भरतपुर अस्पतालमा दैनिक १५ जनाको शल्यक्रियामार्फत प्रसूति, स्वास्थ्यकर्मी नै रोज्छन् कैँची

हेल्थपोस्ट नेपाल

भरतपुर महानगरपालिका–२३ जगत्पुरकी सिर्जना तिमिल्सिना गर्भवती भएसँगै प्रत्येक महिना स्वास्थ्यपरीक्षण गर्ने गर्थिन् । चिकित्सकको सल्लाहअनुसार नै तिमिल्सिनाले भरतपुर अस्पतालमा भिडियो एक्स रे पनि गराइन् । गर्भमा रहेको शिशु एक्स रेमा स्वस्थ देखिए । मिति तोकिएको दिन सुत्केरी हुन आएकी तिमिल्सिनालाई शल्यक्रिया गरेर बच्चा जन्माउन चिकित्सकले सल्लाह दिए । ‘प्रत्येक महिना स्वास्थ्यजाँच गराउँदै आएकी थिएँ ।

भरतपुर अस्पतालमा आएर ३, ६ र ९ महिनामा भिडियो एक्स रे पनि गराएँ । त्यतिखेर डाक्टरले सबै ठिक छ भन्नुभयो । १४ फागुनका लागि बच्चा जन्मने दिन तोकिदिनुभयो । चिकित्सकको सल्लाहबमोजिम सुत्केरी हुन भरतपुर अस्पताल आउँदा बच्चा घुमेको छ, अप्रेसन गर्नुपर्छ भन्नुभयो,’ उनले भनिन्, ‘आफ्नो ज्यानै जाने भनेपछि अप्रेसन गरेर अहिले बाबु जन्मिएको छ ।’ शल्यक्रियाको तयारीविनै उनी अस्पताल आएकी थिइन् । तर, रिपोर्ट राम्रै भए पनि एक्कासि शल्यक्रिया गर्नुपर्दा उनी दुःखी छिन् ।

‘गर्भवती भएपछि स्वास्थ्यपरीक्षण गर्न हेल्थपोस्ट गराइराख्थेँ । भरतपुर आएर पनि चारपटकसम्म भिडियो एक्स रे गराएकी थिएँ । राम्रै भन्नुभएको थियो । चिकित्सकले तोकेको सुत्केरी हुने मितिअनुसार आइतबार अस्पताल आउँदा पाठेघरमा पानी कम भएको भन्दै शल्यक्रिया गर्न सुझाब दिनुभयो,’ पौडेलले लामो सुस्केरा हाल्दै भनिन्, ‘बच्चा र मलाई अहिले राम्रै छ ।’

पदमपुरकी सुस्मा पौडेल बच्चा जन्माएर अहिले भरतपुर अस्पतालमा उपचार गराइरहेकी छिन् । उनको पनि चिकित्सकले शल्यक्रिया गरेर बच्चा जन्माइदिएका हुन् ।

पटक–पटक स्वास्थ्यपरीक्षण गर्दा शिशु र आमाको स्वास्थ्य राम्रो देखिए पनि अन्तिम चरणमा चिकित्सकले शल्यक्रिया गर्न सुझाब दिए । ‘गर्भवती भएपछि स्वास्थ्यपरीक्षण गर्न हेल्थपोस्ट गराइराख्थेँ । भरतपुर आएर पनि चारपटकसम्म भिडियो एक्स रे गराएकी थिएँ । राम्रै भन्नुभएको थियो । चिकित्सकले तोकेको सुत्केरी हुने मितिअनुसार आइतबार अस्पताल आउँदा पाठेघरमा पानी कम भएको भन्दै शल्यक्रिया गर्न सुझाब दिनुभयो,’ पौडेलले लामो सुस्केरा हाल्दै भनिन्, ‘बच्चा र मलाई अहिले राम्रै छ ।’

पछिल्ला वर्षहरूमा भरतपुर अस्पतालमा शल्यक्रियाबाट प्रसूति हुनेक्रम बढ्दै गएको छ । भरतपुर अस्पतालमा प्रसूति हुनेमध्ये २७ प्रतिशतको शल्यक्रिया हुने गरेको छ । भरतपुर अस्पतालका तथ्यांक शाखाका प्रमुख नारायणप्रसाद रिजालका अनुसार चालू आर्थिक वर्षको ७ महिनामा मात्र २ हजार १ सय १६ जनाको शल्यक्रियाबाट प्रसूति गराइएको छ ।

चालू आर्थिक वर्षमा भरतपुर अस्पतालमा आएर ७ हजार ८ सय २७ जनाले प्रसूति गराएको जानकारी शाखाप्रमुख रिजालले दिए । त्यसमध्ये ५ हजार ५ सय १५ जनाले स्वाभाविक रूपमा बच्चालाई जन्म दिएका छन् । १ सय ९६ जनाको भने जटिल प्रसूति भएको उनले जानकारी दिए । गत आर्थिक वर्षमा ३ हजार ४ सय ३६ जनाले शल्यक्रियामार्फत बच्चा जन्माएका थिए । यस्तै, आर्थिक वर्ष ०७३/७४ मा ३ हजार २ सय ६३ जनाको शल्यक्रिया गरेर बच्चा निकालिएको अस्पतालको तथ्यांकमा उल्लेख छ । गत आर्थिक वर्षमा १३ हजार ५ सय २५ जनाले भरतपुर अस्पतालमा आएर प्रसूति गराएका थिए ।

