एचआइभी नियन्त्रणमा आउन संक्रमित स्वयं खुल्नुपर्छ: डा. बुढाथोकी

हेल्थपोस्ट नेपाल

डा. प्रकाश बुढाथोकी

काठमाडौं – एचआइभी संक्रमण निर्मुल पार्न अन्य रोग लागेका व्यक्तिले झै संक्रमित स्वयंमले खुलेर भन्न सक्नुपर्छ ।  समाजले पनि एचआइभी संक्रमण यौन व्यवसाय गर्ने व्यक्तिलाई मात्र लाग्छ भन्ने दृष्टिकोणमा परिर्वतन ल्याउनुपर्छ । यसका लागी सचेतना जगाउनु महत्वपुर्ण हुन्छ ।

यो भाइरस संक्रमित व्यक्तिबाट स्वस्थ मानिसमा यौनसम्पर्कको माध्यमबाट मात्र नभई निर्मुलीकरण नगरिएका सिरिन्ज को प्रयोगबाट, शरीरका अंगहरू प्रत्यारोपण गर्दा, संक्रमित आमाले गर्भधारण गर्दा गर्भमा रहेको बच्चामा सजिलै सर्न सक्दछ। त्यस्तै रगत दिँदा वा लिँदा, सुईको माध्यमबाट ड्रग्स लिदाँ, हजामकोमा जाँदा वा बिरामी भएर अस्पताल जाँदा संक्रमित ले प्रयोग गरेका बिलेट, कैची, चिम्टीजस्ता वस्तुको प्रयोगले पनि यो रोग सर्न सक्छ।

पछिल्लो समयमा भएका खोज अनुसन्धानले विगतको तुलनामा अहिले यौन पेशामा लागेका यौन व्यवसायीमा एचआईभी संक्रमण हुने संख्यामा कमी आएको छ तर पुरै न्यूनीकरण भने भइसकेको छैन। अझै पनि एचआईभी सर्ने कारणहरू बारे जनचेतना फैलाउन आवश्यक छ।

एचआईभी भयावह रोग नभई मधुमेह, उच्च रक्तचाप जस्तै रोग मानेर नियमित औषधि सेवन गरे पूरा आयु बाँच्न सकिन्छ । यो एक किसिमको सरुवा रोग हो। यो रोग लागेपछि शरीरको प्रतिरोधात्मक क्षमता कमजोर भई संक्रमितको शरीरमा जुनसुकै रोगले सजिलैसँग शरीरका विभिन्न अंगहरूमा आक्रमण गर्दछ।

संक्रमित प्रति गरिने व्यवहार

तुलनाात्मक रूपमा अहिले भने नेपाली समाजमा एचआईभी संक्रमित लाई हेर्ने नजर केही बदलिएको छ। तर, नराम्रो बानीकै करणले गर्दा मात्र एचआईभी लाग्छ भन्ने भावनाले नै समाज अझै पनि संक्रमित लाई गलत नजरले हेरिरहेका छ। त्यसैले पनि पोजेटिभ भइसकेका मानिसले आफू संक्रमित हो भनेर भन्न सक्ने अवस्था सिर्जना भइसकेको छैन। यसलाई न्यूनिकरण गर्नका लागि एचआईभी राम्रै बानीका कारणले गर्दा मात्र नभएर विभिन्न कारणले पनि लाग्न सक्छ भनेर बुझाउन आवश्यक छ।

संक्रमितहरू खुल्न नसक्दाको समस्या

लाञ्छना लाग्ने डरले नै संक्रमित हरू समाजमा खुल्न सकिरहेका छैनन्। यही कारणले गर्दा उनीहरूलाई रोगसँगै अन्य विभिन्न समस्याले समेत गाँज्दै लगिरहेको छ।

उनीहरु स्वास्थ्य सुविधाबाट वञ्चित हुनुका साथै यौन साथीहरूलाई समेत संक्रमण सर्ने जोखिम बढि हुन्छ । त्यसैले संक्रमित लाई रोग लुकाउँदा घातक हुन्छ भन्ने कुरा बुझाउन जरुरी छ।

