यस्तो छ प्रमुख विशेषज्ञ बढुवा प्रक्रिया, सिफारिसका लागि बैठक बस्दै

हेल्थपोस्ट नेपाल

स्वास्थ्य सेवा तर्फको प्रमुख विशेषज्ञ (१२औं तह) को रिक्त पदमा हुने भनिएको बढुवाको प्रक्रिया अगाडि बढ्ने भएको छ।

बढुवाका लागि मन्त्रिपरिषद्मा रिफारिस गर्न आज बढुवा समितिको बैठक बस्ने तयारी रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ।

बढुवा समितिको आज बस्ने बैठकले तीन वटा रिक्त पदका लागि पाँच जनाको नाम सिफारिस गर्ने छ।

तीन जनाको बढुवाका लागि समितिले कार्यक्षमता मूल्यांकनका आधार, ज्येष्ठता, भौगोलिक क्षेत्रमा काम र शैक्षिक योग्यता र तालिमबापत अंक दिई ५ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । सो मध्येबाट मन्त्रिपरषद् बैठकले ३ जनालाई बढुवा गर्नेछ।

समितिको यसअघि कात्तिक १६ र १७ गते दुई दिन बैठक बसेको थियो। तर बैठकले सम्भावित कर्मचारीको नाम सिफारिस गर्न सकेको थिएन।

१२औँ तहका तीनवटै पदको पूर्ति कार्यसम्पादन मूल्यांकनका आधारमा ११औँ तहमा कार्यरतमध्येबाट बढुवामार्फत गर्नुपर्ने व्यवस्था छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र माताहतका निकायमा १२औं तहको तीन वटा पद रिक्त छ। जसमा स्वास्थ्य मन्त्रालयमा दुई विशेषज्ञ पद र वीर अस्पतालमा एक पद खाली छ।

रिक्त तीन वटा पदका लागि २१ जनाले निवेदन दिएका छन्।

यस्तो छ प्रमुख विशेषज्ञ बढुवा प्रक्रिया
प्रमुख विशेषज्ञ (१२औँ तह) मा बढुवामार्फत मात्र पदपूर्ति हुने व्यवस्था छ । ११औँ तहमा कम्तीमा ५ वर्ष सेवा गरेका विशेषज्ञहरू १२औँ तहमा बढुवाका लागि योग्य हुन्छन्। बढुवा कार्यक्षमता मूल्यांकनका आधारमा हुने व्यवस्था छ। पछिल्लो ५ वर्षको कासमु र अन्य ३ शीर्षकमा कर्मचारीले प्राप्त गरेको अंकका आधारमा योग्यताक्रममा अब्बल ३ व्यक्तिलाई मन्त्रिपरिषद्ले १२औँ तहमा बढुवा गर्नुपर्छ। यसका लागि बढुवा सिफारिस समितिले कार्यक्षमता मूल्यांकनमा बढी अंक प्राप्त गर्ने ५ जनाको नाम योग्यताक्रमअनुसार मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने कानुनी प्रावधान छ। आवश्यक संख्याको ५० प्रतिशत बढाएर सिफारिस गर्नुपर्ने प्रावधान भएकोमा १२औँ तहका ३ पद रिक्त रहेकाले ३ जना र थप १.५ (२) गरी ५ जना सिफारिस गर्नुपर्ने भएको हो।

यस्तो छ कार्यक्षमता मूल्यांकनका आधार

कार्यसम्पादन मूल्यांकनबापत– ४० अंक
यसअन्तर्गत ११औँ तहमा कार्यतर विशेषज्ञले भरेको पछिल्लो ५ वर्षको कार्यसम्पादन मूल्यांकन (कासमु) माथि तोकिएको अधिकारीले दिएको अंक जोडिनेछ । यसमा मूल्यांकनकर्ताले अंक दिँदा विवेक प्रयोग गर्न सक्ने भएकाले उम्मेदवारको नम्बर यकिन गर्न सकिँदैन। यीबाहेक ३ शीर्षमा दिइने नम्बर पारदर्शी र निश्चित हुने हुँदा प्रमुख विशेषज्ञ बढुवाका लागि को अगाडि छ भन्ने अनुमान सहजै लगाउन सकिन्छ।

ज्येष्ठताबापत– २० अंक

यसअन्तर्गत ११औँ तहमा काम गरेबापत बढीमा १६ अंक र १०औँ तहमा काम गरेबापत बढीमा ४ अंक पाउने व्यवस्था छ ।

भौगोलिक क्षेत्रमा काम गरेबापत– २५ अंक

यसअन्तर्गत देशका विभिन्न भूभागमा काम गरेबापत प्रतिवर्ष अंक निर्धारण गरिएको छ । अतिदुर्गम, दुर्गम, सुगमलगायत क्षेत्रमा भूगोललाई वर्गीकरण गरी अंक निर्धारण गरिएको छ । एउटै जिल्लामा पनि सदरमुकाममा काम गरेबापत कम र सदरमुकामबाहिर काम गरेबापत बढी अंक तोकिएको छ । त्यसैले लामो समय दुर्गममा सेवा दिएको विशेषज्ञ ज्येष्ठताको हिसाबले कनिष्ठ भए पनि प्रमुख विशेषज्ञ बढुवामा अगाडि हुन सक्छन्।

शैक्षिक योग्यता र तालिमबापत १५ अंक

यसअन्तर्गतको अंक पारदर्शी हुन्छ । शैक्षिक प्रमाणपत्र र तालिममा विशेषज्ञले हासिल गरेको श्रेणीका आधारमा अंक दिने व्यवस्था छ ।

को–को हुन्छन् बढुवा सिफारिस समितिमा

लोकसेवा आयोगको अध्यक्ष वा निजले तोकेको लोकसेवा आयोगको सदस्य– अध्यक्ष
लोकसेवा आयोगको अध्यक्षले तोकेको लोकसेवा आयोगको सदस्य– सदस्य
मुख्यसचिव– सदस्य
लोकसेवा आयोगद्वारा मनोनीत सम्बन्धित विषयको विशेषज्ञ– सदस्य
स्वास्थ्य मन्त्रालयको सचिव– सदस्य–सचिव

यी हुन् आवेदन दिने २१ कर्मचारी

डा. भिमसिंह टिंकरी
डा. गुणराज लोहनी
डा. तारानाथ पोखरेल
डा. संगिता कौशल मिश्रा
डा. कृष्ण प्रसाद पौडेल
डा. वासुदेव जनार्दन प्रसाद उपाध्याय
डा. विकास देवकोटा
डा. संजय कुमार ठाकुर
डा. श्याम सुन्दर यादव
डा. दिप थापा मगर
डा. श्रीकृष्ण श्रेष्ठ
डा. सुधा देवकोटा
डा. आमिर बाबू श्रेष्ठ
डा. रघुनन्दन ब्याजु
डा. टंक प्रसाद बाराकोटी
डा. प्रभा चापागाईं कोइराला
गोमादेवी निरौला
डा. शैली प्रधान
डा.आरपी बिच्छा
डा. सुदेश सुवेदी
सुनिलराज शर्मा

 



Leave a Reply

Your email address will not be published.