मधुमेहको परिभाषा फेरिएको छ: डा सुकान्ती शाह

हेल्थपोस्ट नेपाल

काठमाडौं- अहिले नेपाल लगायत विश्वमा नै मधुमेहको समस्या बढिरहेको छ । अन्तराष्ट्रिय मधुमेह संघका अनुसार संसारमा ५३७ मिलियन मानिस मधुमेहबाट ग्रसित छन् । सन् २०३० मा यो संख्या बढेर ६४३ मिलियन पुग्ने र सन् २०४५ मा ७८३ मिलियन पुग्ने अनुमान गरिएको छ।
संसारमा प्रत्येक १० जनामध्ये १ जनामा मधुुमेह देखिएको छ । एक अनुसन्धानमा अनुसार करिब ५१ प्रतिशत मधुमेहका बिरामी अहिलेसम्म पहिचान नभएको देखाएको छ। त्यस्तै २५ प्रतिशत जनसंख्यामा प्रि–डाइबेटिज हुने सम्भावना देखिएको छ।

मधुमेहको समस्या अस्वस्थ्यकर खानपान र विलासी जिवनशैलीका कारण बढिरहेको विज्ञहरु बताउँछन् । मधुमेह भनेको के हो? नेपालमा यसको अवस्था कस्तो छ? यसबाट बच्न के गर्ने लगायतका विषयमा विश्व मधुमेह दिवसमा मधुमेह, थाहइरोइड तथा हर्मोन रोग बिशेषज्ञ डा सुकान्ती शाहसँग हेल्थ पोष्टले गरेको कुराकानीको सम्पादित अंश

पछिल्लो समय मधुमेह समान्य समस्या जस्तै भइरहेको छ । वास्तवमा मधुमेह भनेको के हो ? यो कति प्रकारका हुन्छन्?

मधुमेह भनेको सामान्य भाषामा ग्लुकोज अथवा चिनिको मात्रा बढ्नु हो । यो समस्या इन्सुलिन हर्मोनको कमी अथवा इन्सुलिन हर्मोनले राम्रोसँग काम नगरे हुने समस्या हो ।

मधुमेह धेरै प्रकारको हुन्छ । पहिलो भनेको टाइप १ मधुमेह । टाइप १ मधुमेह धेरैजसो २० वर्ष भन्दा कम उमेरको मानिसलाई हुन्छ । यसमा इन्सुलिन हर्मोन बन्द हुने भएकाले उपचारमा पनि इन्सुलिन नै चलाउनुपर्ने हुन्छ । यसमा खाने औषधिले काम गर्दैन । त्यसैगरि टाइप २ भनेको जिवनशैलिका कारण हुने मधुमेह हो । उमेर भन्दा किशोरवस्थादेखि बढी उमेर भएका मानिसलाई पनि हुनसक्छ । १५ देखि जुनसुकै उमेर समुहलाई हुनसक्छ ।

यो समस्या बंशाणुगत कारणले पनि हुनसक्छ । यो रोग जिनमा नै आएको हुन्छ । परिवारमा कसैलाई मधुमेह छ, मोटो भए, उच्च रक्तचाप, उच्च कोलेस्टा«ेल, हार्ट अट्याक भइसेकेको, स्ट्रोक भइसकेको व्यक्तिलाई यस्तो प्रकारको मधुमेह हुने जोखिम हुन्छ ।

त्यसैगरी गर्भावस्थामा हुने मधुमेह हुन्छ । यो विशेषगरी गर्भावस्थामा नै देखिन्छ । पहिलो पटक गर्भवती हुँदा नै मधुमेह देखिन्छ । यो समस्या पनि जिवनशैलीसँग सम्बन्धित नै हो । गर्भावस्थामा धेरै खाने जसका कारण आवश्यक भन्दा बढि तौल बढ्ने, पहिला नै मधुमेह हुने जोखिम थियो भने मधुमेह हुन सक्छ ।

