बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार रेग्मीले दिए राजीनामा

बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार मोहनचन्द्र डा. रेग्मीले राजीनामा दिएका छन्।
सरकारले गरिरहेको छानबिनलाई सहयोग पुगोस भन्ने उनको तर्क छ ।
रेग्मीले सरकारले गठन गरेको छानविन समितिलाई सहयोग पुगोस् भनेर राजिनामा दिएका बताएका छन्।शुक्रबार प्रतिष्ठानका आन्दोलरत पक्षले आफूहरुको माग पुरा गर्न सरकारलाई ७ दिने अल्टिमेटम दिएका थिए।
प्रतिष्ठानको समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन कार्यदलले स्थलगत अध्ययनका क्रममा प्रतिष्ठानको आम्दानी घट्दै गएको, शैक्षिक स्तर क्रमश खस्कँदै गएको भन्दै प्रतिष्ठानका पदाधिकारीमाथि कारबाही गर्नु पर्ने सिफारिस गरेको थियो ।
बिपी प्रतिष्ठानको शुद्धीकरण अभियान सञ्चालन गरेर प्रतिष्ठान सुधारका विभिन्न मागहरु राख्दै आइरहेका संयुक्त संघर्ष समितिले आफ्ना मागहरु पुरा सरकारलाई ७ दिने अल्टिमेटम दिएका छन्।
यस्तो छ आन्दोलनरत पक्षको ६ बुँदे माग
१. नेपाल सरकार स्वास्थ्य मन्त्रालयले हामीसँग २४ दिनअगाडि गरेको सम्झौता द्रुतगतिमा पालना गरियोस्।
२. प्रधानमन्त्री र प्रा. डा. गोविन्द केसीबीच १० दिन अगाडि भएको सम्पूर्ण सम्झौता कार्यान्वयन गरियोस्।
३. बैकुण्ठ अर्याल नेतृत्वमा नेपाल सरकारको उच्चस्तरीय छानबिन समिति टोलीले बुझाएको छानबिन कमिटिको प्रतिवेदनमा राखिएकै समयतालिका अनुसार लागू गरियोस्।
४. हालै नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले ’स्वास्थ्य सेवा’ र ’शैक्षिक गतिविधि’को अध्ययन प्रतिवेदन तुरुन्त सार्वजनिक गरियोस्।
५. पदाधिकारीहरु छनोट मापदण्ड तयार गर्दा चिकित्सा शिक्षामा अनूभवी कम्तिमा २ जना प्राध्यापकहरु सम्लग्न गरियोस् । सो मापदण्ड निर्धारण भैसकेपश्चात पदाधिकारी छनोट विज्ञ प्राध्यापकहरुको समूहले नै गर्ने वातावरण सुनिश्चित गरियोस्।
६. उपकुलपतिको हकमा प्राध्यापक भए नभएको कागजात मन्त्रालयलाई बुझाइसकेको हुनाले कानूनी प्रकृया अघि बढाइयोस्।