दुई ठूला अस्पताललाई गिज्याउँदै छेउकै भताभुङ्ग सडक [भिडियो]
काठमाडौं – गत बिहीबारदेखि परेको हिउँदे झरीले बाटो हिलाम्मे थियो। ‘डेलिभरी डेट’ नजिकिएसँगै हरेक हप्ता जाँचका लागि आएकी धादिङकी कुशुम शर्मालाई हिलाम्मे सडक र आधाआधी भत्केका र धेरै स्थानमा पसलले ओगटेका सडकपेटी छिचोलेर प्रसुति गृहसम्म पुग्न हम्मेहम्मे पर्यो।
हिउँद होस् या वर्षा, गर्भवती–सुत्केरीलाई मात्रै नभएर बाटो हिड्ने बटुवा तथा सवारी साधनकै लागि पनि यो बाटो छिचोल्न सहज छैन। र सडकछेउका सटरमा पेटीसम्मै पसल फिजारेका पसलेले पनि उस्तै हैरानी खेपेका छन्। बिहान बाहिर निकालेका सामान साँझ भित्र राख्ने बेलासम्म कपडाको रङ फेरिने अवस्थामा पुग्ने प्रसुतिछेउमै कपडा पसल राखेका यादव केसीले बताए।
नेपालको सबैभन्दा पुरानो र ठूलो प्रसुति अस्पताल जसलाई प्रसुति गृह भनेर चिनिन्छ। आजभन्दा ६३ वर्षअघि सन् १९५९ मा स्थापना भएको हो। यहाँ वार्षिक १५ हजारभन्दा बढी नवजात शिशुको जन्मन्छन्।
नेपालमा प्रसुति सेवालाई सहज, सुरक्षित र सुलभ बनाउन यो अस्पतालको ठूलो योगदान छ। देशमा मात्र नभएर विदेशसम्म पनि सुरक्षित प्रसुति सेवाको पहिचान स्थापित गरेकै कारण आजभन्दा ४२ वर्ष अघि हालका भुटानी राजा जिग्मे केशर नामगेल वाङचुङको जन्म यही अस्पतालमा भएको थियो।
२०३६ साल फागुन ९ गते बिहान छिरिङ याङ्दोनले उनलाई पहिलो सन्तानको रुपमा जन्म दिएकी थिइन्। छिरिङ नेपालको प्रसुति गृह सुरक्षित र नेपालसँगको भावनात्मक सम्बन्धका कारण सुत्केरी हुन भुटानबाट नेपाल आएको डा. दिव्यश्वरी मल्म बताउछिन्। डा. मल्लले छिरिङको डेलिभरी केस हेन्डल गरेकी थिइन्।
त्यसको ठ्याक्कै वारीपट्टी नेपालको पहिलो अन्तर्राष्ट्रिय मान्यता प्राप्त नर्भिक अस्तर्राष्ट्रिय अस्पताल छ। नेपालका नेता, कर्मचारी, कुटनीतिज्ञ तथा हुनेखानले उपचार गर्ने हुनाले यसलाई ‘भिआइपी–अस्पताल’ का रुपमा आममानिसले लिने गर्छन्।
थापथली चोकबाट करिब ५० मिटरको दूरीमा पर्ने यी दुवै अस्पताल छिर्ने बाटोको अवस्थाले न नर्भिकलाई ‘अन्तर्राष्ट्रिय’ मान्यताप्राप्त भन्न सुहाउछ, न त प्रसुति गृहलाई नेपालकै ठूलो र पुराना ‘म्याट्रनिटी’ अस्पताल भन्ने नै।
दैनिक दर्जनौं बिरामी बोक्ने एम्बुलेन्स सडकको हिलो तथा धुलो सोहोर्दै नर्भिक र प्रसुति गृह छिर्छन।
हेर्नुस् भिडियो-