कोरोनाबाट मृत्यु हुने ११ हजार मध्ये कुन उमेर समूहका कति?

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ११ हजार ४० जनाको मृत्यु भइसकेको छ।
त्यसैगरी, निको हुनेको संख्या ७ लाख ४९ हजार २१३ पुगेको छ। आइतबार सक्रिय संक्रमितको संख्या २४ हजार ३१३ रहेको छ।
हालसम्म ८ लाख ७३ हजार ५३४ मा कोरोना संक्रमण पुष्टि भइसकेको छ। चीनको वुहानबाट सुरु भएको कोभिड–१९ को संक्रमण नेपालमा पहिलो पटक २०७६ को माघ १० गते पुष्टि भएको थियो।
कोरोनाका कारण नेपालमा पहिलो पटक २०७७ जेठ ३ मा एक जनाको मृत्यु भएको थियो। सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षिया सुत्केरी महिला थिइन्।
कोरोना सबैभन्दा धेरै २०७८ जेठ ५ मा २४६ जनाको मृत्यु भएको थियो। सबैभन्दा कोरोनाबाट मृत्यु काठमाडौं जिल्लामा भएको छ। जसमा २ हजार १२९ छ।
कोरोनाको पहिलो लहर २०७७ चैत १ सम्ममा ३ हजार १४ जनाले ज्यान गुमाएका थिए। त्यसयता ८ हजार २६ जनाको संक्रमणकै कारण मृत्यु भएको छ।
मृत्यु हुनेमध्ये सबैभन्दा धेरै ६० देखि ६९ वर्षसम्मका छन्। मन्त्रालयको तथ्यांकअनुसार ६० देखि ६९ बर्षसम्मका २ हजार ३२८ जनाको मृत्यु भएको छ।
त्यस्तै, ७० देखि ७९ उमेर समूहका २ हजार १७३, ५० देखि ५९ उमेर समूहका २ हजार १५१, ४० देखि ४९ उमेर समूहका १ हजार ५७४ जनाको संक्रमणको कारण ज्यान गुमाएका छन्। त्यस्तै, ८० बर्षभन्दा माथि १ हजार ४५८, ३० देखि ३९ उमेर समूहका ८९६, २० देखि २९ बर्षका ३४७ जनाको मृत्यु भएको छ।
मन्त्रालयको तथ्यांक अनुसार १० देखि १९ बर्षसम्मका ५४ किशोर–किशोरी र ० देखि ९ बर्षका ४७ बालबालिका कोरोनाको कारण निधन भएको छ। त्यस्तै १२ जना अज्ञात रहेको मन्त्रालयले जनाएको छ।
अक्सिजनको हाराहार, बेडको अभावको कारणले पनि दोस्रो लहरमा धेरै जनाले ज्यान गुमाएका थिए। मन्त्रालयको तथ्यांक अनुसार कोरोनाका कारण मृत्यु हुने दर १ दशमलव ५ प्रतिशत छ। नेपालमा कोरोनाबाट मृत्युहुने दर भुटान, भारत, माल्दिभ्स, भन्दा बढी छ।
भारतमा मृत्युदर १ दशमलव ३, भुटानमा ० दशमलव १, माल्दिभ्समा ० दशमलव ३ प्रतिशतको मृत्यु भएको छ। त्यसैगरी, अफगानिस्थानमा ४ दशमलव ६, बंगालदेशमा १ दशलमव ७, पाकिस्तानमा २ दशमलव २ र श्रींलकामा २ दशमलव १ प्रतिशत रहेको छ।