घाइते शरीर लिएर न्याय खोज्दै काठमाडौं आइपुगे डा. साह

आफ्नै अस्पतालका कर्मचारीले कुटपिट गर्दा घाइते भएका डा. करण साह न्याय माग्न काठमाडौं आएका छन्। घाइते शरीरसँगै काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले भयरहित वातावरणमा स्वास्थ्यकर्मीहरूलाई कामको वातावरण मिलाइदिन आग्रह पनि गरेका छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लामा कार्यरत डा. साहमाथि भदौ २ गते त्यहीका एकजना कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका थिए। उनको टाउको र नाकमा चोट लागेको छ।
काठमाडौंमा उनलाई नेपाल चिकित्सक संघले सहजीकरण गरिदिएको छ।
के भएको थियो त्यो दिन?
भदौ २ गते बिहान नौ बजेतिर जुम्लाको कर्णाली विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा एक अधवैशे पुरुष (प्रतिष्ठानका कर्मचारी धनबहादुर शाही) आफ्नो छोरा बोकेर आइपुगे।
उनले आकस्मिक कक्षमा रहेका डा. करणलाई आफ्नो छोराको घाउमा लगाइएको टाँका काटिदिन भने।
तर डा. साहले भने आकस्मिक कक्षमा टाँका काट्ने औजार नभएको र त्यहाँ काट्दा जोखिम हुने बताए र ओपिडिमा काटौंला भन्दै १० बजेपछि आउन भने। तर शाहीले मानेनन् र ढिपी गर्दै तत्काल काट्न भनिरहे।
डा. साहले त्यहाँ कुनै सामग्री नभएका कारण बच्चालाई अरू जोखिम हुने कुरा सम्झाउन-बुझाउन खोजे। तर शाहीले कुनै कुरा सुनेनन्। बरू जङ्गिदैं उनी बाहिर निस्किए।
केही बेरमै उनी फेरि प्रशासनका अर्का एकजना कर्मचारीलाई लिएर आइपुगे। आकस्मिक कक्षमा त्यसपछि उनी डा. साहसँग वादविवाद गर्न थाले।
प्रशासनका व्यक्ति पनि डाक्टरहरूसँग बाझ्न थाले। गालीगलौच गर्न थाले। त्यहाँ अर्का एकजना डाक्टर दीपक पनि थिए। डा. साहले शान्त हुन र जथाभावी नबोल्न भनिरहेका थिए। तर उनीहरूले मानेनन् र तथानाम गाली गर्न थाले।
उनीहरूले टाँका तत्कालै काट्न जवर्जस्ती गर्न थालेपछि डा. साहले यहाँ हुँदैन बाहिर जानुस् भने। त्यसपछि डा. साहलाई अश्लील गाली गर्दै उनिहरूले हातपात गरेका थिए।
अहिले उनको टाउको र नाकमा चोट लागेको छ। त्यहाँ प्रारम्भिक उपचार गराएर उनलाई काठमाडौं ल्याइएको हो।
अस्पतालमा तोडफोड हुने र डाक्टरमाथि हातपात भएको यो पहिलो घटना होइन। तर स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि (पहिलो) संशोधन ऐन २०७९ आएपछिको घटना हो।
प्रतिष्ठानमा भएको यो घटनाले उक्त ऐनको दफा ३ को उपदफा (ग)लाई आकर्षित गर्छ। दफा ३ को उपदफा (ग) बमोजिम स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोट पुर्याउन नपाइने उल्लेख छ।
उक्त ऐनकै आधारमा डा. साहमाथि हातपात गर्ने प्रतिष्ठानका कर्मचारी धनबहादुर शाही भदौ २ गते नै पक्राउ परिसकेका छन्।
यो ऐनअनुसार दोषीलाई ३ वर्षको सजाय वा ३ लाख रूपैया जरिवान वन दुवै सजाय पनि हुनसक्छ।
डा. शाहमाथि कुटपिट भएको घटना बाहिरिएपछि नेपाल चिकित्सक संघका प्रतिनिधि त्यही दिन जुम्ला पुगेका थिए।
संघका केन्द्रीय उपाध्यक्ष डा. अनिलविक्रम कार्की, महासचिव डा. बद्री रिजाल र कोषाध्यक्ष डा. प्रकाश बुढाथोकी जुम्ला पुगेर घटनाबारे बोलेका थिए।
उपाध्यक्ष डा. कार्कीका अनुसार बिहान नौ बजे भएको घटनाको बारेमा दिउँसो चार बजेसम्म किटानी जाहेरी लिएका थिएनन्। उल्टै पीडितको केश कमजोर बनाउने किसिमका गतिविधि भएको उनले बताए।
संघका अध्यक्ष डा. लोचन कार्कीले नयाँ ऐन आएपछिको यो घटना स्वास्थ्यकर्मी सुरक्षाको सवालमा नजीर बनेको बताए।
‘कहिलकाहीँ डाक्टरबाट पनि गल्तीहरू हुन्छन्। तर हातपात र तोडफोड गर्न पाइँदैन। कानुनी बाटो समाउनुपर्छ’ उनले भने।
घटनालगत्तै बाहिरिएको भिडियो फुटजमा डा. साहमाथि हातपात भएको प्रस्टै देखिन्छ। घटनालगत्तै सिसिटिभीको त्यो फुटेज सामाजिक सञ्जालहरूमा भाइरल भएको थियो।
यस्ता घटनाले चिकित्सकको मनोबल घट्ने र जोखिम मोलेर उपचार गर्न बाध्य नहुने चेतावनी पनि डा. कार्कीले दिए।
‘त्यसको सिधा असर र प्रभाव त विरामीलाई नै हुने हो’ उनले भने ‘कानुनी बाटोहरू छोडेर यस्ता गतिविधि गर्नेहरूमाथि कडा कारबाही हुनुपर्छ।’
दुई महिनाअघि जुम्ला पुगेका २८ वर्षीय डा. साह महोत्तरी जलेश्वरका हुन्। नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबिबिएस गरेका उनले आफूले दुर्गममा सेवा गर्ने सोच लिएर जुम्ला गएको बताए।