गर्भकालीन अवस्थामा हुने मधुमेहको राम्रो पक्ष भनेको बच्चा जन्मिएपछि मधुमेह निको भएर जान्छ । कुनै कुनै केसमा जिवनभर मधुमेह हुनसक्छ । तर धेरैजसो चाहिँ निको भएर जान्छ । टाइप ४ अथवा अरु प्रकारका मधुमेह पनि हुन्छन् । विशेषगरी नवजात शिशुलाई हुने, सानै उमेरमा हुने साथै कुनै प्रकारको औषधि स्टेरोइडले हुने, अंग प्रत्यारोपणपछि हुने मधुमेहलाई हामीले टाइप ४ मा वर्गिकरण गरेका छौं । विशेषगरी एकदमै सामान्य टाइप २ मधुमेह हो ।

सामान्यतय गुलियो खाँदा नै सुगर हुन्छ भन्ने गरिन्छ यसमा कत्तिको सत्यता छ ?

टाइप १ चिनी खाएर हुने भन्ने हुँदैन । यो अटो इम्युन समस्या हो । टाइप २ अव्यवस्थित जिवनशैली र अस्वस्थ्यकर खानपानले नै हुने हो । जस्तो बढी गुलियो खाने, हामी नेपाली काब्रोहाइडेट खाना धेरै खान्छौं । यो पनि एउटा कारक तत्व हो ।
त्यसमाथि एक्सरसाइज गर्नु हुँदैन, अलिकति मोटो हुनुहुन्छ भने पनि मधुमेह हुन सक्छ । किनभने हामी एसियन मानिसमा बंशाणुगत रूपमै पनि मधुमेह हुने जोखिम बढी हुन्छ । साथै परिवारमा पनि मधुमेह छ भने झनै जोखिम बढी हुन्छ ।

त्यसमाथि हामीले धेरै चिनी खायौं, खाना धेरै खायौं, जिवनशैली राम्रो भएन, धुम्रपान धेरै भयो भने यी सबै कुराले मधुमेह हुने जोखिम बढाउँछ । यदि हामीले यी कुरालाई नकार्न सक्यौं या कम गर्न सक्यौं भने टाइप २ मधुमेहबाट बच्न सकिन्छ ।

हामीले मधुमेह भएको आशंका कस्तो अवस्थामा गर्नुपर्ने हुन्छ ?

टाइप २ मधुमेह एकदमै विकास भएपछि मात्र थाहा पाउन सकिन्छ । ५० प्रतिशतलाई लक्षण नै देखिदैन भने कति जनालाई देखिन्छ । त्यसमा सामान्य लक्षण भनेको तिर्खा बढी लाग्ने, पिसाब लागिरहने, तौल घट्ने वा बढ्दै जाने, त्यसैगरी छाला परिर्वतन र इन्फेक्सन हुने, साना मुसाहरु आउने गर्छ । महिलामा महिनावारी गडबड हुने यस्ता लक्षणहरू देखिन्छन् । यस्तो अवस्थामा एकपटक परिक्षण गर्नुपर्छ ।

मधुमेह रोग लागेपछि शरीरका अन्य भागलाई पनि असर गर्छ?

मधुमेह भनेको एउटा दीर्घकालिन समस्या हो । यसमा खाली रगतमा चिनिको मात्र बढ्ने भन्ने मात्र हुँदैन । त्यहि चिनी बढेर हाम्रो समस्त शरीरमा जटिलता ल्याउँछ । आँखामा ज्योती जाने, ‘डाइबेटिक रेटिनोपेथी’ हुने त्यसै मुटुमा कोलेस्ट्रोल बढ्ने, स्ट्रोक हुने, हार्टअट्याक हुने समस्या बढ्छ । मिर्गौला फेल भई ट्रान्सप्लान्ट गर्नुपर्ने अवस्था समेत आउन सक्छ ।

त्यसैगरी हात खुट्टा झमझम गर्ने, निदाउने लगायत शरीरको समस्त प्रणालीलाई नै असर गर्छ । यदि मधुमेह नियन्त्रणमा छ भने यस्ता जटिलताबाट बच्न सकिन्छ । सुरुदेखि नै हामीले ध्यान दिएनौं भने १० देखि २० वर्षमा यस्तो जटिलता आउन सक्छ ।

मधुमेह भएको दम्पतीमा परिवार योजनामा कुनै असर गर्छ ?

