गण्डकी मेडिकल कलेजका सञ्चालकको सम्पत्ति छानबिनको माग गर्दै सम्पत्ति शुद्धीकरण विभागमा उजुरी
मनपरी शुल्क असुलीविरुद्ध करिव एक महिनादेखि आन्दोलनरत गण्डकी मेडिकल कलेजका विद्यार्थी र केही अभियान्ताले प्रमुख संचालक खुमा अर्यालविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसान्धान विभागमा उजुरी दिएका छन् । कलेजका विद्यार्थी अनित सिन्हासहित अभियान्ता प्रितम सुवेदी र विजयबाबु शिवाकोटीले मंगलबार उजुरी दर्ता गराएका हुन् ।
सरकारले काठमाडौंबाहिरका लागि ४२ लाख ४५ हजार र भित्रका लागि ३८ लाख ५० हजार शुल्क तोके पनि कलेजले विनारसिद १० देखि १५ लाखसम्म अतिरिक्त शुल्क लिएको आरोप विद्यार्थीको छ । विद्यार्थीको आरोपलाई नेपाल मेडिकल काउन्सिलबाट गएको अध्यायन टोलीले समेत पुष्टि गरिसकेको छ ।
उनीहरुले सञ्चालकसहित लेखाअधिकृत र प्रशासकीय अधिकृतविरुद्ध अवैध रुपमा उठाएको शुल्कको छानविन गर्नुपर्ने माग उठाएका छन् । माघ तेस्रो सातादेखि आन्दोलतरत विद्यार्थी धर्नासँगै अस्पतालमा तालाबन्दीसमेत गरिसके पनि सञ्चालक टसमस भएका छैनन् ।
उजुरीमा विद्यार्थीले कलेज प्रशासनले विभिन्न धम्की दिएर अतिरिक्त शुल्क तिर्न बाध्य बनाएको, विद्यार्थीपिच्छे फरक शुल्क असुली गरेको आरोप लगाएका छन् । उजुरीकर्ताले प्रमुख सञ्चालक अर्याल स्वामित्वको यूनिभर्सल मेडिकल कलेज भैरहवाका विद्यार्थी तथा अभिभावकउपरसमेत यस्तै असुली गरिरहेको दाबी गरेका छन् ।
उनीहरुले पछिल्ला केही वर्षभित्रै अर्बौं रुपैयाँ रकम अवैध रुपमा असुल गरी ठगी गरेको, राजश्व छली गरेको, सम्पत्ति परिवार, साझेदार तथा अन्य सम्बन्धित व्यक्तिका नाममा जम्मा गरी राखेको जनाएका छन् । ‘तत्काल निज तथा कसुरमा संलग्न व्यक्तिहरुको राहदानी, अवैध कारोवार तथा वैक खाता रोक्का गरी यस सम्बन्धमा विस्तृत अनुसन्धान गरी अवैध सम्पत्ति जफत गरी निजलगायत कसुरमा संलग्न व्यक्तिहरुलाई हदैसम्मको कानुनी कारवाही गरिपाऊँ ’ निवेदनमा उल्लेख छ । पीडितहरुको रकम फिर्ता गर्नसमेत उनहरुको माग छ ।