वीर अस्पतालमा क्याथ ल्याव सेवा सुरू

हेल्थपोस्ट नेपाल

काठमाडौं – वीर अस्पतालमा मुटुरोगको उपचारको लागि चाहिने क्याथ ल्याव सेवा सुरू भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी र राज्यमन्त्री डा तोसिमा कार्कीले रिवन काटेर उक्त सेवाको शुभारम्भ गरेका हुन।

देशको पहिलो अस्पताल वीर अस्पतालबाट अन्य अस्पताल र स्वास्थ्य संस्थाले सिक्ने भएकाले अस्पतालको भुमिका महत्वपुर्ण रहेको मन्त्री गिरीले बताए ।

सबै नागरिकलाई स्वास्थ्य सेवा दिनुपर्ने दायित्व बोध गरेर अघि बढ्नुपर्छ । गरिब र सिमान्तकृत समुदाय लगायतका व्यक्ति स्वास्थ्य सेवाको अभावमा अकालमा ज्यान गुमाउनुपर्ने समस्या हटाउनका लागी सबैले एक बद्ध भएर काम गर्नुपर्ने, त्यसमा मन्त्रालयको सहयोग रहने उनले बताए ।

अस्पताललाई अब्बल र सक्षम बनाउन र गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता संरचनागत तथा व्यवस्थापकीय सेवा सुधारका लागि काम गर्ने उनले बताए।

स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीले अस्पतालको जनशक्ति अभावमा आफ्नो ध्यानाकर्षण भएको बताइन् । उनले अस्पतालमा आएका बिरामीलाई रिफर गर्नुपर्ने अवस्थाको अन्त्य गर्न मन्त्रालय साथमा रहेको बताइन्। साथै स्वास्थ्यकर्मीलाई उच्च मनोबल सहित काम गर्न अनुरोध गरेकी छिन।

स्वास्थ्य सचिव डा रोशन पोखरेलले चार जना डिएम भएको ठाँउमा एउटा क्याथ ल्याव आवश्यक महसुस गरी यो सेवा विस्तार गरिएको बताए। त्यस्ता उनले ओपिडी र सर्जरीको लाइन घटाउने सरकारको मुल लक्ष्य भएकाले त्यस कार्यका लागि तत्काल कार्य योजना बनाएर अगाडि बढ्न निर्देशन दिए।

वीर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा भुपेन्द्र बस्नेतले अस्पतालको सेवाहरूबारे संक्षिप्त जानकारी दिदै वीर अस्पतालकै विभागहरु विशिष्टिकृत अस्पतालका रुपमा कान्ति बाल अस्पताल, प्रसूति गृह, मानसिक अस्पताल बनेको बताए। उनले कतिपय सेवा नर्सिङ जनशक्ति अभावले विस्तार गर्न नसकेको जानकारी दिए। दैनिक ३० जनाको एमआरआई गर्दा पनि अझै १५ दिन कुर्नु पर्ने अवस्था रहेको पनि बताए।



Leave a Reply

Your email address will not be published.