जहाँ आमाहरू ‘अमृत’ दान गरिरहेछन् …

काठमाडौं- पाँच वर्षअघि माघको तुसारो ओभाइसकेको थिएन। ललितपुरस्थित इमाडोलको एउटा सुनसान ठाउँमा भर्खरै जन्मिएको शिशु जेनतेन सास फेरिरहेको थिए।
नक्सालको बालमन्दिरले उठायो। निकै कम तौल। कमजोर शरीर। शरीर सुन्निएको थियो।
डाक्टरले भने शिशुलाई स्तनपान गराउनु।
बालमन्दिरले ‘आमा’हरू खोज्न थाल्यो। केही दिनसम्म स्थानीय आमाहरूले शिशुलाई स्तनपान गराए पनि। तर ‘शिशुको रोग सर्छ’ भनेर उनीहरू त्यहाँ जानै छोडे।
स्थापनाको ५० वर्षपछि पहिलोपटक बालमन्दिरले ‘स्तनपान’ अभियान सुरू गरेको थियो। त्यहाँ ‘स्वंयसेवी’ आमाहरू आएर बच्चाहरूलाई दूध चुसाउँथे।
आमाको दूध चाहिने त्यस्ता धेरै शिशुहरू स्याहारिरहेको थियो बालमन्दिर तर त्यहाँ न ‘आमा’ थिए न काख।
अस्पतालहरूमा पनि त्यस्ता धेरै शिशुहरू देख्थिन् बालरोग विशेषज्ञ कल्पना सुवेदी। अनि दूध चुसाउन नपाएका आमाहरू पनि देख्थिन्।
र, उनलाई लाग्थ्यो ‘खेर जाने ती आमाहरूको दूध एकै ठाउँमा जम्मा गर्न पाए‘’ आमको दूधिलो काख नपाएका शिशुहरूका लागि त्यो अमृत थियो।
‘हामीले सोध्थ्यौं पनि। धेरैजसो स्वीकृती दिनुहुन्थ्यो। कोही अभिभावकले मान्नुहुँदैन थियो, उनले भन्छिन् ‘केही अभिभावकले आफ्नो बच्चाले दूध नखाए अरुको बच्चालाई दिन पनि मान्दैन थिए।’
यस्तो अवस्थामा धेरै बच्चाहरु पहिलो पटक आमाको दूध खानबाट बञ्चित हुन्थे।
आमाको दूध, एउटा शिशुका लागि भोक मेट्ने खानामात्रै होइन त्यो सिङ्गो जीवनको अमृत पनि हो।
बालरोग विशेषज्ञहरूको एउटा समूहले त्यस्तै एउटा ‘दूध बैंक’को परिकल्पना गरिरहेको थियो। जो युरोपियन देशहरूमा १०० वर्ष अघि नै सुरु भइसकेको थियो। विश्वका धेरै देशमा त्यस्ता ‘दूध बैंक’हरू छन्।
२०७९ भदौ ३ गते परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा ‘अमृत कोष’ स्थापना भयो। त्यही नेपालको पहिलो ‘ह्युमन मिल्क बैंक’ हो।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको अगुवाई, युरोपियन युनियन र युनिसेफको साझेदारीमा नेपालमा पहिलो पटक ‘ह्युमन मिल्क’ बैंक स्थापना भएको हो।
ह्युमन मिल्क बैंकमा स्तनपान गराउने आमाले अरु बच्चाको प्रयोजनका लागि दान गरेको दूध संकलन गरिन्छ।
नवजात शिशुको लागि सबैभन्दा उत्तम आहार भनेको स्तनपान (शिशुले आमाको स्तन चुस्नु) गर्नु रहेको डा कल्पनाले बताइन्।
उनका अनुसार सबै अवस्थामा शिशुले स्तनपान गर्न सकेका हुँदैनन्। कुनै बच्चा समय भन्दा धेरै अगाडी जन्मेको हुन्छन्। जसका कारण आमाको दूध चुस्न सक्दैनन्। कुनै आमा नै बिरामी हुन्छन्। त्यस्तो अवस्थामा आफ्ना बच्चालाई स्तनपान गराउन सकिरहेका हुँदैनन्।
बच्चाले स्तनपान गर्न नसकको अवस्थामा अर्को विकल्प भनेको आमाको स्तन निचोरेर दूध निकालेर खुवाउनु दोस्रो उपाय रहेको उनी बताउँछिन्।
यो पनि नसकेको अवस्थामा अरु कुनै आमाको दूधलाई निकालेर त्यसलाई प्रशोधित गरेर खुवाउनु तेस्रो विकल्प हो। यसका लागि ह्युमन मिल्क बैंकको आवश्यकता पर्छ। नेपालमा यसको सुरुवात भएको पाँच महिना पुरा भएको छ।
