सेतो कोट छोडेर जनता खोज्दै हिडेका ‘नेफ्रोलोजीष्ट’

हेल्थपोस्ट नेपाल

काठमाडौं – अस्पतालमा बिरामीहरुको बिचमा आशाको दियो झै सेतो कोट देखिने डा अर्चन शमशेर राणाको दिनचर्या निकै फेरिएको छ ।

पहिला जनता उनीलाई खोज्दै आउथे भने अहिले उनी जनता खोज्दै हिडेका छन् । आसन्न प्रतिनिधि सभाको चुनावमा काठमाडौं क्षेत्र नं ४ मा स्वतन्त्र (लौरो)बाट उम्मेद्वारी दिएसँगै उनको दिनचर्यामा परिर्वतन आएको हो । ‘स्वास्थ्य शिक्षा युवाको रक्षा’ भन्ने स्लोगनसाथ उनी अहिले जनताको घरदैलोमा पुगिरहेका छन् । काम गर्ने दौरानमा आएका विभिन्न अवरोधका समयमा उनले नीतिगत तहमा सबल र सक्षम व्यक्ति पुग्नुपर्ने महसुस गरेका थिए ।

उनको पुष्ठभुमि

उनी पेशाले मिर्गौला रोग विशेषज्ञ हुन् । काठमाडौं क्षेत्र नं ४ नक्सालमा एक शिक्षित परिवारमा २०३९ सालमा उनी जन्मिएका हुन् । उनी परिवारका कान्छो छोरा हुन् । आर्थिक रुपमा सम्पन्न परिवारमा जन्मिएका उनको बाल्यकाल सुख सयलमा नै बित्यो । उनले नक्सालबाट नै एसएलसी उत्तिर्ण गरे । प्लस टु का लागी भारत गए । २००५ सालमा काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस उत्तिण गरे ।

त्यसबेला नै मिर्गौला रोग बिशेषज्ञ बन्ने चाहना भएकाले नेशनल किड्नी सेन्टरहरुमा जोडिए । त्यँहाबाट नै आफ्नो अभ्यास सुरु गरे । केहि समयपछि बंगलादेशको ढाकामा नेफ्रोलोजी अध्ययन गर्न पुगे । २०१६ मा नेफ्रोलोजीष्ट बने । त्यसबेला राम्रो पढ्नेले डाक्टर वा इन्जिनियर पढ्नुपर्छ भन्ने धारणा थियो । सेवा गर्ने रहर भएर नै डाक्टर बने । उनको परिवारमा पहिलो पटक डाक्टर बन्ने उनी नै हुन् । र राजनीतिमा प्रवेश गर्ने पनि ।

आफ्नो चाहानाले नै डाक्टर बने र अहिले राजनीतिमा प्रवेश पनि आफ्नै चाहानाले गरिरहेका छन् । उनले डाक्टरको रुपमा बिसौ वर्ष बितासके भने मिर्गौला रोग बिशेषज्ञ भएको सात वर्ष भयो । तीनओटा मेडिकल कम्पनी चलाइरहेको छन् । नेपालमा मिर्गौला रोग बिशेषज्ञको रुपमा औलामा गनिने डाक्टरको लिस्टमा आफु पर्ने उनको जिकिर गरे । मेडिकल क्षेत्रमा काम गर्दा कलिला उमेरका बालबालिका जसले देशका लागी केहि गर्न सक्थे उनीहरुले अकालमा जिवन गुमाइरहेको अवस्थाले उनलाई निकै पिराल्थ्यो ।

मिर्गौला रोग बिशेषज्ञ भएर काम गरिरहँदा डायलाइसिस नपाएर बिरामीहरु मरिरहेको अवस्था देखेर ‘स्वस्थ्य मिर्गौला स्वस्थ्य जिवन अभियान’ चलाए । यस अभियान अन्तर्गत केहि काम भएपनि पर्याप्त नभएको उनी बताउँछन् । ‘स्वस्थ्य मिर्गौला स्वस्थ्य जिवन अभियान’का अभियान्ताका रुपमा उनले पाँच बर्ष बिताएका छन् । नेपालको ७७ जिल्लामध्ये ५० जिल्लामा गएर उनीसहितको टिमले शिविर सञ्चालन गरेका छन् ।

उम्मेद्वारी किन ?

