देशभरबाट उत्कृष्ट स्वयंसेविका छनोट गरि पुरस्कृत गरिने

काठमाडौं – आगामी वर्षदेखि देशभरबाट उत्कृष्ट स्वयंसेविका छनोट गरी एक जनालाई सम्मान गर्ने घोषणा भएको छ ।
१९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेको नर्सिङ तथा सामाजिक सुरक्षा महादशाले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य मन्त्रालयकी सचिव दिल कुमारी गुरागाईंले उक्त घोषणा गरेकी हुन् ।
स्वास्थ्य स्वयंसेविका हरुले स्वास्थ्यमा अतुलनीय काम गरेको प्रशंसा गर्दै उनले उनीहरुलाई सम्मान गर्नुपर्ने बताएकी हुन् । ‘नेपालका स्वास्थ्य स्वयंसेविका विश्वमा नै एक उदाहरणीय काम हो । त्यसैले समाजसेवाको भावले गरिएको यस कामको छाप विश्वमा नै परेको छ,’ उनले भनिन् ।
महाशाखाका अनुसार अहिले देशभर ५२ हजार ४३२ जना महिला स्वयंसेविका छन्। स्वयंसेविका हरुले परिवार नियोजन बारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, खोप कार्यक्रम सञ्चालन, भिटामिन ए, जुकाको औषधी, स्वास्थ्य शिक्षा प्रदान जस्ता काम गर्दै आएका छन्।
‘महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रतिवद्धता, स्वास्थ्य प्रवर्धनमा हाम्रो ऐक्यबद्धता’ आज देशभरी विभिन्न कार्यक्रम गरि यो मनाइएको छ । हरेक वर्ष डिसेम्बर ५ तारिखमा मनाउने गरिन्छ।