आफ्ना आमाको दूध खान नपाएको अवस्थामा अरु आमाको दूध प्रशोधित गरेर दिने विकल्प दिनु ह्युमन मिल्क बैंकको आवश्यकता रहेको प्रसुती अस्पतालकी नवजात शिशु विभागकी प्रमुख डा कल्पनाले बताइन्।
तर बैंकमा पर्याप्त मात्रामा आमाको दूध संकलन हुन नसकेको उनले जानकारी दिइन्।
सुरुमा २००, २५० एमएल दूध संकलन हुन्थ्यो। अहिले सामान्यतया १५ सय एमएल संकलन भइरहेको उनले बताइन्। उनका अनुसार अहिलेसम्मकै धेरै दूध संकलन भनेको २५ सय एमएल सम्म पुगेको छ।
आमाहरूमा पनि दूध संकलन गरिन्छ भन्ने जानकारी भएका कारण अहिले बिस्तार दूध संकलन बढिरहेको छ।
सामान्य प्रसुती भएका महिलाहरु एक दिनमा नै डिस्चार्ज हुने भएकाले उनीहरु बैंक सम्म आइपुग्दैनन्।
प्राय आइसीयुमा बच्चा भएका आमाहरुले दूध दान गर्ने गरेका छन्।
अफ्नो बच्चालाई खुवाएर पनी दूध गानिने समस्या भएका आमाहरुले बढी दान गर्ने गरेको डा उपाध्याय बताउँछिन्।
त्यस्ता आमाले एक पटकमा १७०, १८० एमएल सम्म दिने गरेका छन्। उनीहरुले दिनमा ४ पटकसम्म दान गर्ने गरेका छन्।
अहिले दैनिक कम्तीमा ६ जना आमाहरुले दूध दान गरिरहेका छन्।
तथ्यांक
हरेक वर्ष विश्वभर करिब १ करोड ५० लाख शिशुहरू समय नपुगि नै जन्मिने युनिसेफको तथ्यांक छ ।
युनिसेफका अनुसार नेपाल जस्ता निम्न–मध्यम आय भएका देशहरूमा करिब ८१ हजार शिशु समय नपुग्दै जन्मिन्छन् । शिशुहरू आफ्नो जीवनको पहिलो महिनामा मृत्युको उच्च जोखिममा हुन्छन् भने समय नपुगि जन्मेका र कम तौल भएका शिशुहरू अझ बढी जोखिममा हुन्छन् ।
सन् २०१९ को नेपाल बहुसुचक सर्वेक्षण अनुसार नेपालमा नवजात मृत्यु दर (जीवनको पहिलो २८ दिनमा प्रति एक हजार जीवित जन्ममा मृत्यु हुनेको संख्या) १६ छ । त्यस्तै, शिशु मृत्यु दर (प्रति एक हजार जीवित जन्ममा १ वर्षभन्दा कम उमेरको मृत्यु हुनेको संख्या) २५ र ५ वर्ष मुनिको मृत्यु दर प्रति एक हजार जीवित जन्ममा २८ छ ।
युनिसेफका अनुसार पूर्ण स्तनपानले विश्वभर हरेक वर्ष ५ वर्ष उमेरमुनिको सम्भावित मृत्युलाई १३ प्रतिशतले कम गर्न सक्ने क्षमता राख्छ । त्यस्तै, जन्मेको पहिलो घण्टा भित्र गराइने स्तनपानसँगै पूर्ण स्तनपानले विश्वभरिका सबै नवजात शिशुको मृत्युलाई २२ प्रतिशतले घटाउन सक्छ ।
नेपाल बहुसूचक सर्वेक्षण, २०१९ का अनुसार नेपालमा २ वर्ष मुनिका शिशुहरू मध्ये ४२ प्रतिशतलाई मात्र जन्मेको एक घण्टा भित्र स्तनपान गराइन्छ भने ६ महिना मुनिका ६२ प्रतिशत शिशुहरूलाईमात्र पूर्ण स्तनपान गराइन्छ ।
समय नपुगि जन्मेका र कम तौल भएका जीवीत रहिरहन सक्ने तथा उनीहरूको पर्याप्त शारीरिक तथा मानसिक विकास हुननसक्ने बढी जोखिम हुन्छ । यसका साथै उनीहरूको कमजोर स्वास्थ्य अवस्थाका कारण उनीहरूलाई दूध खुवाउन पनि गाह्रो हुन्छ । प्रायजसो यस्ता शिशुहरूको सन्दर्भमा प्रत्यक्ष स्तनपान सम्भव हुँदैन । यस्तो अवस्थामा उनीहरूका लागि उत्तम विकल्प भनेको आमाको दुध निकालेर खुवाउनु हो, सम्भव भए सम्म आफ्नै आमाको नभएको अवस्थामा अरुको आमाको खुवाउन सकिन्छ ।