देशमा मुहार फेर्न आवश्यक तत्व स्वास्थ्य र शिक्षा र युवा अवस्था निकै दयनीय देखेर राजनीतिमा होमिएको उनी बताउँछन् । ‘८० प्रतिशत काम गर्ने उमेरका युवा विदेशिएका छन् । रेमिटे्न्समा चलेको देश भनिएको छ । त्यसमा पनि ६० प्रतिशत भारतमा गइरहेको छ,’ उनी भन्छन, ‘हाम्रो देश खाल्डोमा गइरहेको छ । राजनैतिक दलप्रतिको वितृष्णाले नै उम्मदवारी दिएको हो ।’

‘रोग लाग्नु भन्दा रोग लाग्न नदिनु नै सबैभन्दा उत्तम उपाय हो भन्ने बुझाउन एकपटक भनेर हुँदैन,’ उनले भने, ‘यसरी रोकथामको क्षेत्रमा काम गर्न खोज्दा माथिल्लो ओदामा बसेका र दिग्गज व्यक्तिले त्यसलाई अस्विकार गरिरहँदा अब परिर्वतन खोज्नुपर्छ भन्ने लाग्यो ।’ जुनसुकै सरकार आएपनि परिर्वतन देख्न नपाएपछि अब युवा नै जाग्नुपर्छ भन्ने उनलाई आभाष भयो । नयाँ नेपाल नयाँ परिर्वतका लागी उनी आफै जुरमुराए ।

त्यसो त उनीलाई अरु बिकल्प नभएको भने होइन् । नेपालमा नै केहि गर्न सकिन्छ भन्ने आत्मविश्वासले उनीलाई विदेशिन दिएको थिएन् ।
काम गर्ने क्रममा बारम्बार रोकिदाँ राम्रो सोच भएको व्यक्ति ‘पोलिसी मेकिङ’मा हुनुपर्ने सोचेका थिए । त्यसैले उनी विकल्पको खोजीमा पुगेका हुन् । विकल्पका लागी र पुराना पार्टि र अनुहारका बिरुद्ध नै आफुले उम्मेदवारी दिएको उनी बताउँछन् ।

आफुले स्वतन्त्र उम्मेदवारी दिन चाहेको अवस्थमा लौरो अभियानमा जोडिन आइपुगेको उनको मत छ । ‘म शिक्षित व्यक्ति छु । मैले आफ्नो क्षेत्रमा आफ्नो अलग पहिचान बनाएको छु । त्यस्तो अवस्थमा देशमा भएको बिकृती बिरुद्ध उभिएको छु,’ उनले भने, ‘जसरी आफ्नो क्षेत्रको काम राम्रोसँग गरेको छु । अर्को क्षेत्रमा पनि त्यसरी नै गर्नेछु ।’ स्वास्थ्य क्षेत्रमा काम गर्दा उनको छाप राम्रो छ । ‘मैले आफ्नो क्षेत्रमा मात्र नभई देशमा नै उदाहरणीय काम गर्ने सोच बनाएको छु,’ उनले भने।

स्वास्थ्यकर्मीमाथि हातपात भइरहेको घटना आइरहदा सेक्युरिटीकोे नाममा युवा विदेशिदा उनको मन दिक्क हुने बताउँछन् । अहिलेको जस्तै स्वास्थ्यकर्मीलाई नेपालप्रतीको बितृष्णा भयो भने अबको पाँँच बर्षमा नेपालमा डाक्टर नर्सको अभाव हुनेमा कोहि गम्भिर नभएको उनको मत छ । ‘अहिले युकेमा २० हजार स्वास्थ्यकर्मी लैजाने बिषयमा सरकार मख्ख छ तर यसको प्रभाब बुझ्न सकेको छैन,’ उनले भने, ‘हाम्रो मुलकमा भएका राम्रा वस्तु सबै बाहिरिएका छन्। अब अब्बल जनशक्तिलाई पनि पठाउदैं छन् ।’

आफुलाई मात्र भएर हुन्न सबैका लागी गर्नुपर्छ भन्ने सोचले राजनीतिमा होमिएको उनी बताउँछन् । राजनीति भनेको दलदल हो । ‘इस् नट अ गुड गेम’ भनेर सुनिदै आएको हो । राजनीतिमा राम्रो व्यक्ति भए राम्रो हुन्छ भन्ने सोच बनाएको उनले बताए ।

