राजनीतिको ‘शल्यक्रिया’ गर्ने ‘डाक्टर–सपना’

हेल्थपोस्ट नेपाल

काठमाडौं – डा. तोसिमा कार्की ‘राजनीतिमा पलाएको ट्युमरको शल्यक्रिया’ गर्न भन्दै चुनावी मैदानमा उत्रिएकी छन्।

पेसाले उनी डाक्टर हुन्। बिरामीको सेवा उनको परम कर्तव्य। कानमा स्ट्रेथोस्कोप लगाएर बिरामीको नारीको गति जाँचेर आफ्नो कर्तव्य पुरा गरिरहँदा राजनैतीक दलका नेताहरु भने कर्तव्य विमुख भएको देख्दा उनको मन खिन्न भएको छ।

देश र समाज सपार्ने अभिभारा बोकेर वर्षौंदेखि राजनीति गरिरहेकाहरू राजनीतिलाई सेवा कम र व्यवसाय बढी बनाएको उनलाई लागेको छ।

त्यही बेथितिहरू सहन नसकेर राजनीतिको अथाह सागरमा हाम्फालेकी छन्, तोसिमा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर ३ मा स्वतन्त्रतर्फबाट उम्मेद्वारी दिएर।

समाजमा भइरहेका बिसंगतीहरूलाई चिरफार गर्न उम्मेद्वारी दर्ता गरेकाे तोसिमा बताउँछिन्।

२०४६ जेठ ७ गते बुद्ध जयन्तीको दिन डा. तोसिमाको जन्म भएको हो। मध्यम वर्गीय परिवारमा पहिलो सन्तानको रुपमा उनी जन्मिएकी हुन्।

सानैदेखि उनी तिक्ष्ण स्वभावकी थिइन्। स्कुले जीवनमा सँधै अब्बल थिइन्। उनी कहिल्यै दोस्रो हुनुपरेन।

अतिरिक्त क्रियाकलापमा पनि तोसिमाको औधी रूची थियो।

उनले ललितपुरको नख्खुमा सहिद धर्मक्त माथेमाकी छोरी रेनु माथेमाले स्थापनमा गरेको सहिद धर्मभक्त स्कुलबाट कखराको सुरूवात गरिन्।

बाल्यकालदेखि नै नेतृत्व गर्न हौसिरहने तोसिमा कक्षा तिनदेखि १० सम्म उनी कक्षा मनिटर भइन्।

सहिद धर्मभक्त स्कुलबाट एसएलसी दिइएर डिस्टिन्क्सनबाट उतीर्ण भएसँगै डाक्टर बन्ने कौतुहलता उनको मनमा पलायो।

र, त्यही सपना बोकेर प्लस टु पढ्न कीर्तिपुरस्थित मोडर्न इन्डियन स्कुल पुगिन्, तोसिमा।

डाक्टर बन्न विज्ञान पढ्न जरूरी थियो। तोसिमाले विज्ञान विषय लिएर प्लस टु पढिन्। त्यहाँ पनि उनले आफ्नो अब्बलता प्रस्तुत गरिन्, प्रथम श्रेणीमा उतीर्ण भएर।

त्यसपछि सुरू भयो उनको डाक्टर बन्ने यात्रा। परिवारको साथ र समर्थन छँदै थियो।

उनका आमाबुबा साक्षर मात्र हुन्। छोरी डाक्टर बन्ने सपना बुवाआमाले पनि बुनिरहेका थिए।

छोरीको चाहना र आफ्नो सपना पूरा गर्न बुवाआमाले तोसिमालाई नजिकैको किस्ट मेडिकल कलेजमा भर्ना गर्न लगाए।

डाक्टर बन्नका लागि भर्नामात्रै काफी थिएन। मोटो रकम आवश्यक थियो। बुवाआमाले हिम्मत हारेनन्। संघर्ष गरे। तोसिमालाई डाक्टर बनाउन खर्च बेहोरे।

बुवाआमाको संघर्ष बुझेकी तोसिमाले पनि मिहिनेत गरेर पढिन्। राम्रो अंक ल्याएर एमबिबिएस उत्तिर्ण पनि भइन्।

