स्यानिटरी प्याड वितरण गरी मनाइयो ‘अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस’

हेल्थपोस्ट नेपाल

सप्तरी – सप्तरीको राजविराजमा आज महिलाहरुलाई स्यानिटरी प्याड वितरण गरेर अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइएको छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत मूल समारोह समितिको आयोजनामा राजविराजस्थित सहिद दशन चोकमा अधिकारकर्मीहरुले स्यानिटरी प्याड वितरण गरेर स्वयम्सेवक दिवस मनाएका हुन् ।

‘स्वयंसेवामार्फत ऐक्यबद्धता’ नाराका साथ बाटो हिंडने महिला र किशोरीहरुलाई प्याडको प्रयोग र उपयोगिताबारे जानकारी दिदै अधिकारकर्मीहरुले लैङ्गिक हिंसा नगर्न र नसहन अपील गरे । गजेन्द्रनारायण सिंह अस्पतालबाट उपलब्ध एक सय २० पोका र ग्रिन नेपालबाट उपलब्ध ८४ पोका स्यानिटरी प्याड वितरण गरिएको ग्रिन नेपालका कोषाध्यक्ष दिपक दासले जानकारी दिए ।

स्वयंसेवाको माध्यमबाट सकारात्मक परिवर्तन ल्याउने सामूहिक मानवताको शक्तिलाई प्रकाश पार्न र महिनाबारी सम्बन्धमा रहेको गहिरो अन्धबिस्वास, डर र मौनतालाई तोडन सडकपेटीमा बसेर स्यानिटरी प्याड वितरण गरिएको इन्सेक प्रतिनिधि मनोहर पोखरेलले बताए ।

महिनाबारीसंग जोडेर कुनै पनि किसिमको छुवाछुत, विभेद, दुव्र्यबहार वा हिंसा गर्न नहुने र मर्यादापुर्बक जिउन पाउनु पर्नेमा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दासले जोड दिए ।

महिनाबारीले हाम्रो वरपर भएका मिथ्या, भ्रम, कुसस्कारलाई फोर्दै, चिर्दै सशक्तिकरण गर्न स्यानिटरी प्याड वितरण गरिएको ओसिएमसीकी फोकल पर्सन मनिषा सिम्खडाले बताए ।

बढ्दो असमानताले उत्पन्न समस्याको साझा समाधान खोज्नको लागि मिलेर काम गर्न आवश्यक छ भनी सन्देश दिन राज्यका प्रतिनिधि र गैरराज्य संघ संस्थाका स्वयंसेवकहरू ऐक्यबद्ध भएर अभियानका सहभागी रहेको आयोजक समितिले जनाएको छ ।

विश्वास, नम्रता, सम्मान र समानताको स्थितिबाट एक अर्कालाई समर्थन गर्दै विकासका लागि ऐक्यबद्ध हुन दिवसले विश्वभरका स्वयंसेवकहरूलाई आव्हान गरेको मिलाफकी अध्यक्ष रमिला साहले बताइन् । सेवा नै धर्म हो अनि स्वयंसेवाबाट आउने आनन्द र सन्तुष्टि अतुलनीय रहेको लायन्स क्लबका डिस्ट्रिक गर्भनर शंकर शारदाले बताए ।

महिनाबारी निषेध, लाज, बार्नुपर्ने अभ्यास वा विभेदका कारण महिनाबारी हुने व्यक्तिको सशक्तिकरण, स्वास्थ्य, शिक्षा, रोजगार, आदिमा अल्पकालिन र दिर्घकालिन रुपमा असर पार्दै सिंगो परिबार र समाजलाई असर पारिरहेको छ । यसैगरी समाज, राष्ट्र अनि विश्वकै विकासमा स्वयंसेवकहरूको ठुलो भूमिका रहेको छ ।

स्वयंसेवा मानवताको पर्याय पनि हो । जीवनको मूल्य भनेको ब्याङ्कमा रहेको पैसा, चढ्ने गाडी, विदेश भ्रमणको सङ्ख्या अनि लगाएका बहुमूल्य वस्त्र भूषण मात्र नभएको भन्दै सहभागी अधिकारकर्मीहरुले निस्वार्थ समाजसेवामा स्वयम्सेवकको महत्वपूर्ण अस्तित्व रहने बताएका छन् ।

कार्यक्रममा प्रहरी उपरिक्षक अविनारायण काफ्ले, राजविराज नगरपालिकाकी अनिता चौधरी, सामुदायिक सेवा केन्द्रका सचिव संजय शर्मा, सहसचिव धिरेन्द्र दास, महिला मानव अधिकार रक्षक सञ्जालकी पुनम पोखरेल, प्रिया सिंह थारु, आसमान नेपालकी शान्ता सिंह, हेल्प मधेशका अध्यक्ष प्रमोद शर्मा, पत्रकारहरु बृजमान तामाङ, रामनाथ यादव, पंकज साहलगायतको सहभागिता रहेको थियो ।



Leave a Reply

Your email address will not be published.