संसदमा पूर्वस्वास्थ्यमन्त्री अधिकारीको प्रश्न–२४ लाख खोप कहाँ गयो जवाफ चाहियो!

काठमाडौं–पूर्वस्वास्थ्यमन्त्री एवं एमाले सांसद खगराज अधिकारीले २४ लाख खोप हराएको बारे तत्काल जवाफ दिन संसदमा माग गरेका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै अधिकारीले प्रश्न गरे, ‘२४ लाख खोप कहाँ गयो? हामीले उठाइरहेका छौं, समितिमा उठाएका छौं, प्रधानमन्त्रीकहाँ डेलिगेसन गएर पनि बताएका छौं। त्यो कम्पनी, कमिसनबाटै हराएको हो? जवाफ चाहिँदैन?’
उनले आफू स्वास्थ्यमन्त्री हुँदै १३८ वटा औषधिलाई निःशुल्क बनाएकोमा अहिले सरकारले आफूले निःशुल्क बनाएको भनेर भ्रमको खेती गरिरहेको आरोप लगाए। ‘यहाँ त के–के नै चमत्कार गरेझैं भ्रमको खेती गरिएको छ, म शेरबहादुर तामाङले राखेको खर्च कटौतीको समर्थन गर्छु,’ उनले भने।
उनले अघिल्लो आर्थिक वर्षमा केन्द्र, प्रदेश र स्थानीय तह गरी कूल १ खर्ब ३३ अर्ब अर्थात कूल बजेटको ८.१ प्रतिशत विनियोजन गरिएकोमा अहिले त्यसलाई घटाएर ५.७५ प्रतिशत अर्थात् १ खर्ब ३ अर्ब ८ करोड विनियोजन गरिएको बताए।
‘स्वास्थ्य क्षेत्रको बजेटमा चालु आवमा भन्दा २२ अर्ब ९२ करोडले कमी गरिएको छ, यसले स्वास्थ्य क्षेत्रमा लगानी होइन, यो सरकार स्वास्थ्यप्रति जवाफदेही छैन भन्ने देखाएको छ,’ उनले भने।
उनले आगामी आवमा ६५५ स्थानीयतहमा निर्माणाधीन आधारभूत अस्पताल सम्पन्न गर्न १० अर्ब बजेट छुट्याइएकोमा यो बाँडफाडमा वैज्ञानिक आधार नदेखिएको बताए।
यस्तै सरकार भौतिक पूर्वाधारमा मात्र केन्द्रित भएको भन्दै प्रश्न गरे, ‘अस्पताल सन्चालनमा स्वास्थ्यकर्मीप्रति बजेटले चासै राखेन,’ उनले भने।
उनले मिर्गौला प्रत्यारोपण, डायलिसिस, सबै प्रकारका क्यान्सरका रोगीका निम्ति बजेट छु्ट्याइएको, मेरुदण्डको पक्षघातबाट पीडितका लागि ५ हजार दिने भनिए पनि जम्मा १ अर्ब ५० करोड बजेट छुट्याएको उल्लेख गर्दै भने, ‘यो चुनावी भाषणका लागिमात्र हो भने भन्नु केही छैन। त्यति बजेट छुट्याएर जनतालाई ढाँटिएको छ।’
उनले ऐनविपरीत स्वास्थ्य बिमा निजी क्षेत्रलाई दिने तयारीप्रति पनि सरकारको आलोचना गरे। ‘ऐनविपरीत स्वास्थ्य बिमा निजी कम्पनी पोस्ने गरी कसरी आयो, कानुन मिच्न पाइदैन, असम्भव हुने कुरा लेखेर के गर्न खोजिएको हो?’ उनले भने।
यस्तै, अधिकारीले पोखराको मनिपाल कलेज निजी क्षेत्रलाई दिने तयारी भइरहेको भन्दै विरोध गरे।