नेपालमा एचआइभी

नेपालमा एचआईभी एड्सको लामो इतिहास छैन । पाँच दशक अघिमात्र पहिलो केस पत्ता लागेको हो। पहिलोपटक संक्रमण देखिएका ती व्यक्ति विदेशी कैदी बन्दी हुन् भन्ने सुनिएको छ । त्यो भन्दा पहिला एड्सलाई अफ्रिकाजस्ता मुलुकमा मात्र देखिने रोग हो भनिन्थ्यो।

बिस्तारै नेपालमा केन्द्रीकृत महामारीका रूपमा एचआईभी देखिन्छ। जोखिम समूहमा एचआईभी संक्रमण दर पाँच प्रतिशतभन्दा बढी तथा सामान्य जनसंख्यामा एक प्रतिशतभन्दा कम हुनु नै केन्द्रीकृत महामारी हो।

नेपालमा सन् २०२० को अन्तसम्म ३० हजार ३ सय व्यक्तिमा एचआईभी संक्रमित रहेको तथ्याकं छ। सन् २०२० मा मात्रै ६ सय ३६ जनाको एड्सकै कारण मृत्य भएको भनिन्छ। सन् २०२१ को जुलाईसम्ममा नेपालमा २० हजार ८ सय ८३ संक्रमित ले एआरभी उपचार लिए। जुन कुल संक्रमित मा ६९ प्रतिशत हो। तर, अझै पनि ३१ प्रतिशत बिरामी उपचार बाहिरै छन्।

नियन्त्रण 

एचआईभी एड्स संक्रमित लाई नेपाल सरकारले एआरटी सेन्टरहरूबाट निःशुल्क औषधि वितरण गरिरहेका छन् । संक्रमित ले नियमित औषधि सेवन गर्ने हो भने समान्य व्यक्ति सरह जीवनयापन गर्न सक्छन्। अझ भन्ने हो भने, उनीहरूले पनि व्यवस्थित जीवन र सुरक्षित यौन जीवन बाँच्न सक्छन्।

नेपालमा विगतका दिनहरू भन्दा एचआईभी एड्सका बिरामीको संख्या घट्ने क्रम छ। नेपाल सरकारले सन् २०३० सम्ममा एचआईभी एड्सलाई पूर्ण रूपमा अन्त्य गर्ने लक्ष्य लिएको छ। यो लक्ष्य प्राप्त गर्न सरकारलाई केहि चुनौती भने छन् । जस्तै स्वास्थ्य सेवा पहुँचको कमी, जनचेतनाको कमी, संक्रमित लाई लाञ्छना लगाउने परिपाटी र विभेद पूर्ण नजरले हेर्ने चलनले गर्दा यो रोग नियन्त्रणमा चुनौती छँदैछन्।

अझै पनि एचआईभीको बारेमा पर्याप्त जनचेतना नहुँदा संक्रमित हरू खुलेर उपचारमा आउन नसकेको अवस्था छ। सरकारले एचआईभी एड्स न्यूनीकरणको कार्यक्रमका लागि छुट्याउने बजेटको पनि अपुग हो कि जस्तो देखिन्छ।

त्यस्तै, सरकारले संक्रमित मध्ये ९० प्रतिशतलाई उपचारको पहुँचसम्म ल्याउने भनेको छ। त्यसका लागि नेपाल सरकारले विभिन्न कार्यक्रम पनि चलाइरहेका छ। तर, नेपाल सरकार एक्लैले मात्र एचआईभी नियन्त्रण गर्न सक्दैन। तपाईं हामी आफ्नो लागि, परिवारको लागि र समाजको लागि सचेत भयौँ भने मात्र भोलिका दिनमा एचआईभी निर्मूल राष्ट्रका रूपमा नेपाल चिनिन सक्छ।

सरकारले हाल ६१ जिल्लाका ८४ एआरटी सेन्टरबाट एन्टीरेट्रोभाइरल उपचार निशुल्क उपलब्ध गराइरहेको छ। यी केन्द्रहरुमा संक्रमित ले औषधि मात्र नभएर परामर्श समेत दिइन्छ।

(डा.बुढाथोकी केन्द्रिय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट हुन्।)

 

 

 



Leave a Reply

Your email address will not be published.