स्वास्थ्य क्षेत्र उनको पहिलो रोजाई थियो। बालापनमा मठ मन्दिर जाँदा चोटपटक लागेका बिरामी अशक्त अहसाय मानिसहरु उपचार नपाएर तड्पिएको देखेर ठूलो भएर डाक्टर बन्ने र सबै बिरामीको उपचार गर्ने सोच बनाइसकेकी थिइन्।

उनीसँग सहयोगी भावना त थियो तर सहयोग गर्न सक्ने कुनै उपाय थिएन।

उपचारका लागी चन्दा उठाएको देख्दा उनको मन कटक्क खान्थ्यो। एक दुई रुपैयाँ संकलन गरेर लाखौं कहिले जम्मा गर्लान् र उपचार होला भनेर उनी सोच्थिन्।

उपचार अभावमा अस्पतालको शैय्यामा नुपुगी मुत्युलाई अंगालेका घटनाले उनलाई विक्षिप्त तुल्याउँथ्यो।

त्यसैले उनमा डाक्टर बन्ने रहर पलाएको रहेछ।

सामाजीक वेदना बुझेकी उनले आफ्नो कर्मथलो विकट क्षेत्रलाई बनाउन चाहिन्। विभिन्न कारणवस त्यो सम्भव भएन्।

तर राजधानी बाहिरको नेपाल हेर्न उनी झापा पुगिन्। झापामा दुई वर्ष मेडिकल अफिसरको रुपमा सेवा दिइन्।

त्यसपछि उनले स्नातकोत्तर सुरु गरिन्। उनलाई सर्जरीमा विज्ञता हासील गर्नु थियो। भाग्यवस उनले रोजेको क्षेत्रमै पढ्ने मौका पाइन्।

काठमाडौं युनिर्भसिटी स्कुल अफ मेडिकल साइन्सबाट उनले सर्जरीमा स्नातकोत्तरको पढाइ पूरा गरिन्।

त्यसपछि पाटन अस्पतालमा जनरल सर्जनको रुपमा उनको यात्रा सुरु भयो।

एमबीबीएस डाक्टरको रुपमा तीन वर्ष र सर्जनको रुपमा एक वर्ष काम गरेकी उनी अहिले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएर चुनावको मैदानमा उत्रिएकी छन्।

स्वास्थ्य राजनीतिमा उनले गरेको उपलब्धि

मूलधारको राजनीति नगरे पनि स्वास्थ्य क्षेत्रको राजनीति डाक्टर पढ्ने बेलादेखि नै सुरू भइसकेको थियो, तोसिमाको।

मेडिकल विद्यार्थीको भर्ना शुल्कसम्बन्धी मुद्धा उठाउने बेला उनी अग्रपंक्तिमा थिइन्।

त्यस्तै त्रिभुवन विश्वविद्यालयअन्तर्गतका निजी मेडिकल कलेजहरुमा मनोमानी ढंगले पैसा असुल गरिन्थ्यो। मेरिट भर्ना हुदैन थियो।

मेरिट भर्ना स्थापित गर्न र भष्टाचार अन्त्य गर्नका लागि उनी सहितको समुहले दुईओटा मुद्धा हालेका थिए।

२ वर्ष मुद्धा लडेर एकपटक मेरिट भर्ना स्थापित भएको थियो। अर्कोपटक निर्धारित भर्ना शुल्क स्थापित भएको थियो।

समयअनुसार प्रवेश गरेको क्षेत्रमा रहेका बेथिति अन्त्यका लागि उनले सम्बन्धित क्षेत्रको मुद्दा उठान गरिरहिन्।

इन्टर्न छँदा इन्टर्नहरूको हकहितका लागि आवाज उठाइन्। संघर्ष गरिन्।

मेडिकल अफिसरको रुपमा मेडिकल क्षेत्रमा आफ्नो करिअर सुरु गर्दैगर्दा डाक्टरमाथि हुने हातपात र अस्पताल तोडफोडजस्ता घटनाले तोसिमालाई पिरोलिरहन्थ्यो।

स्वास्थ्यकर्मी जस्तो संवेदनशिल पेसाकर्मी नै सुरक्षित छैनन् भने आमजनताको स्थिति के होला प्रश्न उनको मनमा उब्जिरहन्थ्यो।

