मनसुन फेरि सक्रिय : देशभरि भारी वर्षा, काठमाडौंका नदी खोलामै बाढीकाे खतरा

केही दिन थामिएको झरी फेरि सुरु भएको छ। पछिल्ला दिनमा हल्कादेखि मध्यम वर्षा भए पनि आइतबार रातिबाट भारी वर्षा भइरहेको छ। काठमाडौं, सिन्धुली लगायतका क्षेत्रमा आइतबार रातिदेखि नै पानी परिरहेको छ। साधारणतया जुन १० बाट सुरू भएर नेपालमा सेप्टेम्बर २३ सम्म मनसुन सक्रिय हुन्छ।
काठमाडौं उपत्यकामा आइतबार रातिदेखि नै वर्षा भइरहेको छ। सोमबार बिहान पनि वर्षा थामिएको छैन। लगातार ६ घन्टाको वर्षाले बागमती र यसका सहायक नदीमा जलसतह बढेको छ। बागमती नदी खोकनास्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता पार गरेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। वर्षा जारी रहेकाले थप सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
बुढानिलकण्ठ, सुन्दरजल लगायतका वर्षा मापन केन्द्रमा भारी वर्षा भएको हो।
यसैगरी, सिन्धुलीमा पनि भारी वर्षा भएको छ। हरिहरपुरगढी र त्यस क्षेत्रमा पछिल्लो ६ घन्टामा भारी वर्षा भएपछि महाशाखाले तटीय क्षेत्रका बासिन्दाको मोबाइलमा अलर्ट एसएमएस जारी गरेको छ। मोबाइल प्रदायक कम्पनीहरूको सहकार्यमा एसएमएस पठाइने गरिन्छ । आकस्मिक बाढी र ढुवानको जोखिम बढेको हो।
त्यस्तै, चितवनको माडी क्षेत्रको छर्छरे, कल्याणपुर, कनकट्टा, गोविन्दवस्ती र आसपासका क्षेत्रमा तीन घन्टादेखि पानी परिरहेको छ।
सोमबार बिहान प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकरदुई स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा पर्दा पानी परिरहेको हो। सोमबार दिउँसो धेरै स्थानमा वर्षाको सम्भावना छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको रहेको महाशाखाले उल्लेख गरेको छ।
राति गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै तथा प्रदेश १, बागमती र लुम्बिनीका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
मंगलबार पनि धेरै स्थानमा वर्षाको आँकलन गरिएको छ । महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै र प्रदेश १, बागमती तथा लुम्बिनीका एकरदुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ।
बुधबार भने झरी केही थामिने देखिन्छ। बुधबार देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको प्रक्षेपण गरिएको छ।