कर्णाली अस्पतालमा पहिलो पटक हाडजोर्नीको जटिल प्रत्यारोपण, यस्तो छ डा. विकासको अनुभव

कर्णाली प्रदेश अस्पताल सुर्खेतले पहिलो पटक हाडजोर्नीको सफल प्रत्यारोपण गरेको छ। अस्पतालले हालै २ महिलाको सफलतापूर्वक जोर्नी प्रत्यारोपण गरेको हो।
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका विशाला घर भएकी ४० वर्षीया रंगा विक र कालिकोट घर भएकी ६४ वर्षीया दीपा महतराको जोर्नी प्रत्यारोपण गरिएको अस्पतालका कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. विकास केसीले बताए।
उनका अनुसार दुवै जनाको दाहिने खुट्टाको ‘हिप’ जार्नीको अपरेशनमार्फत् प्रत्यारोपण गरिएको हो।
बाथ रोगका कारण हड्डी खिइएर हुने समस्याको समाधानका लागि यो प्रत्यारोपण गरिएको हो। यसका लागि प्रदेश अस्पतालमा ६ जना ‘कन्सल्टेन्ट अर्थोपेडिक’को टिम रहेको डा केसीले जानकारी दिए ।
कर्णालीमा यो सेवा सुरू भएसँगै हाडजोर्नीको प्रत्यारोपणका लागि काठमाडौं, बुटवल जानुपर्ने समस्या अन्त्य भएको छ।
बुटवलपश्चिमका विभिन्न सहरहरुमध्ये पहिलो पटक सुर्खेतमा सफल प्रत्यारोपण गरिएको उनको भनाइ छ।
प्रदेश अस्पतालमै हाडजोर्नीको प्रत्यारोपण गर्न सकिने भएपछि यहाँका नागरिकलाई धेरै सेवा सुविधा हुने उनको विश्वास छ।
‘सानो अप्रेशनको लागि यहाँका मानिस काठमाडौं, नेपालगञ्ज जानुपर्ने बाध्यता थियो,‘ डा. केसीले भने, ‘हाडजोर्नीको थप सेवा पनि विस्तार गर्ने योजनामा छौं।’
राहत प्रदान गर्न हाडजोर्नी प्रत्यारोपणका लागि बिरामीको अवस्थाअनुसार कम्तिमा पाँचदेखि सात लाख रुपैयाँसम्म खर्च हुने भए पनि स्वास्थ्य बिमा भएका बिरामीका लागि उपकरण खर्च लागेको अस्पतालले जनाएको छ।
प्रदेश अस्पतालमा भौतिक संरचना, अप्रेशन सामाग्री र जनशक्ति समेत भएकोले यस्तो खालको जटिल शल्यक्रिया सम्भव भएको उनले बताए।
डा. केसीको अनुभव उनकै शब्दमाः
मैले करिब १० महिनाअघि कर्णाली अस्पतालबाट सेवा दिन सुरु गरेको हो। तर, विभिन्न समस्याले गर्दा ठूला अप्रेशन (हाडजोर्नी) को सेवा दिन सकिएको थिएन।
कर्णालीले गरेको यो प्रत्यारोपण वुटबल पश्चिमको लागि पहिलो खालको जटिल प्रत्यारोण हो। दुबैजनाको दाहिने खुट्टाको ‘हिप’ जोर्नीको अपरेशनमार्फत प्रत्यारोपण गरिएको हो।
हाडजोर्नीको अप्रेशनमध्ये ‘हिप जोर्नी’को प्रत्यारोपण एकदमै जटिल खालको मानिन्छ।
दैलेख ठाटीकाँध गाउँपालिकाकी रंगा विक दाहिने खुट्टाको कम्मरभन्दा मुनिको दुखाइले २ वर्षअघि देखि थला पर्नु भएको रहेछ।
उहाँलाई उपचार गराउन उहाँका माइती भाइहरुले बाँकेको नेपालगन्ज, काठमाडौँ र भारतको लखनउ पुर्याउन भएको रहेछ। तर, पैसा अभाव तथा पालो अभावमा उपचार हुन सकेको रहेनछ।
यो प्रत्यारोपणले कर्णाली क्षेत्रका लागि नयाँ आयाम थपेको छ। यो किसिमको अप्रेशनका लागि अबदेखि काठमाडौं तथा अन्य सहर जानुपर्ने बाध्यताको अन्त्य भएको छ।
कर्णालीमा आएर प्रत्यारोपण गर्नमा बिरामी पक्षले पनि हामीलाई विश्वास गर्नुभयो। प्रशासन, ओटी सेटअपदेखि लिएर अन्य सबैको साथ सहयोग रह्यो। साथै, स्वास्थ्य बिमा कार्यक्रमले ठूलो सहयोग गर्यो। बिमाबाट नै उहाँहरुको खर्च कम भयो।
यो प्रत्यारोपण कर्णालीका लागि नयाँ अनुभूति हो। हामीलाई हाम्रो सीपको सदुपयोग भएको महसुस भएको छ।
यसरी दुर्गम क्षेत्रबाट यस खालको सेवा दिन पाउँदा यहाँका चिकित्सक धेरै खुसी भएका छौं।
प्रत्यारोपणका लागि केही सामानहरु काठमाडौंबाट मगाएका थियौं। अरु हामीसँग भएका स्रोत–साधनबाट नै व्यवस्थापन गरेका थियौं।
मेरुदण्डमा चोट लागेर ढाड भाचिँएको उपचार पनि हामीले सुरु गरेका छौं। त्यसैगरी, दुरबिनबाट अप्रेशन गर्न सुरु गरेका छौं। अब यसलाई गति दिएर सेवा बढाउछौं।
अबदेखि हाडजोर्नीकाे अप्रेशन गर्न काठमाडौं, नेपालगञ्ज जानुपर्ने बाध्यता हुने छैन।