७ लाखमा सीमित भयो करोड जुटाउने लक्ष्य राखेको सहायता कोष
भरतपुर अस्पतालमा निम्न आयस्तरका बिरामीको सहयोगार्थ स्थापित ‘गरिब तथा विपन्न नागरिक उपचार कोष’को आधार स्थापनाकालभन्दा घटेको छ । गरिब तथा विपन्न वर्गका बिरामीको उपचारमा सहायता गर्न २ वर्षअघि ८ लाख ५१ हजार रूपैयाँ संकलन गरेर स्थापना गरिएको कोषमा अहिले साढे ७ लाख रूपैयाँ मात्र छ । एक करोड रूपैयाँ पुर्याउने लक्ष्य लिइएको कोषमा त्यसअनुसार रकम संकलन हुन नसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले बताए । ‘विभिन्न संघ–संस्थाको सहयोगमा एक समय कोषमा १३ लाख रूपैयाँसम्म पुगेको थियो । तर, पछिल्लो समय रकम जम्मा नहुँदा कोषको आधार खुम्चिरहेको छ,’ उनले भने, ‘हामीले लक्ष्यअनुसार काम गर्न सकेनौँ ।’
अस्पतालले कोष सञ्चालनका लागि निर्देशिका पनि बनाएको छ । सरकारले निःशुल्क दिने सेवाबाहेकका सेवामा सहयोग गर्ने निर्देशिकामा उल्लेख छ । सामाजिक सेवा एकाइ, सरकारले दिने निःशुल्क सेवा र स्वयम् अस्पतलबाट हुने अप्रेसन, प्रयोगशाला परीक्षणबाहेक अन्य उपचारमा आर्थिक व्यवस्थापनमा समस्या देखिने भएकाले अक्षयकोषको स्थापना गरिएको मेसु पौडेलको भनाइ छ ।
‘सरकारी अस्पतालबाट १२ वटा लक्षित वर्ग तथा समुदायलाई निःशुल्क उपचार गर्ने सरकारको कार्यक्रम छ । त्यसमा चेपाङ, मुसहर, दलितलगायत सीमान्तकृत जाति पर्छन् । त्यसबाहेक बाहुन, क्षेत्री, ठकुरीलगायत समुदायमा पनि गरिबको संख्या ठूलो छ । सरकारी नीतिमा उनीहरूले उपचार पाउने देखिएन । उनीहरू उपचारबाट वञ्चित हुने भए,’ पौडेलले भने, ‘सरकारको कार्यक्रममा नपरेका वर्गलाई लक्षित गरी गरिब तथा विपन्न नागरिक कोषको स्थापना गरेका हौँ ।’
अस्पतालमा उल्लेख्य मात्रामा बेसाहारा बिरामी उपचारका लागि आउँछन् । गत वर्ष मात्रै ५ जनालाई कोषमार्फत विशिष्टीकृत उपचार सेवा दिइएको थियो । हालसम्म यो कोषमार्फत १० जनाले सेवा पाएको अस्पतालले जनाएको छ । मानव सेवा आश्रममा आश्रित पिठ्युँको जोर्नी भाँचिएका बिरामीको उपचार, पहाडी तथा दुर्गम क्षेत्रका विपन्न बिरामीको जोर्नी प्रत्यारोपण गर्न कोषमार्फत सहयोग भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।
कडा रोगका लागि सरकारले अनुदान दिँदै आएको छ । जसमा स्पाइनल इन्जुरी, डाइलाइसिस, मुटुरोगलगायत १२ रोगको उपचारमा एक लाख रूपैयाँ सरकारले सहयोगस्वरूप उपलब्ध गराउने गरेको छ । तर, ती रोगको उपचारका लागि एक लाख रूपैयाँ पर्याप्त नहुने भएकाले उनीहरूको सहयोगका लागि कोषको उपयोग गर्ने लक्ष्य रहेको उनले बताए । बिरामीहरू कडाखाले रोग लिएर अस्पताल आएका हुन्छन् । उनीहरूको उपचार सरकारले दिने एक लाख रूपैयाँले मात्र सम्भव हुँदैन,’ उनले भने, ‘रोग लिएर अस्पताल आएको कुनै पनि नागरिक पैसाको अभावमा उपचारबाट वञ्चित नबनोस् भनेर कोषको स्थापना गरेका हौँ ।’ अस्पतालले विभिन्न दातृनिकायबाट रकम जम्मा गर्ने गरी गरिब तथा विपन्न नागरिक उपचार कोषको स्थापना गरेको हो ।
अस्पतालमा उल्लेख्य मात्रामा बेसाहारा बिरामी उपचारका लागि आउँछन् । गत वर्ष मात्रै ५ जनालाई कोषमार्फत विशिष्टीकृत उपचार सेवा दिइएको थियो । हालसम्म यो कोषमार्फत १० जनाले सेवा पाएको अस्पतालले जनाएको छ । मानव सेवा आश्रममा आश्रित पिठ्युँको जोर्नी भाँचिएका बिरामीको उपचार, पहाडी तथा दुर्गम क्षेत्रका विपन्न बिरामीको जोर्नी प्रत्यारोपण गर्न कोषमार्फत सहयोग भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।
तत्कालीन अस्पताल विकास समितिका अध्यक्ष विजय सुवेदीको कार्यकालमा सुरु भएको यो कोष पछिल्लो समय निष्क्रियजस्तै छ । आगामी दिनमा कार्ययोजना बनाएर कोषमा रकम वृद्धि गर्न लागेको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष खिमलाल भण्डारीले बताए । ‘हामीले पछिल्लो समयमा यस कोषमा रकम वृद्धि गर्नका लागि महानगरपालिका, विभिन्न दातृनिकायसँग परामर्श गर्ने योजना बनाएका छौँ,’ उनले भने, ‘निष्क्रिय रहेको समितिलाई सक्रिय बनाउन लगेका छौँ ।’ सरकारले नै व्यवस्था गरेका निःशुल्क सेवा तथा छुट दिन कुनै अप्ठ्यारो छैन । तर, विशिष्टीकृत सेवाका लागि भने कठिनाइ छ । कोषमा रकम थप भएमा असहाय बिरामीका लागि पनि सबै उपचार निःशुल्क गराउन सहज हुने भण्डारीले बताए ।