मानवता सेवाको लागि बहराइनको इसा अवार्ड डा सन्दुक रुइतलाई

काठमाडौं – प्रख्यात नेपाली आँखा शल्यचिकित्सक डा सन्दुक रुइतले यस वर्षको इसा अवार्ड फर सर्भिस टू ह्युमानिटी प्राप्त गरेका छन् ।
बहराइन राज्यले हरेक दुई वर्षमा प्रदान गर्ने प्रतिष्ठित पुरस्कारले विपद् रोकथाम र राहत, शिक्षा र मानव सहिष्णुतालगायत ११ वटा विधाहरू समेटेर उक्त अवार्ड प्रदान गर्दै आइरहेको छ ।
यस वर्षको उक्त अवार्ड डा रुइतलाई प्रदान गर्न लागिएको मंगलबार घोषणा गरेको हो।
उक्त अवार्डमा डा रुइतले, अरबमा आफ्नो प्रकारको पहिलो स्वर्ण पदक र एक मिलियन डलर नगद रकम प्राप्त गर्ने भएका छन् ।
उक्त अवार्डका लागी यस वर्ष मनोनीतहरू मध्ये डब्ल्यूएचओ फाउन्डेसन थियो तर निर्णायकहरूले डा रुइतलाई छनोट गरे। उनले कम लागतको मोतियाबिन्दु शल्यक्रिया प्रविधि प्रयोग गरी एशिया र विश्वका अन्य भागहरूमा १ लाख ८० हजार भन्दा बढी मानिसहरूको दृष्टि पुनर्स्थापित गर्न मद्दत गरेका छन्।
उक्त घोषणा गर्दै राजाका विशेष प्रतिनिधि र बोर्ड अफ ट्रस्टीजका अध्यक्ष शेख मोहम्मद बिन मुबारक अल खलिफाले यस वर्ष अवार्डका लागि १३९ मनोनयनमा परेको बताए ।
‘नेपाली नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइतलाई उनको समुदायको सेवा र उपलब्धिको लागि सम्मान गरिएको थियो,’ उनले भने ।
यस अवसरमा बोल्दै मानवताको सेवाका लागि इसा अवार्डका महासचिव अली अब्दुल्लाह खलिफाले डा रुइतलाई मोतियाबिन्दुको उपचारमा अभिनव दृष्टिकोण राखेर उक्त पुरस्कार प्रदान गरिएको बताए।
डा रुइतले सयौं हजारौं मानिसहरूको दृष्टि बचाउन सक्षम भए अन्यथा ति अन्धो हुने थिए, महासचिवले टिप्पणी गरे।
अघिल्लो विजेताहरू
यो अवार्ड यसअघि मलेशियन मेडिकल रिलिफ सोसाइटी (मर्सी मलेशिया)का संस्थापक जेमिलाह महमूद, भारतको कलिङ्गा इन्स्टिच्युट अफ सोशल साइन्सेज र कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीका संस्थापक डा अच्युता सामन्ता, बाल क्यान्सर अस्पताल फाउन्डेशनलाई प्रदान गरिएको थियो।
को हुन् डा सन्दुक रुइत ?
नेपालको दुर्गम क्षेत्रमा जन्मिएका रुइतले भारतमा छात्रवृत्ति पाएर चिकित्सा शिक्षा हासिल गरेका थिए । उनी नेपाल फर्किएर सरकारी स्वास्थ्य अधिकृतको रुपमा काम गरे ।
रुइत अनुसन्धानको लागि अष्ट्रेलिया गए जहाँ उनले प्रत्यारोपण गरिएको इन्ट्राओकुलर लेन्स प्रयोग गरी मोतीबिन्दु माइक्रोसर्जरीमा नवीनतम प्रविधिहरूमा पूर्ण ज्ञान र सीप हासिल गरे।
रुइत नेपाल फर्किए र सन् १९८८ मा आफ्नो देशमा नयाँ प्रविधिहरू ल्याए। उत्कृष्ट र नवीन, उनको ऐतिहासिक प्रविधिले अनगिन्ती मानिसहरूलाई सस्तो तर उच्च गुणस्तरको लेन्स पाउन मद्दत गर्यो।
३० वर्षभन्दा बढी अवधिको सेवामा, उनले आँखा हेरचाह सेवा प्रदान गर्नुको साथै प्रति पिस तीन डलर भन्दा कममा शल्यक्रियाका लागि अत्यन्त उच्च गुणस्तरको इन्ट्राओकुलर लेन्सहरू निर्माण गर्ने केन्द्रहरू स्थापना गरे।
वर्षौंदेखि डा रुइतको मोबाइल आँखा शिविर चीन, भारत, बंगलादेश, कम्बोडिया, उत्तर कोरियालगायत अन्य ठाउँमा विस्तार भएको छ।
उनले उपचार खर्च बेर्होन नसक्ने ५० हजार भन्दा बढी व्यक्तिको आँखाको शल्यक्रिया निशुल्क गरिसकेका छन्।
डा रुइतले यसअघि रामन म्यागसेसे पुरस्कार २००६, अर्डर अफ अष्ट्रेलिया २००७ र भारतमा पद्मश्री पुरस्कार २०१८ प्राप्त गरिसकेका छन् ।