स्वास्थ्य मन्त्रालयको संगठन संरचना फेर्ने तयारी, विभागको सट्टामा सिडिसी, १२औँ तहको दरबन्दी दोब्बर

हेल्थपोस्ट नेपाल

सरकारले स्वास्थ्य मन्त्रालयको संगठन संरचना परिवर्तन गर्ने भएको छ । संघीय संरचनामा मुलुक गएसँगै १ साउनदेखि लागू भएको संगठन संरचनाले नयाँ समस्या र अवसरको सामना गर्न कामयबी नमिलेको भन्दै मन्त्रालयले संरचना परिवर्तनको तयारी थालेको हो ।

राजनीतिक र सैद्धान्तिक रूपमा मन्त्रालयको उच्च नेतृत्व संरचना परिवर्तनमा सहमत भएपछि नयाँ सोचअनुसारको खाका बनाउने काम भइरहेको मन्त्रालयका उच्च अधिकारीले बताएका छन् । सैद्धान्तिक रूपमा नयाँ संरचनामा स्वास्थ्यसेवा विभागलाई खारेज गरेर रोगनियन्त्रण केन्द्र (सेन्टर फर डिजिज कन्ट्रोल, सिडिसी) बनाउने र हालका छुट्टै संरचनाका रूपमा रहेका विभिन्न रोगका केन्द्रसमेत त्यहीअन्र्तगत ल्याउने तयारी भइहरेको छ ।

उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मन्त्रालयको अहिलेको संरचनाले चल्न नसक्ने भन्दै अहिले नसमेटिएका निजी अस्पताल, प्रतिष्ठान र अस्पतालहरूको गुणस्तरको प्रभावकारी नियमनसहित केन्द्रीय अस्पतालहरूका लागि समेत बलियो नेतृत्व बनाउने सोच अगाडि सारेका छन् । मन्त्रीकै सोच र निर्देशनअनुसार संरचनामा हेरफेरको तयारी भइरहेको छ । हाल मन्त्रालयअन्तर्गत तीन महाशाखा छन् ।

नयाँ संरचना बनाइँदा विभाग र मन्त्रालयमा गरी कुल दरबन्दीमा जम्मा ५ जना मात्रै जनशक्ति थपिनेछन् । नयाँ संरचनामा पनि दुई सचिव, मन्त्रालयमा मात्रै सचिवसरहका (१२औँ तह)का चार प्रमुख विशेषज्ञ रहनेछन् । तीबाहेक विभागको सट्टामा बन्ने रोगनियन्त्रण केन्द्र र औषधि व्यवस्था विभागमा समेत १२औँ तहकै विशेषज्ञको नेतृत्व रहनेछ । पहिलाका केन्द्रीय अस्पतालमा समेत १२औँ तहकै प्रमुख विशेषज्ञले नेतृत्व हुनेगरी संरचना बनाउने मन्त्रीको योजना छ । अहिले मन्त्रालयमा ३ र विभागमा एक १२औँ तहका विशेषज्ञको दरवन्दी छ ।

नयाँ संरचना बनाउँदा २७१ सहसचिव तहको जनशक्ति भएको स्वास्थ्यमा विशिष्ट श्रेणीको प्रर्याप्त जनशक्ति राख्नुपर्ने सोच मन्त्रालयको छ ।विशिष्ठ श्रेणीको पद बृद्धि भएमा धेरै चिकित्सकलगायतका जनशक्तिलाई स्वास्थ्य सेवामा आर्षित गर्न सकिने विश्वास सरकारको छ । अहिले स्वास्थ्य सेवाभन्दा निकै कम सहसचिवस्तरीय जनशक्ति हुँदा पनि प्रशासन र अन्य समूहले ठूलो संख्यामा सचिव हुने अवसर पाइरहेको छ ।

अहिले २७१ सहसचिव भएको स्वास्थ्यमा एक जनाले मात्रै सचिव हुने अवसर पाउँछ । तर २५५ सहसचिव भएको प्रशासन समूहबाट ४० सचिव छन् भने १२० सहसचिव रहेको इन्जिनियर्रिङ समूहबाट १२ सहसचिव छन् । १२औँ तह (सचिव सरह)को दरवन्दी बृद्धिले स्वास्थ्यकर्मीले अवसर पनि पाउँने र संरचनामा प्राविधिक नेतृत्व हुँदा प्रतिफल पनि राम्रो दिन सकिन्छ भन्ने बुझाई मन्त्रालय नेतृत्वको छ ।