जसले दूध दान गरिरहेका छन्
३३ दीन अघि कीर्तिका आचार्य सुत्केरी हुनका लागि सर्लाहीबाट प्रसुती गृह आइपुगिन्।
सामान्य सुत्केरी हुन अस्पताल आएकी उनको स्वास्थ्यमा जटिलता आएपछि शल्यक्रिया गरि शिशु निकालियो।
शिशुको तौल आवश्यक (१.५ केजी) भन्दा कम थियो। शिशु निकालिए लगत्तै आइसीयुमा राखियो। दूध खुवाउन मिलेन। कीर्तिकाको दूध उनको सन्तानलाई नखुवाउँदा गानिन थाल्यो।
उनले अस्पतालमा बताइन्। त्यसपछि उनलाई दान गर्न सल्लाह दिइयो।
सुरु सुरुमा उनले दुई दुइ घण्टामा दान गरिन्। अहिले उनको शिशुले दूध खान थालेका छन्। उनको शिशुले खाएर पनि उनको दूध धेरै हुन्छ। बाँकि रहेको दूध उनी दान गर्छिन्।
सुरुमा उनले दुई घण्टाको अन्तरालमा एक पटकमा १५० एम एल दूध दान गरिन् भने अहिले दिनमा दुई वा तीन पटक दान गरिरहेकी छिन्।
उनले आफ्नो शिशुको तौल कम भएर आइसीयुमा बस्दा कयौं आमाहरूको दूध नआएर शिशुले खान नपाएको देखेकी छिन्। आफ्नो दूध प्रशस्त आउने भएकाले उनी आफ्नो छोरालाई खुवाएर पनि दान गर्न पुग्छिन्।
पम्पिङ गर्दा आफ्नो दूध पनि नगानीने र अरुको शिशुले पनि खान पाउने भएकाले दान गर्ने गरेको उनले बताइन्।
उनले दिनमा ६ बोतल (एक बोतल बराबर १५० एम एल) सम्म दान गरेकी छिन्।
दान कसरी गर्ने?
सुरुमा आमाहरुलाई काउन्सिलिङ गराइन्छ। त्यसको लागि अस्पतालमा ‘फिडिङ काउन्सलर’ जनशक्ति पनि छन्। उनीहरुले प्रत्येक वार्डमा गएर आमा र शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिने गरेका छन्।
उनीहरुले स्तनपान गराउने तरिका नजानेको अवस्थामा सिकाउने र कुनै बच्चालाई आमाको दूध पुगेको छैन भने पम्पिङ गर्ने स्थानमा ल्याएर परिक्षण गरिन्छ।
त्यस्तै आफ्नो बच्चालाई खुवाएर पनि धेरै हुने आमाहरुले पनि दान गर्न सुझाइन्छ।
उनीहरुले दूध दान गर्ने सहमती दिएपछि शारीरिक परिक्षण गरिन्छ। ति आमाहरूको स्तन वरिपरी कुनै घाउ भएमा त्यस्तो अवस्थामा हामीले दूध लिन मिल्दैन। हालसालै दादुरा, ठेउला र अन्य सर्ने किसिमका रोग लागेको आमाको पनि दूध लिन मिल्दैनौँ।
यि कुनै समस्या नभएको अवस्थामा रगत परिक्षणको रिर्पोट हेरिन्छ।
रगतमा हेपाटाइटिस बी, भिडिआरएल र एचआइभी परिक्षण नेगेटिभ भएमा मात्र त्यो आमाले दूध दान गर्न मिल्छ।
सामान्यतया यो परिक्षण गर्भवती हुँदा गरिएको हुन्छ। ५ महिनासम्मको रिर्पोट ले काम गर्छ।
गर्भावस्थामा यी परिक्षण नगरिएको अवस्थामा परिक्षण गराएर रिर्पोट नेगेटिभ आएपछि मात्र दूध दान गर्नका लागि तयार पारिएको अनुमती पत्रमा स्वीकृती दिइन्छ।
त्यसपछि दूध संकलन गरिन्छ। केन्द्रमा दूध संकलनका लागि हातले निचोरेर तान्ने पम्प र अटोमेटिक पम्प छन्। धेरैजसो ले अटोमेटिक पम्पको प्रयोग गर्ने गरेका छन्।
केन्द्रमा अहिले ६ ओटा अटोमेटिक पम्प छ। ६ जना आमाले एकैपटक दूध दान गर्न पाउँछन्।
संकलन भएको दूध सामान्य फ्रिजमा (२ देखि ८ डिग्री सेन्टिग्रेड तापक्रममा) राखिन्छ।
