कोभिडविरुद्धको खोपले महिनावारीमा गडबडी

३० वर्षीया दायी यामले फाइजर खोप लगाएको पाँच महिनापछि महिनावारीमा केही समस्या आएको पाइन्। महिनावारी हुँदा उनको भारी रक्तश्राव हुने तथा पहिलेभन्दा बढी शरीरिक पिडा हुनेजस्ता लक्षण देखिन थाले। उनले आफूलाई मात्र यस्तो भएको हो कि भनेर इन्टरनेटमा अन्य महिलाको भोगाई बुझ्न खोज गरिन्।
उनले यस्तै समस्या कैयौं महिलाहरुमा भएको पाइन्। तर, वैज्ञानिक आधार नभएका कारण केही भन्न सकिनन्। दक्षिण कोरियनमूलकी यामले भनिन्, ‘मेरो काखीमा गाँठोजस्तो देखा पर्न थाल्यो। यो खोपकै कारण असर गरेको बुझ्न सकिन्छ, जुन मलाई कुनै चिन्ता लागेको छैन। यसको असरबारे लेखिएता पनि महिनावारीको गडबडीबारे भने केही भनिएको छैन। खोपका लागि थुप्रै पैसा खर्च गरिएको छ। चाँडै महामारी नियन्त्रणका लागि यो जरुरी छ। तर, महिलाको स्वास्थ्यबारे पनि ध्यान दिन जरुरी छ,’ उनले भनिन्।
ध्यान तथा सूचनाको कमी
हजारौं महिलाहरुले आफ्नो महिनावारीमा केही न केही परिवर्तन भएको पाएका छन्। जसमा उच्च रक्तश्राव, शरीरिक पीडा तथा ढिला महिनावारी हुने रहेका छन्। सबै खोपमा महिनावारीको मिति गडबडी हुने समस्या देखिएको छ।
सुरुमा मेडिकल प्रोफेसनलले यो समस्या थोरै मात्र महिलामा देखिएको कारण खासै वास्ता गरेका थिएनन्। महामारीका कारण तनावले गडबडी भएको हुनसक्ने भन्दै यस विषयलाई बेवास्ता गर्दै आइएको थियो।
विश्लेषकहरुकाअनुसार कतिपय महिलाले यही कारण खोप लगाएका छैनन्। कन्सपाइरेसी थ्योरी तथा गलत सूचनाले गर्दा खोपले बाझोपन ल्याउन सक्ने सम्भावना भएको पनि हल्ला फैलिएको थियो। यसबारे भने अनुसन्धान नै गर्न जरुरी छ।
बेलायतको मेडिसिन एण्ड हेल्थकेयर प्रडक्ट्स रेगुलेटरी एजेन्सीमा ३० हजार भन्दा बढी महिलाले यसबारे रिपोर्ट गरेका छन् भने अमेरिकाको अनुसन्धानकर्ताहरुले १ लाख ४० हजार जनाको रिपोर्ट हालसम्म संकलन गरेका छन्।
गत महिना अमेरिकाको सरकारी अनुसन्धान एजेन्सीले यस विषयलाई हेर्न भनेर १६ लाख अमेरिकी डलर रकम पब्लिक हेल्थ रिसर्च एजेन्सीलाई दिएको थियो।
युनिसेफका अनुसार विश्वमा २६ प्रतिशत महिला महिनावारी हुने उमेर समूहका छन्। महामारीमा यो विषय अगाडि आए पनि खोपका कारण महिलाको महिनावारी स्वास्थ्यमा असर परेको बारे कमै मात्र छलफल भएको पाइएको छ।
अमेरिकी पत्रकार तथा लेखक माया डुसेनबेरीले यो विषयले महिलाको समस्यालाई उजागर गरेको बताइन्। कोरोनाविरुद्धको खोपको ट्रायल गर्दा कति प्रतिशत महिनावारी हुने उमेर समूहका महिलालाई असर गर्छ भनेर ध्यानमा राखिएको थिएन। सूचना तथा ध्यान नदिएका कारण खोप लगाउन पनि समस्या परेको छ।
खोपको परीक्षण गर्दा कुनै पनि महिलालाई महिनावारी भए-नभएको बारेमा सोधिएको छैन।
‘यो कुरा स्पष्ट बुझिन्छ कि, खोप चाँडो भन्दा चाँडो ल्याउनका लागि यस विषयप्रति कुनै वास्ता गरिएन। छिटो स्वीकृत गरेर छिटै दिइयो, जुन वैज्ञानिक हिसावले ठीकै हो,’ स्त्रीरोग विशेषज्ञ डा. मोस्तफा बोराहेले बताइन।
पहिले पनि अन्य खोप जस्तै, ह्युमेन प्यापिलोमा भाइरसको खोपमा पनि महिनावारी गडबडी भएको भनेर अध्ययन गरिएको थियो। सन् २०१० र १३ मा जापानमा गरिएको अनुसन्धानमा पोस्ट भ्याक्सिन लक्षण देखिएको थियो।
त्यस्तै, अमेरिकाले सन् २०१३ र १७ मा गरेको अनुसन्धानमा इन्फ्लुएन्जा भाइरसको ट्रायलमा असामान्य रक्तश्राव भएको पाइएको थियो।
‘धेरैजसो महिलाहरु खुलेर आफ्नो महिनावारीमा हुने रक्तश्रावबारे छलफल गर्दैनन्। तर अबको खोपको ट्रायलमा भने यसबारे प्रश्नहरु राखेर सोध्न जरुरी छ’, उनले भनिन्।