महिलाहरूले भोग्ने विकराल समस्या जसले निम्त्याएको छ ‘सम्बन्धविच्छेददेखि अपराधसम्म’

हेल्थपोस्ट नेपाल

हरेक ४५ दिनपछि जुनसुकै समय कामना गौतमको दिनचर्यामा उथलपुथल सुरु हुन थाल्छ। उनी बिना कारण स-साना कुराहरूमा चिढिन थाल्छिन्। अस्वाभाविक रिस उठ्छ। निराशाले झपक्क छोप्छ।

एक बिहान आफूले लगाएको लुगा र आफैँले रोजेको लिपस्टिकको रङ्ग नमिल्दा उनी डाँको छोडेर रुन थालिन्। अनि महसुस गरिन्- मलाई महिनावारी हुनुअघिका लक्षणहरू देखिँदै छन्।

पेशाले फेसन डिजाइनर तथा मेकअप आर्टिस्ट हुन् यी २१ वर्षीया युवती। तर, हरेक पटक ढिलागरी हुने महिनावारीको पीडा र त्यसअघि भोग्नु पर्ने मानसिक उतारचढावका कारण आफूले चाहेजस्तो काम गर्न नसकेको उनी बताउँछिन्।

“गर्नलाई धेरै कामहरू बाँकी हुन्छन्। काम गर्नु छ भन्ने थाहा पनि हुन्छ तर गर्न सक्दिनँ। अनि केही गर्न नसक्नुको हीनताबोधका कारण फेरि रुन थाल्छु,” उनले  आफ्नो अनुभव सुनाइन्।

एक पटक आफू ग्राहकको अगाडि रोएको प्रसङ्ग सम्झन्छिन् उनी। त्यतिबेला कसैले “यति सानी मान्छेले कस्तो मेकअप गर्दिन्छिन् होला” भन्नुले निकै सताएको थियो उनलाई।

“अरू बेला त निकै आत्मविश्वासी मान्छे हुँ। तर महिनावारी हुनुअघि मलाई आफ्नै क्षमतामाथि शङ्का लाग्छ,” उनले भनिन्।

कक्षा ७ मा पढ्दा कामनाको पहिलो महिनावारी भएको थियो। १३ वर्षको उमेरदेखि हरेक पटक रजस्वला हुँदा उनले भोग्नु पर्ने शारीरिक र मानसिक पीडा उस्तै छ। झन् रजस्वला भइसकेपछि त कति पटक अस्पताल नै धाउनु परेको बताउँछिन्। भन्छिन्,”यो समस्याका कारण मैले धेरै अवसरहरू गुमाएकी छु।”

सामान्यतया २१ देखि ३५ दिनभित्र हुने महिनावारी अघि यस्तै समस्याहरूसँग जुझ्न बाध्य उनी एक्ली महिला भने होइनन्।

चितवन देवघाटकी २९ वर्षीया लीला बन्जारालाई महिनावारी हुनुभन्दा करिब १० दिन अघिदेखि नै खिन्न महसुस हुन थाल्छ। बिनाकारण चित्त दुख्ने र साह्रै रिस उठ्ने उनको अनुभव छ। कहिलेकाहीँ वर्षौँ अघिको घटना सम्झिएर रुने गरेको उनी सुनाउँछिन्।

“आफूलाई मानसिक र भावनात्मक रूपमा सम्हाल्न निकै गाह्रो हुन्छ। म विवाहित हुँ। यदि  मेरो श्रीमानले मेरो समस्या नबुझ्ने भएको भए मलाई निकै अप्ठेरो हुन्थ्यो होला,” उनले बताइन्।

के हो त समस्या?

यो स्वास्थ्य स्थितिलाई प्री मेन्सट्रुअल सिनड्रोम अर्थात् पीएमएस भनिने बताउँछिन् महिला रोग विज्ञ तथा काठमाण्डू मेडिकल कलेजकी सहप्राध्यापक डा. श्रेयषी अर्याल।

“यो महिनावारी हुनुअघि महिलाको शारीरिक, मानसिक तथा भावनात्मक स्थिति र व्यवहारमा देखिने परिवर्तन हो,” उनले प्रस्ट्याइन्। उनी थप्छिन्, ”व्यक्तिपिच्छे यसको असर फरक हुन्छ। कसैले महसुस गर्दैनन् त कसैमा जटिल खालका परिवर्तनहरू देखिन सक्छ।”

यो समस्या सामान्य झर्कोफर्को, नैराश्य वा क्षणिक आवेगमा मात्र सीमित रहँदैन। करिब २० प्रतिशत महिलाहरूलाई पीएमएसका जटिल लक्षण देखिने अनुसन्धानहरूको निचोड रहेको उनले बताइन्।

डा. अर्यालका अनुसार “केही महिलाहरूलाई पीएमएसमा हुने तनावका कारण आत्महत्याको सोचदेखि प्रयाससम्मै पुर्‍याउँछ। केही महिलाले काममा ध्यान केन्द्रित गर्न नसक्दा जागिरबाट निकालिएका छन्। अनि, कतिको चाहिँ झिँजोपन र रिसको कारण पारिवारिक दरारदेखि सम्बन्धविच्छेदसम्मका घटना भएका छन्।“

