आयोडिनयुक्त नुन खानुका फाइदाहरू

काठमाडौं – गर्भावस्थादेखि जीवनको हरेक अवस्थामा बाँच्न, स्वस्थ्य रहन र पूर्ण रुपमा मानसिक तथा शारीरिक विकासका लागि मानिसलाई विभिन्न पोषक तत्वहरुको आवश्यकता पर्दछ । यी मध्ये आयो डिन पनि एक महत्वपूर्ण खनिज तत्व हो । जुन सबै उमेरका मानिस तथा जीवलाई दैनिक रुपमा चाहिन्छ ।
यसले शरीरको अन्य कार्यहरु जस्तो पाचन प्रक्रिया, शरीरमा शक्तिको प्रयोग गर्न, कोशिकाहरुको कार्य सुचारु राख्न, दिमागको वृद्धि र विकास गर्न, शरीरको दैनिक प्रक्रिया सुचारु राख्ने जस्ता मुख्य मुख्य काममा सहयोग गर्दछ । नेपालको भौगोलिक अवस्थाले गर्दा यहाँको माटो र पानीमा आयो डिनको अभाव छ । त्यसैले खानामा आयो डिन मिसाएको नुन खानु नै एक मात्र सरल उपाय हो।
ढिके तथा खुल्ला नुनमा आयो डिन मिसाएको भए तापनि यसलाई भण्डारण गर्दा र बजारमा खुल्ला रुपमा राख्दा यसमा भएको आयो डिन उडेर नाश हुन्छ । प्राय जसो ढिके नुन फोहोर हुने र धोएर खाने चलन भएकोले यसमा भएको आयो डिन पखालिएर अझै नाश हुन्छ ।
आयो डिन भएको नुन खाने गरेमा दिमागको विकास हुन्छ र बच्चाको बौद्धिक विकास राम्ररी भई चनाखो बन्दछ ।
जान्नै पर्ने कुराहरू
ढिके वा खुल्ला रुपमा बिक्री वितरण गरिने नुनमा मानिसको शरीरलाई दैनिक रुपमा आवश्यक पर्ने आयो डिनको मात्रा नहुन सक्छ यस्तो नुन सफा पनि नहुने हुनाले खानका लागि उपयुक्त हुँदैन ।
दुई बालबालिका चिन्ह भएको प्याकेटको नुनमा सही मात्रामा आयो डिन मिसाइएको हुन्छ । साथै सफा पनि हुन्छ । यो चिन्ह नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सही मात्रामा आयो डिन भएको नुनलाई दिने प्रमाणित चिन्ह हो।
वयस्क हरुले दैनिक रुपमा ५ ग्राम ( आधा चिया चम्चा अलि बढी तर १ चिया चम्चा भन्दा कम) भन्दा कम नुन को प्रयोग गर्नु पर्दछ । बालबालिका १२ महिना पुरा भएपछि बढीमा २ ग्राम नुन ( आधा चिया चम्चा भन्दा पनि कम) दिनभरको खानामा प्रयोग गर्नुपर्दछ ।
आयोडिनयुक्त नुनलाई प्लास्टिकको डिब्बामा टम्म बिर्को लगाएर राख्नुपर्छ। घाम र पानीले असर गर्न ठाउँमा राख्नुहुँदैन ।
आयो डिनको फाइदाहरू
गर्भावस्थामा
गर्भवती महिलाले दैनिक रुपमा आयो डिन नुनको सही मात्रा ५ ग्राम भन्दा कम खाएमा उनीबाट जन्मेको शिशुको दिमागको विकास राम्रो हुन्छ। साथै आयो डिनको कमीबाट गर्भको बच्चा तुहिने, मरेको बच्चा जन्मने, मानसिक स्थिति ठिक नभएको र सुस्त मनस्थिति भएको बच्चा जन्मिने जस्ता समस्याहरूबाट बच्न सकिन्छ ।
बाल्यावस्थामा
बालबालिका १२ महिना भएदेखि खानामा अलिअलि आयोडिनयुक्त नुन खुवाएमा बालबालिकाको मानसिक तथा शारीरिक विकासमा मद्दत गर्छ । साथै बौद्धिक विकास राम्ररी भई चनाखो बन्दछ ।
किशोरावस्थामा
किशोरावस्थामा आयो डिनको सही मात्राले मानसिक तथा शारीरिक क्षमतामा वृद्धि हुन्छ जसले गर्दा पढाइका साथसाथै अन्य क्रियाकलापमा पनि सकारात्मक असर पर्दछ।
सबै उमेरमा
आयो डिनको सही मात्राले मानिसको मानसिक तथा शारीरिक विकास राम्ररी हुन्छ । जसले गर्दा गलगाँड तथा हाइपोथरोइडजम जस्ता समस्या हुनबाट बचाउँछ ।
(राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र)