएर गर्ने भनेर प्रक्रिया अगाडि बढेको पनि एक वर्ष भयो। त्यसमा विभिन्न समस्याहरु आइरहेका छन्। जसका कारण पदपुर्ति रोकिएको छ।
‘अहिले अस्पतालको मुख्य समस्या भनेको नर्सिङ जनशक्ति नै छ। पुल दरबन्दी लिन पनि समस्या आएको छ,’ संगीताले भनिन्।
२४ घण्टा यताबाट उता स्टाफ सार्ने उताबाट यता सार्ने गरेर नर्सको व्यवस्थापन गरिरहेको भन्दै उनको भनाइ छ।
‘हामीले सक्दो व्यवस्थापन गरिरहेका हुन्छौं। एक त सीमित जनशक्ति छ। सेवा विस्तार गरेपछि त्यहि जनशक्तिले धान्न सकिँदैन,’ उनले भनिन्।
नेपालमा नर्सिङ जनशक्ति महिला मात्र छन्। उनीहरु गर्भवती हुने, पारिवारिक समस्यालगायत अन्य किसिमका समस्यामा परेका हुन्छन् त्यस्तो अवस्थामा बुझि दिनुपर्ने हुन्छ। अहिले दुई तीन दिनमा नाइट ड्युटी राख्नुपर्ने समस्या भइरहेको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार एक आइसीयु वेडमा कम्तिमा पाँच जना नर्सिङ जनशक्ति चाहिन्छ। तर वीरमा त्यो जनशक्ति छैन।
‘अहिले १८ बेडको आइसीयु छुट्टै खुलेको छ। पहिला न्युरो र नाक कान घाँटी ओटि दुई दिन सञ्चालन हुन्थ्यो। अहिले न्युरो पाँच दिन र इएनटी ६ दिन चल्छ,’ उनले भनिन्।
त्यही जनशक्तिमा योे सेवा कसरी चलाउने सकिने उनको प्रश्न छ।
गत बर्षदेखि नर्सिङ शाखामा आफू आएयता एक जना पनि नर्सिङ जनशक्ति थप नभएको संगीताले बताइन्।
‘त्यहि जनशक्तिले सेवा विस्तार गर्दा नर्सहरु पीडामा छन्। उहाँहरुले कहिलेकाहिँ डबल ड्युटी गर्नुपर्ने हुन्छ। एक जनाको समस्या आए त्यसको सट्टामा त्यहि जनशक्तिले पूरा गर्दा कष्ट भइराखेको छ,’ उनले दुखेसो पोखिन्।
२३ जना काजमा छन्। पढाइका लागि बाहिर गइरहेका छन्। बेतलबी बिदा लिइरहेका हुन्छन्। १० जना नर्सले २० बेडको मेडिकल र सर्जिकल वार्डहरु चलाइरहेको उनले जानकारी दिइन्।
सिप भएका नर्सहरुले राजीनामा दिदा झनै सकस थपिएको उनले गुनासो पोखिन्।
अहिले दिनमा कम्तीमा पनि दुई जना नर्सहरुले राजीनामा दिने गरेको उनको भनाइ छ।
‘आईसीयु र वार्डहरुमा तालिमप्राप्त जनशक्ति आवश्यक हुन्छ। स्थायी अस्थायी र करार सबै नर्सिङ जनशक्ति विदेशिने वा राम्रो सुविधा हेरेर जाने गरेका छन्,’ उनले भनिन्, ‘अहिले दिनमा नै दुई जनाले राजीनामा दिने गरेका छन्। त्यसो हुँदा तुरुन्त तालिमप्राप्त जनशक्ति परिपूर्ति गर्न निकै कठिन हुन्छ।’
एउटा युनिटमा कन्सल्टेन्टहरु धेरै छन्। उहाँहरुलाई काम गर्नका लागि नर्सिङ जनशक्ति नभइ हुँदैन। एउटा ओटी सञ्चालनका लागी सबै सामान तयार पार्ने देखि लिएर ओटी बन्द भएपछि सामानहरूलाई व्यवस्थापन गर्न प्रक्रियाहरु नर्सले नै पुरा गर्नुपर्ने हुन्छ।
हरेक वार्डमा नर्स आवश्यक हुन्छ। अहिले त्यो परिपूर्ति गर्न निकै सकस परेको उनले सुनाइन् ।
उनका अनुसार कैयौं वार्डमा तालिमप्राप्त नर्स आवश्यक हुन्छ। नर्सले तालिम लिन तीन महिना लाग्छ। अहिले आइसीयुमा काम गर्ने पाँच जना नर्सले एकपल्ट राजिनामा दिएका छन्।
सम्झौता अनुसार राजीनामा दिनु एक महिनाअघि जानकारी गराउनुपर्ने हुन्छ। त्यसो नगरेको अवस्थामा एक महिनाको तबल काटिने भनिएको छ। तर भिसा आइसक्यो पर्सी नै उड्ने भनेर नर्सहरूले राजीनामा दिने गरेका छन्।
ओटी, आइसीयुलगायत विभिन्न विशिष्टिकृत युनिटबाट तालिमप्राप्त नर्सहरु गइरहेका हुन्छन्। त्यस्तो अवस्थामा दरबन्दी परिपूर्ति गर्न कठिन भइरहेको छ।
गुणस्तरीय सेवामा सम्झौता
अहिले अस्पतालले दिने सेवाको गुणस्तरमा सम्झौता गनुपर्ने अवस्था रहेको संगीता स्विकार्छिन्।
‘एकदमै कम जनशक्तिमा अस्पतालले सेवा दिइरहेको छ। त्यस्तो अवस्थामा राजीनामा दिएर जाने जनशक्ति पनि परिपूर्ति नहुँदा गुणस्तरमा एकदमै समस्या छ। गुणस्तर नियन्त्रण गर्न सकिदैन,’ उनले भनिन्।
एउटा नर्सले ४० जनासम्म बिरामी हेर्नुपर्ने बाध्यता छ। वीर अस्पतालको तेस्रो तल्लामा ३६ बेडका लागी एक जना नर्सले हेरिरहनु परेको उनले सुनाइन्।
त्यहाँ अपरेसन गर्नु अघिको बिरामी र कहिलेकाहिँ अपरेसन पछिका बिरामीहरु राखिएको छ।
‘लाइन नराख्न भन्नुहुन्छ, जनशक्ति नभइ कसरी ओटी चल्छ। हामीसँग बेड नभएको होइन। मनिटर र भेन्टिलेटर नभएको पनि होइन्। हामीसँग जनशक्ति नभएको हो,’ उनले भनिन्।
पुलको ३०० जनशक्ति परिपूर्ति मात्र हुने हो भने पनि सेवामा निकै सुधार आउँछ संगीताको भनाइ छ।