परिवारको समर्थन

यसमा उनको परिवारको दरिलो साथ रहेको उनी बताउँछन् । ब्याक बोन भनेको परिवार नै हो । आफुले गरेको काम राम्रो भए परिवारले साथ दिइहाल्ने उनको मत छ । ‘डाक्टर पढ्नेमा पनि सहमत हनुभयो, मेडिकल कम्पनी सुरुवात गर्दा पनि साथ दिनुभयो । अहिले पनि उहाँहरुले साथ दिनुभएको छ,’ उनले भने । सुरुमा उनलाई ‘करिअर’ र ‘इनकम’ राम्रो छ किन राजनीतिमा भनेर परिवारले प्रश्न त उठाएका थिए । तर अहिलेको राजनैतिक अवस्था बुझाउँदा परिवारको समर्थन पाएको उनले बताए ।

निर्वाचन खर्च

चुनावमा धेरै खर्च नगर्ने उनी बताउँछन् । अहिले जनता मासु भातमा बिक्दैनन् खाए पनि भोट हाल्न सहि व्यक्तिको चयन गर्नेमा विश्वस्त भएको बताउँछन् । ‘मैले प्रचार प्रसारमा खासै केहि खर्च गरेको छैन । अहिले जनताले नयाँ अनुहार हेर्न चाहेका छन् । त्यसैले हामी घरदैलोमा जाँदा खुशि भएर स्वागत गरिरहेका छन्,’ उनले भने । परिवार पनि आर्थिक रुपमा बलियो भएकाले परिवारलाई आर्थिक साहायता गन नपर्दा आफ्नो ‘इनकम’ अहिले खर्च गरिरहेको उनी बताउँछन् ।

पाँच वर्षपछि देखिने परिर्वतन

‘मेरो प्राथामिकतामा स्वास्थ्य रहेको छ । मैले जितेको पाँच वर्षमा कुनै पनि बालबालिका दीर्घ रोगका कारण मरेको देख्नु पर्दैन,’ उनले भने । स्वास्थ्यलाई शतप्रतिशत छुट गर्नुपर्छ । त्यसका लागी स्वास्थ्य बिमालाई परिमार्जन गरि व्यापक स्वास्थ्यका रुपमा अघि सार्ने उनले बताए । त्यस्तै सरकारी खर्चबाट हरेक व्यक्तिको हेल्थ रेकर्ड बनाउने उनको योजना छ।

स्वास्थ्यमा बजेट बढाउन दबाब दिएर १० प्रतिशत पुराउने । त्यसबाट यी सबै काम गर्न सकिने उनको योजना छ । त्यस्तै समय समयमा आउने स्वास्थ्य समस्यासँग जुध्ने लगायतका योजना बनाएको उनले बताए । ‘प्राथामिक हेल्थ केयर, सेकेण्डरी हेल्थ कियर र टर्सरी हेल्थ कियर गरी तीन भागमा विभाजन गरेको छु । टर्सरी हेल्थ कियर प्रदेशमा पुराउनेछु,’ उनले भने ।

नेपालमा संरचना छ । टेक्नोलोजीमा अभ्यस्त जनशक्तिको खाँचो छ । त्यसमा काम गर्ने योजना बनाएको छु । त्यस्तै शिक्षामा छुट्याएको बजेट कहाँ गइरहेको छ । अहिलेको बजेट बिनियोजन अनुसार काम हुने हो भने नेपालको शिक्षा विश्वमा नै उत्कृष्ट हुन्छ त्यसमा काम गर्नेछु ।
‘म्यानपावर तालीम अभावका कारण पुरातन शैलीमा शिक्षण भइरहेको छ । विद्यार्थी संख्या भन्दा शिक्षक संख्या बढि भएको विद्यालय पनि छन्,’ उनले भने, ‘यहि बजेटमा नै शिक्षा सुधार गर्न सकिन्छ । सार्वजानिक शिक्षालाई नै गुणस्तरीय बनाउन सकिन्छ ।’



Leave a Reply

Your email address will not be published.