स्वास्थ्यकर्मीमाथि भइरहने हातपातका घटना रोक्ने अभियानमा अग्रपंक्तिमा उभिइरहन्थिन्, उनी।

स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीसम्बन्धि सुरक्षा ऐनमा ‘जेल विद्आउट बेल’ को अवधारणा लिएर एउटा ऐन स्थापित गर्न उनले खेलेको भुमिका महत्वपुर्ण छ।

२०७२ असोज ७ गते चरिकोटमा स्वास्थ्यकर्मीमाथि हातपात भएपछि यो अभियान सुरु भएको थियो। सात बर्षपछि केहि महिना अघि ऐन बनेर आएको छ।

भदौ २ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लामा कार्यरत डाक्टरलाई असपतालकै एक कर्मचारीले कुटपिट गरेपछि यसलाई नजिरको रुपमा हेरिएको छ।

अहिले त्यसमा मेडिकल क्षेत्रका विभिन्न संस्था नेपाल मेडिकल एसोसिएसनदेखि लिएर अन्य संस्थाहरुको ठूलो हात छ।

उनी नेपाल मेडिकल काउन्सिलको केन्द्रिय सदस्य पनि हुन्। केन्द्रिय सदस्य हुँदा उनले अत्याधिक मत ल्याएकी थिइन्।

तोसिमा चिकित्सकहरुका लागि नीति बनाउने काममा जुटेकी छन्।

नीति बनाउने तहमा नपुग्दै सुधारका लागि पहल गरिरहेकी उनी त्यहाँ पुगेर प्रत्येक नागरीकलाई स्वास्थ्यको पहुँचमा ल्याउनसक्ने आत्मविश्वास लिएकी छन्।

पारिवारीक पृष्ठभुमि

तोसिमाको पारिवारिक पृष्ठभूमि राजनीतिभन्दा इतर छ।

परिवारमा पहिलो डाक्टर बनेकी तोसिमा राजनीतिमा प्रवेश गर्ने पहिलो सदस्य हुन्।

उनको परिवारले राजनीतिलाई सधैं फोहोरी खेल नै देखेको छ। हरेक व्यवस्था आउँदा सबै दललाई मौका दिए पनि अवस्था ज्यूँकात्यूँ रहेकाले उनको परिवारले राजनीतिलाई हेर्ने दृष्टिकोण फरक छ।

समय समयमा भ्रष्टाचारका घटना बाहिरिँदा राजनीतिमा आफ्ना छोराछोरी नलागुन् भन्ने सोँच थियो, उनको परिवारको।

अभिभावकले राजीतिबाट टाढा राख्दाराख्दै पनि तोसिमा त्यो यात्रामा अगाडि बढिसकेकी छन्। आफ्नो यो नयाँ सुरूवातका लागि उनले अभिभावकहरूलाई विश्वासमा लिइसकेकी छन्।

‘अहिलेको अवस्थमाा मलाई उहाँहरुको सर्पोट छ। उहाँहरुले मेरो नियत, मिहिनेत र काममाथि विश्वास गर्नुहुन्छ,’ तोसिमा भन्छिन्।

जनसेवाको भावनाका साथ त्यसमा खडा उत्रिने प्रण लिएर अघि बढेको उनी बताउँछिन्।

डाक्टर छाडेर राजनीतिमा किन?

डाक्टर भएकै कारणले स्वास्थ्य क्षेत्रलाई राम्रोसँग बुझेकाले राजनीतिमा आएको उनी बताउँछिन्।

‘म डाक्टर भएर मेडिकल काउन्सिलमा काम गरिरहँदा नीतिगतस्तरमा काम गर्ने विषयलाई बुझेकी छु,’ उनले भनिन्।

स्वास्थ्य क्षेत्रको अभियानमा जुट्दा समस्या र समाधान बुझेकाले राजनीतिमा प्रवेश गर्नैपर्छ भन्ने भावना जागृत भएको उनले बताइन्।