शिशुले आमाको दूध तान्न नसकेको अवस्थामा आमाले पम्पिङ गरेर खुवाउने गर्छन्। पम्पिङ गरेको दूध आफ्नै बच्चालाई दिनुपर्ने अवस्था छ भने २४ घण्टासम्म त्यहि फ्रिजबाट दिइन्छ।
२४ घण्टा भन्दा बढि राख्नुपर्ने अवस्थामा ‘डिप फ्रिज’मा राख्ने गरेका छन्।
‘डिप फ्रिज’मा राखेपछि अर्को पक्रिया भनेको पुलिङ हो। ‘डिप फ्रिज’मा राख्दा संक्रमण रहित वातावरण भएको स्थानमा तीन देखि पाँच जना आमाको दूधलाई मिक्स गरेर राखिन्छ। त्यो मिक्स गरेको दूधलाई पाश्चराइज (निमृलीकरण) गर्ने बोतलमा खनाइन्छ। पाश्चराइज गर्ने मेसिनको क्षमता १७ सय एमएल छ। त्यो मात्रामा दूध जम्मा भएपछि पाश्चराइज गरिन्छ।
पाश्चराइज गर्ने भनेको दूधमा भएको किटाणुलाई नष्ट गर्ने प्रक्रिया हो। उमाल्दा पौष्टिक तत्व नष्ट हुन्छ। पाश्चराइज गर्दा पौष्टिक तत्वमा कुनै असर गर्दैन।
पाश्चराइज गर्दा दूधलाई ६२ डिग्रीसम्म तताइन्छ। तताएको दश मिनेटपछि त्यसको तापक्रम ४ डिग्रीमा झर्छ।
पाश्चराइज गरेपछि उक्त दूधको १० एमएल लिएर माइक्रोबायोलोजी मा कल्चर गर्न पठाइन्छ। कल्चर को रिर्पोट नआउँदा सम्मको लागि पुन डिप फ्रिजमा राखिन्छ।
कल्चर को रिर्पोट नेगेटिभ आएपछि त्यो बच्चालाई खुवाउन योग्य मानिन्छ।
बच्चा खुवाउनु २४ घण्टा अघि आवश्यक मात्रा (बच्चाको संख्या अनुसार) डिप फ्रिजबाट निकालेर सामान्य फ्रिजमा राखिन्छ। त्यसपछि आवश्यकता अनुसार बच्चालाई दिइन्छ।
बच्चालाई दूध खुवाउनु अघि नै अभिभावकसँग स्वीकृती लिइन्छ।
दान गरिएको दूध अस्पतालमै पुग्दैन
अस्पतालमा भर्ना भएका सबै शिशुलाई बैंकके दूधको आवश्यकता पर्दैन। अहिलेको अवस्थामा अस्पतालमा आमाको दूध खाने बाहेकका बच्चालाई ४ लिटर (४ हजार एमएल) दूध आवश्यक छ।
आवश्यकताको आधारमा हेर्ने हो भने अहिले आधाभन्दा कम दूध संकलन भइरहेको छ।
त्यसैले अस्पतालले समय नपुगी जन्मिएका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुलाई प्राथमिकतामा राखेर दूध खुवाइरहेको डा करुणाले बताइन्। उनी भन्छिन, ‘आइसीयुमा भर्ना भएका बच्चालाई मात्र ह्युमन मिल्क खुवाइन्छ।’
आइसीयु बाहिरको पनि उमेर नपुगि जन्मेका बच्चालाई चाहि ह्युमन मिल्क नै खुवाउँछौँ।
‘समय अगावै जन्मिएको शिशु कमजोर हुन्छ। त्यस्तो अवस्थामा आमाको दूध पनि राम्रोसँग तान्न सक्दैन आमाको दूध पनि त्यति आउँदैन,’ उनी भन्छिन्, ‘शिशुलाई चाहिने बेलासम्म पनि एकदमै कम आउँछ। हामीले दुई चार थोपा जति आउँछ त्यति निकाल्छौ र बच्चालाई दिन्छौं। बाँकि दान गरिएको दूध नै खुवाउने गरेका छौं।’
उनका अनुसार हाम्रो लक्ष्य सबै बालबालिकालाई उपलब्ध गराउने हो तर त्यो अनुसार संकलन भएको छैन। अलि बढि संकलन हुँदा सबै बच्चालाई दिन्छौं। संकलन कम हुँदा आइसीयुको बच्चालाई मात्र दिने गरेका छौं। हामीसँग भएको स्टक अनुसार खुवाइन्छ।
अस्पतालमा नै दान गरिएको दूध अपुग भएका कारण अन्य अस्पतालमा पठाउने नसकिएको उनी बताउँछिन्।
शिशुलाई स्तनपान नै किन गराउने?
