चीनमा कोभिड सङ्क्रमण बढेसँगै भारतमा थप सतर्कता

हेल्थपोस्ट नेपाल

छिमेकी चीनमा कोभिड सङ्क्रमण बढेपछि भारतको स्वास्थ्य मन्त्रालयले सतर्कता बढाएको छ।

त्यहाँको सरकारले देशमा भेटिएका सबै सङ्क्रमित को जिनोम सिक्वेन्सिङ गर्न निर्देशन दिएको छ।

केन्द्रीय सरकारले राज्य सरकारहरूलाई क्रिसमस र नयाँ वर्षका बेला सङ्क्रमण फैलन सक्ने भन्दै नियन्त्रणका प्रयासहरू अघि बढाउन पनि निर्देशन दिएको छ।

सन् २०२० र २०२१ मा कोभिडका घातक लहरहरू बेहोरेको भारतमा यो वर्ष भने सङ्क्रमण दर निकै न्यून छ।

सरकारी तथ्याङ्कअनुसार सातामा १,२००को सङ्ख्यामा कोभिड सङ्क्रमणहरू देखिएका छन्।

नेपालको छिमेकी भारतमा दुई अर्बभन्दा बढी मानिसले कोभिड खोप लगाइसकेका छन्।

मङ्गलवार मात्रै केन्द्रीय सरकारले सबै राज्य लाई कोभिड सङ्क्रमण भएका बिरामीहरूबाट नमुना सङ्कलन गरेर स्वास्थ्य मन्त्रालय अन्तर्गतको एक निकायमा पठाउन भनेको छ। उक्त निकायले भारतमा भेटिएका कोभिडका विभिन्न प्रजातिको निगरानी गर्छ।

चीनमा लकडाउन खुकुलो

चीनमा कठोर लकडाउन खुकुलो बनाए लगत्तै कोभिड सङ्क्रमण दर उच्च भएपछि भारतमा पनि पुनः सङ्क्रमित बढ्न सक्ने चिन्तामा सरकारले यस्तो कदम चालेको हो।

सङ्क्रमित हरू उपचारका लागि आउन थालेपछि चीनमा अस्पताल र स्वास्थ्य संस्थाहरूमा चाप बढेको छ।

राज्यहरूलाई पठाइएको पत्रमा भारतका स्वास्थ्य सचिव राजेश भूषणले जिनोम सिक्वेन्सिङ विधिबाट नयाँ भेरियन्टमा निगरानी गर्नु जरुरी भएको उल्लेख गरेका छन्।

“जापान, अमेरिका, दक्षिण कोरिया, ब्राजिल र चीनमा अचानक सङ्क्रमण बढेको” उदाहरण दिँदै उनले निगरानी बढाउन भनेका छन्।

यस्तो प्रयासले नयाँ भेरियन्टमा पहिचान गर्न र त्यसलाई नियन्त्रण गर्न सहयोग पुग्ने उनको दाबी छ।

भारतमा कोभिड निगरानी बढाइयो

भारतका स्वास्थ्यमन्त्री मनसुख माण्डवियले पछिल्लो अवस्थाको समीक्षा गर्दै थप निगरानी बढाउनेबारे वरिष्ठ स्वास्थ्य अधिकारीहरूसँग भेटवार्ता गरेका छन्।

कोभिडको पहिलो दुई लहरमा सबैभन्दा प्रभावित देशहरूमध्ये भारत पनि एक हो। सरकारी तथ्याङ्कअनुसार भारतमा कोभिडका कारण ५ लाख ३० हजार बढीले ज्यान गुमाएका थिए भने दशौं लाख मानिसहरू नराम्ररी प्रभावित भएका थिए।

विज्ञहरूले भने कोभिडका कारण ज्यान गुमाउनेहरूको वास्तविक सङ्ख्या सरकारी तथ्याङ्कभन्दा धेरै रहेको ठान्ने गरेका छन्। महामारीको समयमा मृत्यु भएका कतिपय व्यक्तिले परीक्षण नगराएको र सरकारी आँकडामा समावेश नगरिएको बताइन्छ।

अक्सिजन र संवेदनशील औषधिहरूको अभावका कारण कोभिडको दोस्रो लहरमा धेरै मानिसहरूको मृत्यु भएपछि भारतमा सरकारको व्यापक आलोचना भएको थियो।

बीबीसी



Leave a Reply

Your email address will not be published.