पीएमएससम्बन्धी एक कानुनी इतिहास

सन् २०२१ मा बीबीसीले तयार पारेको एक सामग्रीमा लन्डनकी निकी ओअनले आफ्नो अनुभव साझा गरेकी छिन।

किशोरावस्थामा प्रवेश गरेपछि उनले आफूमा व्यापक परिवर्तनहरू महसुस गरिन्। उनले वर्षौँसम्म अधिकांश समय आफैँलाई घृणा गरिन्। आत्महत्यालगायत आफैलाई हानि गर्ने प्रयासहरू गरिन्।

एकदिन उनले आफ्नी आमा मात्र घरमा रहँदा बाहिरबाट आगो लगाइदिइन्।

त्यसपछि १८ वर्षकी उनीमाथि भागेर बाँचेकी आमाको हत्याको आरोप लाग्यो र उनले १५ वर्षसम्मको जेल सजाय भोग्नु पर्ने बताइएको थियो।

“त्यसो गर्नुको कुनै अर्थ थिएन,” उनले त्यो घटनाबारे भनिन्। “म राक्षससरह प्रस्तुत भएको थिएँ। मैले मेरो बाबुआमाको घर जलाएँ र त्यतिबेला मलाई के गर्ने थाहा थिएन।”

त्यस्तो अवस्थामा आफूलाई बुवाको साथ रहेको उनले उल्लेख गरेकी छन्।

निकीकी आमाले लेखेको डायरीमा आफ्नी छोरीमा हरेक महिना त्यस्तो हिंस्रक व्यवहार देखिने उल्लेख गरेकी छिन्।

वर्षौँको खोज र जाँचपछि उनलाई प्री मेन्सट्रुअल सिनड्रोम पीएमएस हुने गरेको पुष्टि भयो।

करिब ४० वर्षअघि निकीको घटनाले इङ्गल्यान्डमा पहिलो पटक कानुनी इतिहास बनायो जसमा प्री मेन्स्ट्रुअल सिन्ड्रोमलाई फौजदारी मुद्दामा सजाय कम गर्ने कारकको रूपमा प्रयोग गरिएको थियो।

पीएमएस पहिचानमै समस्या

महिनावारी सुरु हुनुभन्दा १० दिन अघिदेखि नै असामान्य मानिसक उतारचढावको अनुभव गर्छिन् २४ वर्षीया प्रजीना रेग्मी।

“त्यो पीएमएसका कारण हो भन्ने थाहा हुँदैन। पिरियड भएपछि मात्र ‘ए त्यसको कारण रहेछ’ भन्ने लाग्छ,“ उनले सुनाइन्।

धेरै महिलाहरूलाई नै “आफूलाई के भएको हो भन्ने थाहा नहुने” भएकाले उनीहरूको परिवार, श्रीमान् वा सहकर्मीहरू पनि त्यस्तो परिस्थितिबारे जानकार नहुन सक्ने डा. अर्यालको भनाइ छ। यद्यपि, पछिल्लो समय केही महिलाले आफ्नो समस्याबारे खोज्न र त्यसबारे खुलेर बोल्न थालेको उनले बताइन्।

अहिलेको स्थितिमा पीएमएसबारे चेतना विस्तार गर्नु नै प्राथमिक आवश्यकता भएको उनको कथन छ।

“सामान्यता महिनावारीलाई रक्तस्राव र दुखाइसँग मात्र जोडेर हेरिन्छ। तर  महिनावारीमा हुने शारीरिक पीडाका अतिरिक्त यस्तो समस्या पनि हुन्छ है भन्ने कुरा बुझाउन सके साथ र सहयोग खोज्न सकिन्छ,” उनले भनिन्।

समस्याका कारण के हुन्?

विज्ञ डा. श्रेयषी अर्यालले पीएमएस हुनुका मूल कारणहरूलाई बुँदागत रूपमा प्रस्तुत गरेकी छन्:

  • महिलाको शरीरमा हुने हर्मोन परिवर्तनको प्रक्रिया
  • महिनावारीमा अधिक पीडा हुनेहरूको हकमा पीएमएसका गम्भीर लक्षण
  • वंशाणुगत पूर्वस्थिति
  • वातावरणीय प्रभाव
  • व्यक्तिगत स्वभाव एवं भावनात्मक स्थिति

“यो मानसिक समस्याको शारीरिक अभिव्यक्ति हो। त्यसैले समाज र संस्कृतिहरूको पनि यसमा परोक्ष प्रभाव रहन्छ।”

समस्या समाधानका उपाय के?