शिशु जन्मने बित्तिकै आमाको छातीमा टासेर राख्ने र जन्मेको एक घण्टा भित्र अनिवार्य स्तनपान गराउनुपर्ने बरिष्ठ बाल रोग बिशेषज्ञ डा उपाध्यायले बताइन्।
उनका अनुसार स्तनपान शिशुको लागि पुर्ण आहार हो। आमाको दूधमा शिशुलाई आवश्यक पर्ने सबै तत्व हुन्छ। त्यो पौष्टिक तत्व शिशुले पचाउन सक्ने हुन्छ।
आमाको बिगौती दूधमा भएको इम्युनोग्लोबिनले पहिलो खोपको समान काम गर्छ। त्यसैले स्तनपानको विकल्प नसक्ने उनको मत छ।
फर्मुला दूधमा प्रोटिन भए पनि बच्चाले पचाउन गाह्रो पर्न सक्छ। बनाउने प्रक्रियामा इन्फेक्सन हुन सक्छ।
संकलन भएको कति समय राख्न मिल्छ?
दान गरिएको दूध संकलन भएको ६ महिनासम्म त्यसको जिवन हुने डा करुणाले बताइन्। उनका अनुसार संकलन भएको दूधलाई पाश्चराइज गरेर डिप फ्रिजमा राख्नुपर्ने हुन्छ। डिप फ्रिज माइनस २० डिग्रीमा हुन्छ।
तीन तीन महिनामा उक्त दूधलाई पाश्चराइज गर्नुपर्ने भनिएको उनले बताइन्।
अहिले अस्पतालको ह्युमन मिल्क बैंकमा त्यति धेरै दूध संकलन नभएकाले स्टक धेरै नरहेको उनले बताइन्।
एउटा शिशुलाई एक दिनमा कति दूध आवश्यक पर्छ ?
नवजात शिशुको तौल अनुसार उसले दूध खाने गर्छ। १५ सय ग्राम (१.५ किलो) भन्दा कम तौल भएको शिशुलाई एक दिनमा ८० एमएल दूध खुवाउनुपर्ने हुन्छ।
नवजात शिशुलाई दुई घण्टाको अन्तरालमा प्रत्येक पटक ७ एमएल खुवाउनुपर्ने हुन्छ। तर नौ महिना पुरा गरेर जन्मेको तौल पुरा भएको शिशुलाई एक पटकमा ६० एमएल खुवाउनुपर्छ। २४ घण्टामा २४० एमएल खुवाउनुपर्छ।
प्रसुतीमा बृहत स्तनपान व्यवस्थापन केन्द्र
प्रसुती अस्पतालमा नेपालमा पहिलो पटक ‘ह्युमन मिल्क’ बैक स्थापना भएको हो। यो बृहत स्तनपान व्यवस्थापन केन्द्रको एक अंश हो।
हरेक शिशुले पहिलोपटक आमाको दूध नै खान पाउनुपर्छ भन्ने केन्द्रको पहिलो प्राथमिकता हो। शिशुले स्तनपान र आमाको दूध खान नपाएको अवस्थामा अन्य आमाले दान गरेको दूध खुवाउन सकियोस् भन्ने सोभ अनुसार बृहत स्तनपान व्यवस्थापन केन्द्र सञ्चालन भएको हो। त्यसअन्तर्गत अहिले प्रसुती अस्पतालमा ह्युमन मिल्क बैक सञ्चालनमा छ।