प्रधानमन्त्रीले नियुक्ति फुकाएपछि स्वास्थ्यमन्त्रीको मुड– ‘सरकारबाट हट्ने सोच छैन’
उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आइतबार विराटनगर पुगेर भने, ‘सरकारबाट हट्ने सोच छैन ।’ तराई–मधेसको पछिल्लो राजनीतिक अवस्था र पार्टी संघीय समाजवादी फोरमको भागमा परेको मन्त्रालयका काममा प्रधानमन्त्री र नेकपाबाट यसअघि असहयोग खेप्दै आएका मन्त्री यादवको पछिल्लोपटक यस्तो भनाइ आएको हो ।
यसलाई मन्त्रालयका अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धन सहज भएपछिको उत्साहका रूपमा व्याख्या गरेका छन् । खासगरी ओलीभन्दा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको सम्बन्धनका कारण सरकारमा सहभागी भएका र टिकिरहेका मानिने यादवको लामो समयदेखि रोकिएका काम भएपछि प्रधानमन्त्रीसँग सम्बन्ध सुध्रिएको संकेत देखिएको मन्त्रालयका अधिकारीहरू बताउँछन् । ‘दुई दिनमै मन्त्रीको उत्साह अर्कै छ,’ नाम उल्लेख गर्न नचाहने मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘आइतबारै धरानको अवस्था बुझ्न र नयाँ उपकुलपतिको खोजीका लागि मन्त्री धरान लागेका छन् ।’ सोहीक्रममा उनले विराटनगर विमानस्थलमा सरकार नछाड्ने प्रतिक्रिया दिएका थिए ।
मन्त्रालयका एक उच्च अधिकारीका अनुसार सात महिनादेखि रोकिएको चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठानलगायतका पदाधिकारी नियुक्तिमा भागबन्डा र बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानका उपकुलपति हटाउने लामो समयदेखिको चाहनामा प्रधानमन्त्रीको साथ पाएपछि यादव थप उत्साही बनेका हुन् ।
यद्यपि, मन्त्रालयअन्तर्गत रोकिएका धेरै सिफारिस र मन्त्रालयको काममा नेकपानिकट कर्मचारीको असहयोगको अवस्था अन्त्य हुने–नहुने हेर्न भने समय लाग्न सक्छ । सात महिनाअघि रिक्त उपकुलपतिमा आफूनिकट डा. डिएन साहको नियुक्ति निर्विकल्प हुने गरी उनले सिफारिस गरेका थिए । उक्त सिफारिस सात महिनासम्म अड्काएर प्रधानमन्त्री ओलीले अधिकांश पदाधिकारी नेकपाको भागमा पारेपछि बल्ल शुक्रबार यो विषय टुंगोमा पुगेको छ ।
संविधान संशोधनको वचन पाएर सरकारलाई समर्थन गरेको राजपाले समर्थन फिर्ता लिइरहँदा त्यस्तै सहमतिमा सरकारमा सामेल भएको फोरम पनि सरकारबाट हट्छ कि भन्ने प्रश्न स्वाभाविकै थियो । त्यसलाई चिर्दै यादवले राजपासँग राजनीतिक, कार्यगत सहकार्य भए पनि त्यसका लागि सरकार छोड्नुपर्ने सर्त मान्य नहुने प्रतिक्रिया दिए ।
संविधान संशोधनको वचन पाएर सरकारलाई समर्थन गरेको राजपाले समर्थन फिर्ता लिइरहँदा त्यस्तै सहमतिमा सरकारमा सामेल भएको फोरम पनि सरकारबाट हट्छ कि भन्ने प्रश्न स्वाभाविकै थियो । त्यसलाई चिर्दै यादवले राजपासँग राजनीतिक, कार्यगत सहकार्य भए पनि त्यसका लागि सरकार छोड्नुपर्ने सर्त मान्य नहुने प्रतिक्रिया दिए ।
मन्त्रीनिकट स्रोतका अनुसार हतपत्त यस्ता विषयमा प्रतिक्रिया नदिने स्वभावका यादवको सरकार छाड्दैनौँ भन्ने प्रक्रियाका पछाडि पछिल्लो दिनमा प्रधानमन्त्रीसँगको सहज सम्बन्ध र केही सहमतिले पनि काम गरेको छ, जसअनुसार बाँकी पदमा नियुक्ति र मन्त्रिपरिषद्मा रोकिएका कामसमेत अब फटाफट हुन्छन् भन्ने विश्वास मन्त्रीले सहयोगीसँग व्यक्त गरेका थिए ।
६ महिने प्रगति सार्वजनिक गर्नेक्रममा मन्त्री यादवले मन्त्रालयले अगाडि बढाउन खोजेका योजना र सिफारिस रोकिएकोमा असन्तुष्टि जनाएका थिए । उनले यस्तै अवस्था कायम रहे सरकार छोडेर सडकमा फेरि पनि आउनुपर्ने अवस्था आउन सक्ने संकेतसमेत गरेका थिए । उनले प्रदेश तहमा अति विशिष्ट अस्पताल र स्वास्थ्य प्रतिष्ठानलाई मात्र संघीय सरकारले आफ्नो मातहतमा राखेको भन्दै प्रदेश र स्थानीय सरकारको अधिकार खुम्च्याउने पक्षमा आफू नरहेको बताए ।
लामो समयदेखि अटेरी गर्दै आएका बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानका उपकुलपतिलाई बर्खास्त गर्ने निर्णयमा पुगेका यादवले सिनेटको प्रतिवेदनअनुसार नै हटाएको बताए । स्रोतका अनुसार उनी धरानको अवस्था बुझ्न र नयाँ नियुक्तिका लागि स्वास्थ्यसचिवसहित धरान पुगेका हुन् ।