अब नयाँ संरचना बन्दा हाल विभागअन्तर्गत रहेका अधिकांश महाशाखाका काम मन्त्रालयअन्तर्गत ल्याउने र विभागको सट्टामा रोगनियन्त्रण केन्द्र (सिडिसी) बनाइने निश्चितप्रायः भएको छ । अहिले छुट्टै निकायका रूपमा रहेका क्षयरोग केन्द्र, एड्स तथा यौन रोग केन्द्र स्वास्थ्य–शिक्षा, सूचना तथा सञ्चार केन्द्र, स्वास्थ्य तथा कीटजन्य रोग अनुसन्धान तालिम केन्द्र, शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालसमेत केन्द्रमातहत ल्याइने भएका छन् । अब नसर्ने रोग नियन्त्रण महाशाखा र संक्रामक रोग नियन्त्रण महाशाखाका नाममा छुट्टै महाशाखाहरू सिडिसीअन्तर्गत रहनेछन् ।

मन्त्रालयमै ४ विभाग १३ महाशाखा
विभागको संरचना घटाउने सोचका आधारमा स्वास्थ्य मन्त्रालयको कार्यक्षेत्र विस्तार गरिने भएको छ । मन्त्रालयमा ४ प्रमुख विभाग रहनेछन् । प्रस्तावित सोचअनुसार नीति, योजना, आधारभूत स्वास्थ्य र सूचना–प्रविधि विभाग, चिकित्सा अनुगमन, गुणस्तर, मापदण्ड तथा नियमन विभाग, मेडिकल तथा नर्सिङ शिक्षा, परिषद् र प्रतिष्ठान नियमन विभाग र जनसंख्या, वातावरण तथा परिवारकल्याण विभाग बन्नेछन् ।
यो आधारमा यसअघि अस्पतालहरु हेर्नेगरी एउटै महाशाखा रहेकोमा अब एउटा निजी अस्पताल, दोस्रो सरकारी अस्पताल र तेस्रो मेडिकल कलेज एवं प्रतिष्ठान हेर्नेगरी महाशाखा हुनेछन् ।

उल्लेखित विभागअन्तर्गत कम्तीमा १३ महाशाखा रहनेछन् । मन्त्रालयअन्तर्गतका विभागको नेतृत्व १२औँ तह र महाशाखाको नेतृत्व ११औँ तहका अधिकारीले गर्नेछन् । मन्त्रालय स्रोतका अनुसार यसपटक मन्त्रीको विशेष चासोमा सूचना–प्रविधि, औषधि तथा फार्मेसी, वातावरणीय तथा प्रवर्धनात्मक, परिवारकल्याणसहित निजी र सरकारी अस्पतालको नियमन तथा समन्वयका लागि छुट्टाछुट्टै महाशाखा बन्नेछन् ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले देशभरको स्वास्थ्यसेवालाई प्रभावकारी बनाउन संरचना हेरफेर हुन सक्ने संकेत गर्दै त्यसका लागि जुनसुकै समयमा नतिजा दिन सक्ने अवस्थामा मन्त्रालय रहेको बताए । ‘हामी लामो समयदेखि विभिन्न संरचनाका विकल्पमा छलफल गरी तयारी अवस्थामै छौँ,’ उनले भने ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले पनि संरचना परिवर्तन तयारीको पुष्टि गरे । उनले मन्त्रालयको संरचना परिवर्तन गर्ने तयारी भइरहेको र छिट्टै त्यसले मूर्तरूप पाउने बताए । ‘मन्त्रीज्यूकै विशेष चासो र निर्देशनमा नयाँ संरचना बनाउने तयारी भइरहेको छ,’ उनले भने । मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्रीकै विशेष समन्वय र निगरानीमा सोचअनुसारको प्रस्तावित संरचना बनिसकेको छ । प्रस्तावित संरचनालाई एउटा प्राविधिक समिति बनाएर छलफल र सहमति तय गरी अन्तिम रूप दिने तयारी तीव्र छ ।



Leave a Reply

Your email address will not be published.