विश्व स्वास्थ्य संगठनका अनुसार ५ देखि १५ प्रतिशतसम्म शल्यक्रियाबाट प्रसूति राम्रो मानिन्छ । तर, भरतपुर अस्पतालमा भने प्रत्येक वर्ष शल्यक्रिया गर्नेक्रम बढिरहेको छ । विशेषगरी स्वास्थ्यकर्मीहरू नै प्रसूति पीडा बेहोर्न तयार नहुने गरेको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेल बताउँछन् । ‘बुझेका मानिसहरू नै शल्यक्रिया गराउन तयार हुन्छन्,’ पौडेलले भने, ‘९९ प्रतिशत स्वास्थ्यकर्मी शल्यक्रियामार्फत बच्चा जन्माउँछन् ।’ भरतपुर अस्पतालमा स्वास्थ्यकर्मीहरू नै प्राकृतिक रूपमा बच्चा जन्माउन तयार नहुने गरेको उनले बताए ।

भरतपुर अस्पताल रेफरल अस्पताल भएकाले पनि यहाँ शल्यक्रिया बढी गर्नुपरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. युवानिधि बसौलाले बताए । ‘हामीकहाँ पश्चिमको दाङदेखि पूर्वको सिरहासम्मका जटिल केसहरू प्रसूति गराउन आउँछन्,’ बसौलाले भने, ‘त्यसकारण पनि शल्यक्रिया बढी भएको देखिन्छ ।’

गर्भवती महिलाको नितम्बको साइज सानो भएको अवस्थामा अप्रेसन गरेर बच्चा जन्माउनुपर्ने हुन्छ । सानो नितम्बका कारण आमा र बच्चा दुवैको जीवन खतरामा रहन सक्छ । यसकारण यस्ता गर्भवतीलाई बच्चा जन्माउन शल्यक्रिया गर्नुपर्ने भरतपुर अस्पतालका प्रसूति विभाग प्रमुख डा. श्रीप्रसाद अधिकारीको भनाइ छ ।

भरतपुर अस्पतालमा दैनिक औसत १५ जनाको शल्यक्रियाबाट प्रसूति गराइने गरेको छ । यस अस्पतालमा प्रसूति वार्डमा २५ शय्या भए पनि दैनिक ४० देखि ५० जनाले यहाँबाट प्रसूतिसेवा लिने गरेका छन् । यहाँ आएकालाई रेफर गरेर पठाइँदैन । त्यसकारण भरतपुर अस्पतालमा भुइँमै राखेर पनि प्रसूति गराउने गरिएको अस्पतालले जानाएको छ । सम्बन्धित परिवारले भनेका आधारमा नभई आवश्यक परेको खण्डमा शल्यक्रिया गर्न लगाइने भरतपुर अस्पतालको भनाइ छ ।

कस्तो अवस्थामा गर्नुपर्छ शल्यक्रिया ?
गर्भवती महिलाको नितम्बको साइज सानो भएको अवस्थामा अप्रेसन गरेर बच्चा जन्माउनुपर्ने हुन्छ । सानो नितम्बका कारण आमा र बच्चा दुवैको जीवन खतरामा रहन सक्छ । यसकारण यस्ता गर्भवतीलाई बच्चा जन्माउन शल्यक्रिया गर्नुपर्ने भरतपुर अस्पतालका प्रसूति विभाग प्रमुख डा. श्रीप्रसाद अधिकारीको भनाइ छ । यस्ता महिलाले सामान्य तरिकाबाट बच्चा जन्माउँदा आमाको जिन (आनुवंशिक गुण) अर्को पिँढीमा सर्ने सम्भावना रहन्छ । तर, शल्यक्रिया गरेर जन्माउँदा यस्तो समस्या नहुने अधिकारीले बताए ।

प्रसूतिको समयमा बच्चाको घाँटीमा नाल बेरिएको अवस्था, बच्चाले पेटभित्रै दिसा गरेको अवस्था, प्रसव पीडा लम्बिँदै गएर बच्चा र आमाको जीवन नै जोखिममा रहेको अवस्थामा आकस्मिक अप्रेसन गर्नुपर्ने हुन्छ ।

गर्भमा जुम्ल्याहा बच्चा रहेको अवस्थामा र जुम्ल्याहा बच्चा जन्मने निश्चित भएको अवस्थामा, बच्चाको टाउको माथि फर्केर रहेको वा पाठेघरमा बच्चा उल्टो परेर बसेको अवस्थामा, तोकिएको समयभन्दा पहिले नै डेलिभरी हुन लागेको अवस्थामा, गर्भनाल थुनिएको अवस्थामा र गर्भवती एचआइभी, हेपाटाइटिस वा अन्य भाइरस संक्रमित भएको खण्डमा आकस्मिक शल्यक्रिबाट बच्चा जन्माउनुपर्ने उनले बताए ।

शल्यक्रिया गर्दाका खतरा
अस्पताल आउने कतिपय गर्भवती तथा उनका आफन्त प्राकृतिक बच्चा जन्माउन सक्ने अवस्थामा पनि शल्यक्रिया गरिदिन जोड दिने गर्छन् भने कतिपयले जटिल अवस्थामा पनि शल्यक्रिया गर्न इन्कार गरिरहेका हुन्छन् । शल्यक्रिया गर्दा विशेषगरी सुत्केरी आमाको रगत धेरै बग्ने, घाउ पाक्ने, शरीरका अन्य अंगमा असर गर्ने, शरीर कमजोर हुने र खर्च बढी हुने प्रसूति विभाग प्रमुख डा. अधिकारीले बताए । नर्मल डेलिभरी गर्दा दुखाइ सहन नसक्ने र परिवारले दबाब दिने गर्दा शल्यक्रिया गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।



Leave a Reply

Your email address will not be published.