प्रदूषणको उच्च जोखिममा लुम्बिनीको द्वार भैरहवा

हेल्थपोस्ट नेपाल

भैरहवाको प्रमुख सहर सिद्धार्थनगर प्रदूषणको चपेटामा पर्दै गएको छ । भैरहवा स्थलमार्ग हुँदै पर्यटक भित्रिने प्रमुख नाका हो । गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वारका रूपमा रहेको भैरहवा पछिल्लो समय बढ्दो सहरीकरणसँगै, धुलो, धुवाँले प्रदूषणको उच्च जोखिममा परेको छ ।

युनिभर्सिटी अफ न्यु मेक्सिको नेपाल स्टडी सेन्टरको प्राविधिक सहयोगमा भैरहवास्थिति निमा–प्रतिमान स्मृति प्रतिष्ठानले गरेको खोज–अनुसन्धानको रिपोर्टले भैरहवा प्रदूषणको उच्च चपेटमा रहेको देखाएको छ । प्रतिष्ठानले सन् २०१७ को डिसेम्बरदेखि अनुसन्धान थालेको थियो । प्रतिष्ठानले इन्डोर (कोठाभित्र) र आउटडोर (कोठाबाहिर खुला आकाशमा) प्रदूषणका विषयमा खोज–अनुसन्धान गरिरहेको छ । यसमध्ये इन्डोर प्रदूषण खोजको रिपोर्ट आइसकेको छ भने आउटडोर प्रदूषणबारे खोज–अनुसन्धान जारी रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले सन् २०१७ मा भैरहवा बजार क्षेत्रका दुई स्थानमा प्रदूषण मापन केन्द्र जडान गरेर इन्डोर प्रदूषणको तथ्यांक संकलन गरेको थियो । तथ्यांकअनुसार भैरहवाको इन्डोर वायुप्रदूषणको सूचक ३ सय ५० देखि ४ सयसम्म पुगेको पाइएको छ । सामान्यतः १ देखि ५० सम्मको वायु सूचकलाई स्वच्छ र राम्रो मानिन्छ । वर्षायाममा वायु गुणवत्ता सूचकांक १ देखि ५० भित्रै थियो भने सुक्खायाममा उक्त सूचकांक २ सय ५० देखि २ सय ७५ पाइएको थियो । रिपोर्टअनुसार यस क्षेत्रमा कोठाभित्रको हावा पनि प्रदूषित देखिएको छ ।

पर्यावरणी दृष्टिले महत्वपूर्ण मानिने डन्डाखोलामा बढेको प्रदूषणले कृषि उत्पादनमा समेत प्रभाव परेको छ । सिँचाइका लागि समेत प्रयोग हुने यो खोलाको पानीमा अत्यधिक मात्रामा आर्सेनिक भेटिएको थापाले बताइन् । आर्सेनिकयुक्त पानीका कारण उत्पादनमा कमी आउने र स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने थापा बताउँछिन् ।

सन् २०१८ को डिसेम्बरदेखि आउटडोर प्रदूषण मापन गर्ने मेसिन पनि प्रतिष्ठानले जडान गरेको छ । प्रतिष्ठानले भैरहवा, धकधई र बुटवल गरी ३ क्षेत्रमा प्रदूषण मापन यन्त्र जडान गरेको छ ।

भैरहवामा वायु प्रदूषणसँगै नदी प्रदूषण पनि बढेको छ । सिद्धार्थनगर नगरपालिका क्षेत्र हुँदै बग्ने डन्डाखोला पनि प्रदूषणको चपेटमा परेको छ । डन्डाखोला सहरको फोहोर विसर्जन गर्ने स्थल बनेको छ । भैरहवा क्षेत्रको प्रदूषण अध्ययन गरिरहेको प्रतिष्ठान पछिल्लो समय डन्डाबचाउ अभियानमा पनि लागेको छ । प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाका अनुसार अहिले अमेरिकी वैज्ञानिकहरूको सहयोगमा डन्डा इकोलोजिकल मनिटरिङ कार्यक्रम पनि सुरु गरिएको छ ।

पर्यावरणी दृष्टिले महत्वपूर्ण मानिने डन्डाखोलामा बढेको प्रदूषणले कृषि उत्पादनमा समेत प्रभाव परेको छ । सिँचाइका लागि समेत प्रयोग हुने यो खोलाको पानीमा अत्यधिक मात्रामा आर्सेनिक भेटिएको थापाले बताइन् । आर्सेनिकयुक्त पानीका कारण उत्पादनमा कमी आउने र स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने थापा बताउँछिन् ।

डन्डाखोलालाई जोगाउन अहिले नगरपालिकाले पनि अभियान थालेको छ । नगरक्षेत्रभित्र १५ किलोमिटरमा नगरपालिकाले पर्यटकीय केन्द्र बनाउने योजना सार्वजनिक गरेको छ । नगरपालिले खोलालाई पार्कको रूपमा विकास गर्न खोजेको बताएको छ ।

भैरहवा क्षेत्रमा देखिएको यो प्रदूषणको जोखिमले यस क्षेत्रको पर्यटनमा समेत प्रभाव पार्ने देखिएको छ । औद्योगिक करिडोर, निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र सडक परियोजनाका कारण यस क्षेत्रमा प्रदूषण बढेको हुन सक्ने थापा बताउँछिन् । प्रदूषणलाई सामान्य रूपमा लिन नहुने बुझाइ थापाको छ । समयमै प्रदूषण नियन्त्रणमा सरोकारवाला निकायले ध्यान दिनुपर्ने थापा बताउँछिन् ।



Leave a Reply

Your email address will not be published.