मोलमोलाइमा अतिरिक्त शुल्क असुलीविरुद्ध गण्डकी मेडिकल कलेजमा विद्यार्थीको तालाबन्दी
पोखरास्थित गण्डकी मेडिकल कलेज (जिएमसी)का विद्यार्थी र तिनका अभिभावक कलेजले मनपरि ढंगले तोकिएभन्दा बढी शुल्क लिएको विरोधमा आन्दोलनमा उत्रिएका छन् । अतिरिक्त शुल्क नतिरे फेल गराइदिनेसम्मको धम्की दिँदै विद्यार्थीपिच्छे छुट्टाछुट्टै मोलमोलाइमा कलेजले मनपरि अतिरिक्त शुल्क लिने गरेको र त्यसको कुनै रसिद वा प्रमाण उपलब्ध नगराएको उनीहरुको गुनासो छ । कलेजले लिएको अतिरिक्त रकम फिर्ता गर्नुपर्ने, आफूले तिरेका सबै शुल्कको रसिद पाउनुपर्नेलगायत माग आन्दोलित विद्यार्थी तथा अभिभावकको छ ।
मन्त्रिपरिषद्ले पाँचवर्षे एमबिबिएस कोर्सका लागि अधिकतम ४२ लाख शुल्क लिन पाउने निर्णय गरेको छ । तर, कलेजले बर्सेनि अतिरिक्त ३ लाखभन्दा बढी रकम रसिद उपलब्ध नगराई नगदमा तिर्न बाध्य पारेको विद्यार्थी तथा अभिभावकको भनाइ छ । यस हिसाबले पाँच वर्षमा १५ लाखभन्दा बढी रकम तोकिएभन्दा बढी तिर्न विद्यार्थी बाध्य छन् । कलेजले विद्यार्थीपिच्छे फरक शुल्क उठाएको र कम तिर्नेले पनि ५५ लाखसम्म तिर्नुपर्ने उनीहरुले बताएका छन् ।
पछिल्लोपटक आन्दोलित विद्यार्थी तथा अभिभावकले लेखनाथ अर्घौंमा रहेको कलेजमा बिहीबार तालाबन्दी गरिदिएका छन् । विशेषगरी २०१५, ०१७ र ०१८ ब्याचका विद्यार्थीहरूले चर्को शुल्क लिएको विरोधमा आन्दोलित छन् ।उनीहरूले अघिल्लो वर्ष पनि आन्दोलन गरेका थिए । तीनबुँदे सहमतिपछि आन्दोलन रोकिएको थियो । तर, कलेजले अवैध शुल्क लिन नछाडेको गुनासो अभिभावकहरुको छ । अहिले पनि मनपरि लिइएको शुल्क फिर्ता गर्न मागसहित तीनवटै ब्याचका विद्यार्थीले आन्दोलन चलाएका हुन् । सरकारको निर्णय कार्यान्वयन गर्न र विद्यार्थीले तिरेका सम्पूर्ण रकमको बिल तत्काल उपलब्ध गराउन उनीहरूको माग छ ।
अहिले कलेजले लिएको बढी रकम फिर्ता गर्नुपर्ने प्रमुख माग अभिभावको छ । उनीहरूले जिल्ला प्रशासन कार्यालयमा समेत उजुरी गरेका छन् । अभिभावकले प्रधानमन्त्री, शिक्षामन्त्री, उपकुलपति, डिन र अनुगमन निर्देशनालयको समेत ध्यानाकर्षण गराएका छन् । सरकारले तोकेको शुल्क लिने विषयमा १५ पुसमा सहायक डिन राजेन्द्रप्रसाद गुरागाईं र अखिल नेपाल विद्यार्थी युनियनबीच समझदारी भएको थियो ।
तीन वर्षअघि सरकारले एमबिबिएस तहका लागि शुल्क ४२ लाख ४५ हजार रुपैयाँ तोकेको थियो । तर, कलेजले शुल्क निर्धारण गरेकै वर्ष भर्ना भएका विद्यार्थीसँग ५५ लाख रुपैयाँभन्दा बढी रकम लिएको अभिभावकले बताएका छन् ।
