मोरङमा किशोरी परियोजना सुरु, शौचालयदेखि ‘एक घर, एक स्नानघर’सम्म
मोरङ जिल्लाको तीनवटा स्थानीय तहमा किशोरी परियोजना सुरु भएको छ । ग्रामथान, बूढीगंगा र कटहरी गाउँपालिकाका ६ वटा विद्यालय र ३ वटा स्वास्थ्यचौकीमा किशोरी परियोजना सुरु भएको हो ।
वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहयोगमा नारी विकास संघ विराटनगरले विद्यालय तथा स्वास्थ्यचौकीमा किशोरीमैत्री कार्यक्रमहरू सञ्चालन गर्न परियोजनाको शुभारम्भ गरेको हो । परियोजनाअन्तर्गत विद्यालय तथा स्वास्थ्यचौकीमा शौचालय निर्माण, महिनावारीको समयमा आरामकक्ष, बालिकामैत्री हेल्थपोस्ट बनाउन लागिएको हो । त्यस्तै, परियोजनाले किशोर–किशोरीमैत्री समुदाय निर्माण गर्नेछ ।
परियोजनाअन्तर्गत ‘एक घर, एक स्नानघर’को विकास गर्ने तयारी छ । विशेषगरी भौतिक संरचना निर्माण र बालबालिका तथा अभिभावक लक्षित तालिम र अन्तरक्रियासमेत परियोजनामा समेटिएको छ । परियोजनाबारे आज कटहरी गाउँपालिकामा छलफल गरिएको छ ।
बालिकालाई महिनावारी स्वच्छता व्यवस्थापनका लागि घरदेखि विद्यालय र स्वास्थ्यसंस्थामा उपयुक्त वातावरण सिर्जना गर्नु कार्यक्रमको मुख्य लक्ष्य रहेको नारी विकास संघ विराटनगरकी कार्यक्रम संयोजक सरिता अधिकारीले बताइन् । छलफल कार्यक्रममा वडाध्यक्ष पृथ्वीलाल सरदारले स्वास्थ्य र बालबालिकाको सवालमा वडा कार्यालय संवेदनशील रहेको बताए । किशोरीका लागि निर्माण गर्न लागिएको आरामकक्षसँगै परामर्शकक्षको पनि व्यवस्था गर्न शिक्षा विकास तथा समन्वय एकाइ मोरङका स्रोतव्यक्ति टंक न्यौपानेले सुझाब दिएका छन् ।
गाउँपालिकाले गर्ने कार्यक्रम बालबालिकाकेन्द्रित हुने गरेको कटहरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख शिवप्रसाद घिमिरेले बताए । त्यसैगरी, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उदयकान्त सेठले स्वास्थ्यमा कार्यक्रम धेरै भए पनि बजेट थोरै आउने गरेको जनाउँदै सहकार्य गरेर काम गर्न गाउँपालिका तयार रहेको बताए ।