सबै अस्पतालमा न्यूनतम सेवा मापदण्ड लागू गर्ने नवनियुक्त स्वास्थ्य मन्त्री गिरीको पहिलो निर्णय

काठमाडौं – नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले पद बहाली गरेसँगै न्यूनतम सेवा मापदण्ड लागू गर्ने पहिलो निर्णय गरेका छन् ।
स्वास्थ्यमन्त्री गिरीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेर पद बहाली गर्दै सबै अस्पतालमा न्यूनतम सेवा मापदण्ड लागू गर्ने सम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।
स्वास्थ्य बीमामा भएको समस्यालाई समाधान गरी बीमाको सेवालाई अझै गुणस्तरीय बनाउँदै लैजाने स्वास्थ्यमन्त्री गिरिले बताए।
त्यस्तै स्वास्थ्य राज्यमन्त्री डा. तोषिमा कार्कीले पनि आज पद बहाली गरेकी छिन् । उनले पैसाको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने र आँखाको उपचार विकेन्द्रीकरण गरेर केन्द्र, प्रदेश र आधारभूत स्वास्थ्य केन्द्रसम्म पुर्याउने बताएकी छिन् ।
कार्कीले राष्ट्रिय आँखा स्वास्थ्य रणनीति (२०७९–०८६) मा हस्ताक्षर गर्दै आँखाको उपचार सर्वसुलभ बनाउने बताएकी हुन् ।