अब प्रदेश २ मा पनि स्वास्थ्य विज्ञान प्रतिष्ठान
हालसम्म सरकारी मेडिकल कलेज नरहेको प्रदेश २ मा नयाँ स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्न स्वास्थ्य मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ । स्वास्थ्य मन्त्रालयले गठन गरेको उच्चस्तरीय कार्यदलको सिफारिसअनुसार प्रदेश २ मा नयाँ प्रतिष्ठान खोल्न लागिएको हो । हाल प्रदेशमा एउटा निजीस्तरको जानकी मेडिकल कलेज मात्र सञ्चालनमा छ । केही दिनअघि मन्त्रालयका सहसचिव डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा गठन भएको कार्यदलले राजविराजस्थित सगरमाथा अञ्चल अस्पताललाई प्रतिष्ठानका रूपमा स्तरोन्नति गर्न सकिने सुझाब दिएको थियो । कार्यदलले जनकपुरको जानकी अञ्चल अस्पताल र वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताललाई समेत सोहीअन्तर्गत समेट्न सुझाब दिएको थियो ।
कार्यदलले जनकपुरको जानकी अञ्चल अस्पताल र वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताललाई समेत सोहीअन्तर्गत समेट्न सुझाब दिएको थियो । उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले जिम्मेवारी सम्हालेलगत्तै असार दोस्रो साता प्रदेश २ मा चिकित्सा विज्ञान प्रतिष्ठान खोल्न सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरेका थिए । डा. सिंह संयोजकत्वको कार्यदलमा डा. सतिश देव, जनस्वास्थ्यविद् भोगेन्द्र डोटेल स्वास्थ्य सेवा विभागका डा. विवेकलाल कर्ण र मिथिलेश यादव सदस्य थिए ।
सरकारले चालू आर्थिक वर्षको बजेटमा हरेक प्रदेशमा कम्तीमा एउटा चिकित्सा विज्ञान प्रतिष्ठान बनाउने योजना अगाडि सारेको छ । यसअघि काठमाडौंबाहिर कर्णाली, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मध्यपश्चिमको दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा छन् ।