तोसिमा भन्छिन्,‘अर्को पाँच वर्षमा यो समस्या विकराल भएर जानसक्छ। यसको विज्ञको रुपमा आफूलाई अघि सारिरहँदा मैले आर्जन गरेको चिकित्सा शिक्षा, क्षमता र सिपलाई उपयोग गरेर स्वास्थ्य सेवामा एउटा उचित नीति बनाएर कार्यन्वय गर्ने हो।’

डाक्टर भएर काम गर्दा केही बिरामीलाई निको पार्न सकिए पनि समग्र स्वास्थ्य क्षेत्रलाई सुधार गर्न आफू यो यात्रामा अगाडि बढेको तोसिमा बताउँछिन्।

‘जनरल सर्जन भएर केही बिरामीलाई निको गर्न सकिएला। तर समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि राजनीतिकै शल्यक्रिया गर्नुपर्ने देखेँ, त्यसैले राजनीतिमा आएकी हुँ,’ उनी भन्छिन्।

राजनीतिभित्र पलाइरहेको ट्युमरलाई शल्यक्रिया गरेर जरैदेखि फाल्नुपर्ने उनी बताउँछिन्।

उनी भन्छिन, ‘इमान्दार युवा नेतृत्वले राजनीतिभित्रकोे ट्युमर फाल्न सक्छ। हामी प्राविधिक हिसाबले धेरै अगाडी छौं।’

चिकित्सा शिक्षा लिइरहँदा अनुसन्धान, प्रमाण र प्रविधिमा आधारित भएर हासील गरेको ज्ञानको उपयोग गरेर देशको विकासमा टेवा दिनसक्छु भनेर राजनीतिमा आएको उनले बताइन्।

‘अहिले ब्रेन ड्रेन भइरहेको छ। हामीसँग ब्रेन छ तर राज्यले उनीहरुलाई चिन्न सकिरहेको छैन,’ तोसिमा भन्छिन्,‘ उनीहरुलाई देशभित्र अवसर, सम्भावना र भविष्य देखाइएको छैन। जसका कारण उनीहरु पलायन भइरहेका छन्।’

विदेशिएका नेपालीलाई देशभित्र ल्याउने र घरघरमा युवा रोजगारी सिर्जना गर्न माध्यामिक तहमा नै ‘स्किल बेस्ड’ शिक्षा दिएर ‘ब्रेनलाई मनीमा’ रुपान्तरण गर्ने योजना रहेको उनले सुनाइन्।

‘वास्तवमा हामी गरिब छैनौं । यहाँ आर्थिक क्रान्ति जरुरी छ,’ उनले भनिन्, ‘आर्थिक क्रान्ति बौद्धिक क्रान्तिले ल्याउँछ। बौद्धिक क्रान्ति युवाहरुले गर्छन्। युवा प्रविधि, बौद्धिक र उद्यमशिलताको हिसाबले धेरै अगाडी छन्।’

स्वास्थ्य क्षेत्रमा मात्रै होइन आर्थिक र सामाजिक क्षेत्रहरू पनि समस्यै समस्यामा जकडिएको तोसिमालाई लागि रहेको छ। त्यसैले नीति बनाउने ठाउँमा पुगेर त्यसलाई सपार्न चाहिरहेकी छन्, उनी।

‘स्वास्थ्य क्षेत्रलगायत समग्र रुपमा नेपालको अवस्था एकदमै दयनीय देखेँ। यी समस्याहरु समाधान गर्न सकिने छन्,’ उनी भन्छिन्,‘पाँच वर्षमा इमान्दारीका साथ नियम र निर्देशिका मात्र पछ्यायौं भने पनि समस्या समाधान गर्न सम्भव छ। त्यो बुझेर उनी राजनीतिमा आएको हो।’

उनीसँग ठूला सपना छैनन्। आधारभुत विषयमा हामेर्वक गर्ने योजना रहेको उनको छ।

घरघरमा देखिन थालिएको डेंगु सक्रमाबाट बच्नसमेत सरोकारवाला निकायले जनचेतना फैलाउन नसकेकोमा उनको मन खिन्न बनेको छ।

‘अहिले डेंगुका बिरामकिा लागी रगत आवश्यक परेर खोज्न थाले प्राय अस्पतालमा रगत पाइरहेको छैन। यो गर्न सकिने काम हो तर किन भइरहेको छैन भने स्वास्थ्यलाई बुझेका मान्छे ठाउँमा पुगेका छैनन्,’ उनले भनिन्।

