लखिमपुरमा फसेका नेपाली भन्छन्- हामी गुरुद्वाराकाे शरणमा छाैं, घर जाने व्यवस्था सरकारले गरिदेओस्

हेल्थपोस्ट नेपाल

उत्तर प्रदेशको लखिमपुर खिरीमा नेपाल–भारत सीमा नजिक कैयौं नेपाली फसेका छन्। उनीहरू स्थानीय एक गुरुद्वारामा शरण लिएर बसिरहेका छन्।

गुरुद्वारामा शरण लिएका उनीहरू नेपाल फर्कन खोजिरहेका छन्। तर, तीन दिनभन्दा बढी बितिसके पनि घर नजिकै फसेका उनीहरू स्वदेश फर्कन सकिरहेका छैनन्।

 

उत्तराखण्डमा भारी वर्षापछि नदीमा धेरै पानी छोडिएको छ। जसकारण उत्तर प्रदेशको तराई क्षेत्रमा बाढीग्रस्त अवस्था सिर्जना भएको छ।नेपाल फर्कन नसकेपछि उनीहरू बाध्य भएर गुरुद्वारामा शरण लिन पुगेका हुन्।

नेपालमा व्यवसाय गरिरहेकी बिनोदिनी समान ल्याउन दिल्ली गएकी थिइन्। दिल्लीबाट फर्किर नेपाल आउँदा उनलाई लखिमपुर खिरीमा बस्नपरिरहेको छ। नदीमा पानीको बहाव बढी भएपछि नेपालतर्फ आउन उनलाई समस्या परेको छ।

बिनोदिनीले पानीका कारण आफूहरू फसकेको बताइन्। ‘पानीले रोकिदिएको छ, २४ घण्टाभन्दा बढी समयदेखि गुरुद्वारामा शरण लिएका छौं,’ उनले भनिन्।

घर फर्कन चाहिरहे पनि कुनै उपाय नरहेको उनले बताइन्। ‘घर जान चाहेका छौं। तर कसरी जाने? उडेर त जान मिल्दैन,’ उनले भनिन्,‘गुरुद्वारामा खाना त भेटिरहेको छ। तर, घरसम्म जाने बाटो नै छैन।’

लखनऊबाट नेपाल आउन उत्तर प्रदेशको लखिमपुर खिरी हुँदै आउनुपर्ने हुन्छ। तर, उत्तरखण्डबाट छोडिएको पानीका कारण नदीमा बाढी आएपछि तीन दिनदेखि नेपालीहरू सीमामा फसेका छन्।

‘लखनऊबाट नेपाल जानुपर्ने थियो। तर, नदीमा बाढी आएको छ,’ सीमामा फसेका सरजन सिंह भन्छन्,‘हामी तीन दिनदेखि गुरुद्वारामा शरण लिएर बसेका छौं।’

गुरुद्धाराका स–साना बालकदेखि ठूलावडाहरू त्यहाँ फसेका नेपालीहरूको सेवामा जुटेका छन्। गुरुद्वाराका तर्फबाट उनीहरूलाई समय समयमा खाना, खाजा र चिया उपलब्ध गराइरहेका छन्।

सीमामा फसेर आपत परेको बेला बास र गासको व्यवस्था मिलाएर गुरुद्वाराले आफूहरूमाथि ठूलो उपकार गरेको गणेश शिवनायक बताउँछन्।

‘वर्षाका कारण बाटो पूर्णरूपले बन्द छ। नाका नै बन्द भएको छ,’ शिवनायक भन्छन्,‘गुरुद्वारा नभइदिएको भए हामी भोकै बस्नुबाहेक अरू कुनै उपाय नै थिएन। गुरुद्वाराको तर्फबाट खाना, चाय नास्ता सबै पाइरहेका छौं। नेपालभन्दा बढी व्यवस्था गुरुद्वाराले गरिदिएको छ। यहाँ कुनै कमी छैन हामीलाई।’

वनवासाबाट छोडिएको पानीका कारण लखिमपुर खिरीस्थित पलिया र बिराबीचको सडक क्षतिग्रस्त भएको छ। सीमाको नदीमा बाढी आएको हो। र, भारतबाट स्वदेश फर्कने नेपालीहरू त्यहाँ फसेका हुन्।

गुरुद्वाराका सदस्य जसवीर सिंह सडक क्षतिग्रस्त भएर फसेका सबैका लागि आफूहरूले खान र बस्न व्यवस्था मिलाएको बताए।

‘पानीका कारण सडक बिग्रिएको छ। रेल्वे ट्र्याक पनि टुटेको छ,’ जसवीर भन्छन्,‘नेपाल र बिहारतर्फ जाने सबै यहाँ फसेका छन्। उनीहरू सबैका लागि खान, बस्न, नुहाइधुआईको व्यवस्था हामीले गरेका छौं। बच्चाहरूका लागि पनि सबै सुविधा दिने हामीले प्रयास गरेका छौं।’

गुरुद्वाराले सबैथोकको व्यवस्था गरे पनि त्यहाँ फसेका नेपालीहरू स्वदेश फर्कन आतुर छन्। सक्दो चाँडै सरकारले स्वदेश फर्कने वातावरण मिलाइदिएजस्तो उनीहरूलाई लागेको छ।

‘देश र आफ्नो घर जान चाहेका छौं। गुरुद्वाराले त सबैथोकको व्यवस्था गरिरहेको छ,’ सरजन भन्छन्,‘तर, घर भनेको घरै हुन्छ। यहाँ फसेर हामीलाई धेरै समस्या भइरहेको छ। घरसम्म पुर्‍याइदिने व्यवस्था सरकारले गरिदिओस् यही हाम्रो गुहार छ।’ बिबिसीकाे सहयाेगमा

 



Leave a Reply

Your email address will not be published.