सन् २०१६ मा एमबिबिएसमा छोरालाई भर्ना गराएका नवराज दवाडीले हालसम्म ४८ लाख रुपैयाँ बुझाइसकेको बताए । ‘मैले ४८ लाख बुझाइसकेँ । तर, रकम बुझाएको प्रमाण केही पनि छैन,’ उनले भने, ‘विद्यार्थीको नाममा चेक काटेर कलेजलाई नगद बुझाउने हो । अझै ७ लाख बुझाउन बाँकी भन्छन् ।’ तीन वर्षको भनिएको अतिरिक्त शुल्क ३ लाख ३५ हजारका दरले ७ लाख ५ हजार रुपैयाँ बुझाउन बाँकी रहेको उनले सुनाए ।
तीन वर्षअघि सरकारले एमबिबिएस तहका लागि शुल्क ४२ लाख ४५ हजार रुपैयाँ तोकेको थियो । तर, कलेजले शुल्क निर्धारण गरेकै वर्ष भर्ना भएका विद्यार्थीसँग ५५ लाख रुपैयाँभन्दा बढी रकम लिएको अभिभावकले बताएका छन् ।
कलेजले सरकारले तोकेको रकम नियमअनुसार कलेजको खातामा जम्मा गर्नु लगाउने र त्योबाहेकको रकमचाहिँ अभिभावकसँग नगद असुल्ने गरेको छ । सुरुमा भर्ना गर्दा नै कलेजले विश्वविद्यालयको नियमविपरीत कलेज छनेर आएका विद्यार्थीलाई बोलाएर छुट्टाछुट्टै डिल गरिएको थियो । कलेजमा यस्तो अवस्था छ कि –कुन विद्यार्थीसँग कति रकम लिएको छ, त्यसको यकिन छैन ।
कलेजले डिल गरेअनुसार रकम नतिरे विद्यार्थीलाई फेल गराइदिने चेतावनी दिएकै कारण लामो समयदेखि सहेरै खुरुखुरु शुल्क बुझाईरहेको अभिभावकहरु बताउँछन् । कास्कीका प्रमुख जिल्लाअधिकारी चक्रबहादुर बुढाले घटना बुझ्नका लागिआईतबार दुवै पक्षलाई बोलाएको बताए । उनले सरकारले तोकेभन्दा बढी शुल्क लिन नपाइने भन्दै लिएको भए कारण खुलाएर रसिद दिनुपर्ने बताए । गलत गरेको पाइए कानूनी कारवाहीको दायरामा ल्याउने उनको भनाइ छ ।
कलेज बन्द गराउने षड्यन्त्र– कलेज
कलेजका अध्यक्ष खुमा अर्यालले कलेज बन्द गराउने षड्यन्त्र भएको बताए । ‘केही मान्छेहरू कलेजलाई ध्वस्त पार्ने योजनामा छन् । ४ वर्षअघिका विद्यार्थी फिर्ता होस् भनेर लागेका छन् । यो भन्नु नै कलेज बन्द गर भनेको हो,’ उनले भने, उनले त्रिविले नै केही शुल्क कलेजले निर्धारण गर्न पाउने व्यवस्था गरेको भन्दै त्यसबाहेक बढी शुल्क नलिएको बताए । शुल्कको विषयलाई लिएर केही व्यक्तिहरू बार्गेनिङमा लागिरहेको अर्यालको आरोप छ ।
केमा कति अतिरिक्त शुल्क ?
सरकारले तोकेको शुल्कले समेट्ने शीर्षकबाहेक विद्यार्थीले खाना र छात्राबासको १५ हजार छुट्टै बुझाउँदै आएका छन् भने परीक्षा शुल्कका लागि ६ हजार ५ सय बुझाउँछन् । सरकारले तोकेको ४२ लाख ४५ हजार र छात्राबास तथा खाना शुल्कबाहेक १३ लाख हाराहारीमा बढी शुल्क विद्यार्थीले कलेजलाई बुझाएको दावी गर्छन् ।
इन्टर्नसिप फी १ लाख ८० हजार, बार्षिक शुल्क २ लाखका दरले ५ बर्षको १० लाख, विश्वविद्यालय रजिस्टर शुल्क एकमुष्ट ४५ हजार, शैक्षिक कर ४२ हजार ४ सय ५० र सेक्युरिटी डिपोजिट ५० हजार (९० प्रतिशत फिर्ता हुने) रकम कलेजले थप असुली गरेको अभिभावकहरूले बताए ।