यदि महिलामा गर्भवती हुनु अगाडि मधुमेह छ भने परिवार योजना बनाउनु अघि मधुमेह नियन्त्रण गर्नुपर्छ । यदि उच्च मधुमेह भएकै अवस्थामा गर्भवती भएमा बच्चा र आमा दुवैलाई जोखिम हुन्छ ।

आमालाई गर्भावस्थामा जटिलता देखि आँखाको समस्या, किड्नी, मुटु र रक्तचाप बढ्ने समस्या देखिन सक्छ । भ्रुण खेर जाने, समय अगावै जन्मने हुनसक्छ ।
यी सबै समस्या हुन नदिन सुरुमा मधुमेह नियन्त्रण गरेर नै परिवारको योजना बनाउनुपर्छ ।

नेपालको सन्दर्भका मधुमेहको अवस्था कस्तो छ?
अनुसन्धानहरूका अनुसार शहरी क्षेत्रमा १५ प्रतिशत र ग्रामिण भेगमा ५ प्रतिशत मधुमेहका बिरामी छन् । प्रि–डाइबेटिज लगभग २५ प्रतिशत नै छ । अहिले मधुमेह एकदमै चाडैं फैलिरहेको छ । हाम्रो अस्पतालमा उपचार गर्न एकदमै साना उमेरका पनि आइरहेका छन् । स्कुल जाने बच्चाहरू, १८ बर्ष मुनिका बच्चाहरू पनि अस्पताल आइरहेका हुन्छन् । मुख्यगरी जिवनशैलीका कारण नै यो समस्या बढिरहेको हो ।

अहिले बच्चाहरूलाई खेल्नका लागी ठाउँ छैन । खानेकुरा पनि जंक फुड खुवाइरहेको हुन्छ । जसका कारण मधुमेह ३० वर्ष भन्दा माथिको मानिसमा भइरहेको छ । अहिले जवानहरुलाई पनि मधुमेह भइरहेको छ ।

कोभिडको समयमा मृत्यु हुनेमा संक्रमितमध्ये धेरैजसो मधुमेहका बिरामी थिए भन्ने कुरा आएको थियो नि ?

मधुमेह लागेको अवस्थामा रोग प्रतिरोधात्मक शक्ति कम हुन्छ । सामान्य स्वस्थ्य व्यक्तिमा जुनसुकै प्रकारको संक्रमण भए पनि छिट्टो निको हुनसक्छ । त्यसैगरी मधुमेहका बिरामीलाई कोभिड होस् या डेगुं संक्रमण यस्ता संक्रमण भएमा इम्युन सिस्टमले राम्रोसँग काम नगर्ने भएकाले निको हुन धेरै समय लाग्छ र जोखिम पनि बढी हुन्छ ।

कोभिडको नै कुरा गर्नुपर्दा चाडैं निको हुनका लागी सेरोइड औषधि पनि प्रयोग गर्नैपर्ने हुन्छ । यसले गर्दा पनि अरु प्रकारको मधुमेह समेत आएको हो ।

मधुमेहबाट बच्न वा हुन नदिन के गर्नुपर्छ ?

यो एकदमै सजिलो छ । जिवनशैलीसँग सम्बन्धित समस्या हो । सुरुदेखि नै सावधानी अपनाउनुपर्छ । तौल, बिएमआई (उचाई अनुसारको तौल) व्यवस्थापन गर्नुुपर्छ । त्यस्तै खानेकुरामा पनि ध्यान दिनुपर्ने हुन्छ ।

आफु अलि मोटाइदै गए खाना नियन्त्रण गर्ने, एक्सरसाइज गर्ने, धुम्रपान गर्नुहुँदैन । त्यस्तै जोखिम समुहका व्यक्तिले समय समयमा स्क्रिनिङ गर्नुपर्ने हुन्छ ।



Leave a Reply

Your email address will not be published.