सर्वोच्च अदालतको एउटा उदार फैसलाः मानसिक स्वास्थ्यलाई मध्यनजर गर्दै यसरी घटाइयो कैद सजाय

हेल्थपोस्ट नेपाल

१६ वर्षे कुश्मा (नाम परिवर्तन) ले फेसबुकमा गणेशलाई भेटिन्। दुवैले च्याट गर्न थाले। विस्तारै चिनाजानी बढ्न थाल्यो र एक अर्कालाई मन पराउन थाले।

सामाजिक सञ्जालमा बनेको जोडी च्याटमात्र गरेरमात्र कहाँ मन भरिन्थ्यो र। उनीहरुले आफ्नो सम्पर्क नम्बर साटासाट गरेर मोबाइलमै कुराकानी गर्न थाले।

एक दिन भेट्ने कुरा भयो।

यो २०७४ मंसिर २७ गतेको कुरा हो। गणेशलाई भेट्न भनेर कुश्मा नजिकैको जंगलमा गइन्। गणेश पनि त्यहीँ आए। एकान्त जंगलमा उनीहरु दुवैले शारीरिक सम्बन्ध बनाए। त्यसपछि दुवै घर फर्किए।

सम्बन्ध राखेको महिनादेखि कुश्मा महिनावारी हुन छाडिन्। गर्भवति भएको शंकाले उनको मुटुमा चिसो पस्यो। गणेशले केही सुझाउछन् कि भनेर कुश्मा उनलाई भेट्न गइन्। भेटेर उनले आफ्नो गर्भ रहेको बताइन्। तर गणेशले उनलाई साथ दिन मानेनन्, न त विवाह नै गर्ने आँट गरे। बरु कुश्मालाई बच्चा जन्मनेबित्तिकै मारेर फालिदिनु भन्दै त्यहाँबाट हिँडे।

त्यस दिनदेखि गणेश उनको सम्पर्कमै आएनन्। समाज तथा आमाबुबाले के भन्ने होला भन्ने डरले कसैलाई भन्नै सकिनन्। बढ्दै गएको पेट कसैले थाहा पाउलान् भनि ढाकिने कपडा लगाउँदै हिँडिन्। नौ महिना पुगेपछि २०७५ भदौ १८ गते उनलाई व्यथा लाग्यो। घरमा त्यतिबेला कोही थिएनन्।

कोही नभएको समयमा आफैँले बच्चा जन्माइन् कुश्माले। कसैले बच्चा रोएको वा उनले बच्चा पाएको थाहा पाउलान् भन्ने डरले भर्खरै जन्मेको छोरीलाई सास थुनेर हत्या गरिन्।

उनले गणेशले भनेबमोजिम नै शिशुको हत्या गरिन् र सिमेन्टको बोरामा पोको पारेर पानी बगेको ढलमा बगाइदिइन्। त्यस्तै, आफ्नो साल पनि सबै नजिकैको खेतमा फ्याँकेर केही नभएको जसरी बसिन्।

सोही दिन गाउँलेहरुले शिशुको शव देखेर प्रहरीलाई खबर गरिदिए। शिशुको शव कुश्माको घरभन्दा केही परमात्र बगेको थियो।

प्रहरी दुई दिनपछि कुश्माको घरमा सोधखोज गर्न आइपुग्यो। उनको हालत तथा बयानपछि उनलाई घरबाटै पक्राउ गरी लगियो।

यो पर्वतको फलेवास नगरपालिकामा भएको घटना हो।

नवजात शिशु हत्या (जातक हत्या) गरेको कसुरमा कुश्मालाई पर्वत जिल्ला अदालतले जन्मकैद सजाय तोकेको थियो। २५ वर्ष कैदको सजायलाई किशोरीको अवस्था र अनुसन्धानमा सहयोग गरेको भनेर सजाय कम गरी १२ वर्ष ६ महिनामा झारियो।

शिशुको हत्यामा परुष पनि भागिदार भएका कारण गणेश भनिने मनबहादुर मल्ललाई पनि पक्राउ गरिएको थियो। अदालतमा गणेशले आफूलाई लागेको आरोप झुठा भएको बताएका थिए, तर डिएनए परीक्षण गर्दा मिल्न गएका कारण उनलाई अदालतले ६ वर्ष कैद सुनाएको थियो।

गणेश पनि यस अपराधका लागि उत्तिकै जिम्मेवार रहेको भन्दै सरकारी वकिल कार्यालय पर्वतले उच्च अदालत पोखराको बागलुङ इजलासमा पुनरावेदन गरेका थिए।

त्यस्तै, कुश्माले आफू किशोरी नै रहेको, उक्त समयमा ठीक–बेठीक निर्णय छुट्याउन नसकेको, समाजबाट तिरस्कृत हुने डरले शिशुको हत्या गरेको बयानपछि सजाय घटाएर ५ वर्ष कायम गरियो। मनबहादुरको सजाय ४ वर्ष हुने फैसला भयो।

तर हालै सार्वजनिक गरिएको सर्वोच्च अदालतको पूर्णपाठमा कुश्माको सजाय घटाएर दुई वर्ष बनाइएको छ।

सर्वोच्च अदालतले कुश्माको कोखको बच्चा स्वीकार्न पुरुष तयार नभएको र उनी मानसिक रुपमा अपरिपक्व रही नाबालिककै अवस्थामा रहेको हुँदा उचित निर्णय गर्न सक्ने क्षमता पनि विकास नभएको बताएको छ।

असुरक्षित यौनसम्बन्ध हुन गई गर्भ रहन गएको, घरपरिवार, छरछिमेकी तथा समाजको तिरस्कार, लोकलज्जा तथा सम्भावित घृणाका कारण लुकाएर राखेको कारणहरुलाई ध्यानमा राखेर न्यायपूर्ण सजाय हुनुपर्ने अदालतको ठहर छ।

उनको उमेर र मानसिक स्वास्थ्यलाई मध्यनजर गर्दै अदालतले जातक हत्याको कसूर मानेर दुई वर्ष सजाय तोकिदिएको छ।

कुश्माले दुई वर्ष कैद थुनामा बसी भुक्तानी भईसकेकाले उनलाई अदालतले फागुन ७ गते थुनामुक्त पनि गरिसकेको छ।

उक्त फैसला न्यायाधीश इश्वरप्रसाद खतिवडा र न्यायाधीस हरिप्रसाद फुयालको संयुक्त इजलासले गरेको हो।

 



Leave a Reply

Your email address will not be published.