
काठमाडौं उपत्यकासहित देशका केही स्थानमा सोमबार बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको प्रभावका कारण देशका केही स्थानमा वर्षा भइरहेको जनाएको छ।
अहिले काठमाडौं उपत्यकासहित प्रदेश १, बागमती, गण्डकी, लुम्बिनीका केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको महाशाखाले जनाएको छ। वर्षा बुधबारसम्मै जारी रहने महाशाखाको अनुमान छ।
आज प्रदेश १, बागमती र गण्डकीका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। दिउँसो केही बेर पानी पर्न रोकिए पनि साँझपख पुन: वर्षाको सम्भावना रहेको छ।
लगातारको वर्षाका कारण भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोला वरपरका बासिन्दालाई सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।