स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यलाई बुझेका विज्ञहरु जानुपर्ने उनको मत छ।

उनका एजेण्डा

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचः ‘राष्ट्रीय मौलिक स्वास्थ्य सेवा मोडल’ बनाएर २०८०–८५ लाई स्वास्थ्य क्षेत्रको ‘स्वर्णिम पञ्च वर्ष’ बनाउन स्वास्थ्यको बजेटलाई १०% ले वृद्धि गर्ने योजना, तोसिमाको छ।

त्यस्तै आकस्मिक स्वास्थ्य सेवाका लागि ‘हेल्थ लोन’, स्वास्थ्य संस्थाहरुमा चिकित्सकलगायत स्वास्थ्यकर्मीको दरबन्दी बढाउने साथै तोकिएका निःशुल्क औषधिहरु पर्याप्त मात्रामा उपलब्धता सुनिश्चित गराउने उनको प्राथमिकतामा छ।

चुनाव जिते स्वास्थ्य विमा योजना वैज्ञानिक र प्रभावकारी बनाउन पहल गर्ने इलेक्टोनिक मेडिकल रेकर्ड सिस्टमको विकास गरी राष्ट्रिय परिचयपत्रसंग आवद्ध गराउन चाहेकी छन्, उनले।

प्रत्येक प्रदेशमा कम्तीमा एउटा सम्पूर्ण विशेषज्ञ अस्पताल सञ्चालनमा ल्याउने, प्रत्येक अस्पतालमा ब्लड बैंक, फार्मेसी र एम्बुलेन्स सेवा उपलब्धता सुनिश्चित, जेष्ठ नागरिक तथा फरक क्षमता भएकाहरुका लागि आवश्यक उपलब्धताको सनिश्चितता गराउन उनको एजेन्डा छ।

स्वदेशी औषधि तथा स्वास्थ्य सेवा सामाग्रीको स्तरोन्नती र उत्पादन बढाउन स्वदेशी उत्पादकलाई कर छुट लगायतको व्यवस्थालाई प्रोत्साहन गर्ने उनी बताउँछिन्।

एकीकृत राष्ट्रीय ट्रमा तथा दुर्घटना व्यवस्थापन प्रणाली बनाउनुका साथै हेल्थ कल सेन्टर, वडा तथा अर्वन हेल्थ सेन्टर, विपन्नलाई १० प्रतिशत शैय्या छुट्याउने योजना उनको रहेको छ।

ललितपुर विशेष

कलाको सहर ललितपुरका सांस्कृतिक सम्पदाको संरक्षणका लागि कला संस्कृति विज्ञहरूको समिति बनाएर सांस्कृतिक सम्पदा संरक्षणका राष्ट्रिय नीति बनाउने एजेन्डा उनले बोकेकी छन्।

विकास तथा आधुनिकिकरणमा सांस्कृतिक सम्पदाको जगेर्ना, प्रादेशिक सिप तालिम केन्द्र स्थापना गरि सो व्यवसाय गरिरहेकाहरुलाई प्रशिक्षक बनाउने योजना अघि सारेकी छिन्।

मुर्तिकला, हस्तकला, काष्ठकला, धातुकला लगायतका पुरातात्विक कला विज्ञहरुलाई सम्मान र प्रोत्साहन गर्न चाहेकी छन्, उनी।

पाँच वर्षपछिको अवस्था

पूरा गर्न नसकिने कुनै पनि योजना आफूसँग नरहेको उनको भनाइ छ। अहिले भएका नीति नियमबाटै धेरै काम गर्न सकिने उनको विश्वास छ।

उनी भन्छिन, ‘मसँग गर्न नसकिने कुनै योजना छैन। ठुला सपना छैन। भएका नीति नियम र स्रोत साधन उपयोग गरेर गर्न सकिने योजनाहरू छन्।’

१० प्रतिशत बजेट छ्ट्याएर सहि ठाउँ, सहि तरिका, सहि नीति र सहि नियतले खर्च गरे आफ्ना योजना सम्भव देखेको उनी बताउँछिन्।



Leave a Reply

Your email address will not be published.