विदेशी कोटामा नाम निकाल्ने एक्ला ‘समृद्ध’

‘नेपालको शिक्षा प्रणाली कमजोर छ, नेपालको अध्ययनले विदेश बराबरको दक्ष जनशक्ति उत्पादन गर्न सक्दैन’, भन्ने भनाइलाई गलत सावित गर्ने गतिलो उदाहरण बनेका छन्, डा. समृद्ध कार्की।
काठमाडौंको मैतिदेवी निवासी ३० वर्षीय कार्की सरकारीस्तरबाट सञ्चालित ‘अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स’ ले पोस्ट डक्टरेट एमसिएच डिग्रीका लागि दिएको छात्रवृत्तिमा छनोट भएका छन्।
सन् २०२२ बाट भारतमा एकीकृत रूपमा लागू हुन लागेको चिकित्सा शिक्षा अध्ययनअन्तर्गत भारतीय र विदेशीहरूका लागि खोलिएको छात्रवृत्तिमा विदेशी विद्यार्थीको कोटाबाट छात्रवृत्ति पाउने डा. कार्की एक्ला व्यक्ति हुन्।
डा. कार्कीले कार्डियो थोरासिक भास्कुलर सर्जरी (मुटु र फोक्सोको रक्तनलीको सर्जरी) अध्ययनका लागि विदेशी विद्यार्थीको रूपमा छात्रवृत्ति पाएका हुन्।
डा. समृद्धले कार्डियो थोरासिक भास्कुलर सर्जरीका लागि तीनवटा विश्वविद्यालय विदेशी कोटाबाट प्रवेश परीक्षा दिएका थिए। उनले तीनवटै विश्वविद्यालयमा नाम निकालेका थिए।
अखिल भारतीय आयुविज्ञान संस्थान, पोस्ट ग्रेजुएट इन्स्टिच्युट अफ मेडिकल शिक्षा तथा अनुसन्धान केन्द्र चण्डीगढ र श्री चित्र तिरुनाल चिकित्सा विज्ञान र प्रविधि संस्थान त्रिवेन्द्रमा छात्रवृत्तिमा नाम निकालेका थिए। डा. कार्कीले यी विश्वविद्यालयमध्ये एउटालाई छान्न पाउनेछन्।
अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा एकजना नेपालीले तीनवटै युनिभर्सिटीमा छात्रवृत्ति निकाल्नु नेपालीको लागि गौरवको कुरा हो। जनवरी २०२२ बाट सञ्चालनमा आउन लागेको एकीकृत चिकित्सा शिक्षा अध्ययनका लागि भारतले पाँच विश्वविद्यालयअन्तर्गतका ११ वटा स्थानमध्ये कार्कीको परीक्षा केन्द्र महाराष्ट्र मुम्बईमा परेको थियो।
चिकित्सक शिक्षा अध्ययनका लागि एकीकृत शिक्षा प्रणाली लागू भएसँगै अध्ययनका लागि विद्यार्थीहरूले विश्वविद्यालय छान्न पाउने अवसर पाएका हुन्। काठमाडौं मेडिकल कलेजबाट एमबिबिएस र जनरल सर्जरी गरेका डा. कार्की अन्तर्राष्ट्रियस्तरमा पोस्ट डक्टरेट डिग्रीका लागि छात्रवृत्ति पाउनु नेपाली विद्यार्थीका लागि ठूलो अवसर भएको बताउँछन्।
कसरी सम्भव भए नाम निकाल्न?
कक्षा १० सम्म लिटिल एन्जल्स स्कुलका अध्ययन गरेको कार्कीले त्यसपछि निष्ट कलेज लैनचौरबाट ‘प्लस टु’ पास गरेका थिए। उनले एमबिबिएस काठमाडौं मोडल कलेजमा अध्ययन गरेका थिए।
कार्कीले प्रवेश परीक्षाका लागि कुनै पनि इन्स्टिच्युटमा गएर तयारी गरेनन्। उनले घरै बसरे तयारी गरे। शिक्षक एवं अग्रजसँग सल्लाह लिए।
‘नाम कसरी निकाल्न सकिन्छ भन्ने विषयमा इन्डियाका साथीदेखि शिक्षकहरुसँग मैले निरन्तर छलफल गरेँ। के–कस्ता खालका प्रश्नहरु आउँछन्, फरम्याट कस्तो हुन्छ, के मा ‘फोकश’ हुनुपर्छ भन्ने विषयमा निरन्तर छलफल गरिरहँे। साथीभाइ तथा गुरुहरुको सल्लाह सुझावअनुसार मुटु, फोक्सो र भास्कुलरसम्बन्धिका सबै किताबहरु अध्ययन गरेँ।’, उनले भने।
प्रवेश परीक्षाको तयारीका लागि कार्कीले चार महिनाको समयमा आफ्नो पेशाभन्दा पनि अध्ययनमा ‘फोकश’ धेरै समय दिएका थिए। ‘मिहिनेत गरे जीवनमा सफल अवश्य भइन्छ’, समृद्ध भन्छन्, ‘हामीले मिहिनेत कम गर्छौं, आशा धेरै राख्छौं। यसले हामीलाई निरासामात्र दिन्छ।’
कार्की १ तारिखमा भारत जाँदैछन्।