प्रजीना रेग्मी आफ्नो मानसिक तनाव कम गर्न आफू रमाइलो किसिमका गीतहरू सुन्छिन् र नाच्छिन्।

“सुन्दा अचम्म लाग्न सक्छ तर म नाच्छु। मान्छेहरू बोल्दा झर्को लाग्छ। त्यसैले जबाफ फर्काउँदा धेरै जनासँग झगडा परेको छ। आजभोलि त्यस्तो हुन नदिन एक्लै हिँड्ने गरेकी छु,” उनले आफ्नो सामना गर्ने शैलीबारे भनिन्।

भोग्नु पर्नेले नै सहज हुने तरिका अपनाउनुलाई “उचित उपाय”का रूपमा व्याख्या गर्छिन् डा. अर्याल।

मादक पदार्थ सेवन वा धूम्रपान रोक्नुले पनि पीएमएस कम गर्ने उनी बताउँछिन्। जीवनशैलीमा परिवर्तन, नियमित व्यायाम गर्नु, शरीर तन्दुरुस्त राख्नुले पनि सहयोग गर्ने उनको कथन छ।

“धेरै गाह्रो हुने दिदीबहिनीलाई हर्मोनसम्बन्धी औषधि समेत दिनु पर्ने हुन्छ।”

परिवार, साथीभाइ र सहकर्मीहरूले “यसलाई मुटु दुख्नु वा खुट्टा भाँच्चिनुजस्तै स्वास्थ्य समस्या”को रूपमा लिएर सहयोग गर्नु पर्ने उनको ठहर छ।

नेपालमा यसको चरम अवस्था भोगिरहेका केहीले पनि परिवार, साथीभाइ वा सहकर्मीले बुझिदिनु र साथ/सहयोग निभाउनुले राहत दिने बताएका छन्।

तर, परिस्थिति फरक भएको कतिपयको बुझाइ छ।

आफ्ना वरपर भएका अधिकांश मानिसलाई पीएमएसबारे केही थाहा नभएको स्वीकार गर्छिन् फोटो पत्रकार शीला तिम्सिना।

“के भइरहेको छ भन्ने थाहा नपाएकाहरूले साथ दिने कुरै भएन। एउटै औँलामा गन्न सकिने मानिसहरूले मात्र यसलाई अप्ठेरो हुन्छ भनेर बुझेका हुन्छन्,” उनले नियमित तस्बिर सङ्कलन गर्न हिँड्दाको अनुभव साटिन्।

कसैको अनुहार समेत हेर्न मन नलाग्ने वा कसैसँग बोल्न नसक्ने स्थितिमा रहँदा कतिपयले “भूत चढेको वा औँसीले छोपेको”जस्ता आरोप लगाउने गरेको उनले बताइन्।

“कतिपयले मानसिक अवस्था ठीक नभएको समेत भनेका छन्,” उनले अरूले बनाउने गरेको धारणाबारे सुनाइन्। र, पीएमएसबारे छुट्टै औपचारिक वा अनौपचारिक शिक्षा दिन आवश्यक ठानेको बताइन्।

परामर्श र थेरापीको बाटो

यस्ता सामाजिक अड्चनहरूका बाबजुद केही महिला आफ्नो पीएमएसका लक्षण नियन्त्रणका निम्ति सहायता खोज्दै आउने गरेको बताउँछिन् मनमोहन मेमोरियल अस्पतालकी मनोविद् पूजन शर्मा।

आफूकहाँ प्राय चिकित्सकहरूमार्फत् सुझाइएका बिरामी आउने उनको कथन छ। “उहाँहरूमा डराउने, निराश हुने वा अधिक रिस उठ्ने”जस्ता समस्या देखिने उनले बताइन्।

“केही समयअघिसम्म शारीरिक समस्या समाधानको मात्र उपाय खोजिन्थ्यो। आजभोलि मनोवैज्ञानिक र मनोसामाजिक समस्याहरूको लागि पनि परामर्श वा चिकित्सा उपाय खोज्दै आउन थालेका छन्। तर पीएमएस भन्ने थाहा पाएर आउनेभन्दा पनि आएपछि पीएमएस हो भन्ने थाहा हुन्छ,” मनोविद् शर्माले भनिन्।

हालसम्म पीएमएसको असर कम गर्नका निम्ति संस्थागत कुनै काम नभएको उनको ठहर छ।

केही बिरामी स्वयं भने सम्बन्धहरूमा दरार उत्पन्न भएपछि वा आफैँलाई हानी गर्ने स्थितिमा पुगेपछि परामर्श वा व्यवस्थापनको अन्य उपायको खोजी गर्दै आउने उनको ठम्याइ छ।

“नब्बे प्रतिशत महिलालाई पीएमएस हुन्छ। कसको सहन शक्ति कति भन्ने कुराले पनि यसको असरमा फरक पार्छ। सँगै अन्य मानिसले आफूसँग तुलना नगरिदिएर, कुरा सुनिदिएर वा बेलामौकामा उसको स्थितिको जाँच गरेर साथ दिन सक्छन्।”

प्रतिकूल शारीरिक तथा मानसिक अवस्थाका बावजुद् काममा सक्रिय रहेर पीडा भुल्न कोसिस गरिरहेकी कामना हुन् वा सम्बन्धहरूलाई थाती राखेर एक्लोपन रोज्ने प्रजीना, उनीहरू सबै चाहन्छन्- ‘आफ्नो समस्यालाई कसैले तुलना होइन समानुभूत गरिदिउन्। चोट नदेखिने रोगको पीडा बुझिदिउन्।’

बीबीसी



Leave a Reply

Your email address will not be published.