पाटन अस्पतालमा नन् कोभिडका बेड अभाव, बिरामीले भर्ना पाएनन्

हेल्थपोस्ट नेपाल

 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान कोरोनाबाहेकका जनरल बिरामीले पनि भर्ना पाउन सकेका छैनन्।  अस्पतालले छुट्याएको ननकोभिडका सबै बेड भरिभाउ भएपछि बाँकी बिरामीले भर्नाका लागि समेत पालो कुरेर बस्नुपर्ने बाध्यता छ।

अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार पछिल्ला केहीदिनयता नन कोभिडका बिरामीको चाप एकदमै बढ्दो छ।  नन कोभिड बिरामी लागि अस्पतालले ३५० बेड छुट्याएको छ।

तर, आइतबारको तथ्यांक अनुसार ३ सय ७१ भन्दा बढी नन कोभिडका बिरामी भर्ना छन्।

‘हामीसँग रहेका सबै ननकोभिडका बेड भरिएका छन्। पहिला–पहिला कोभिडका बिरामी बढेपछि नन कोभिडका बिरामीको संख्या घट्ने गरेको थियो,’ डा. शाक्यले भने, ‘ मानिसहरू लामो महामारीमा अन्य रोगलाई वेवास्ता गर्दा अहिले नन कोभिडको बिरामीको चाप बढेको छ।’

उनका अनुसार नन कोभिडका बिरामी भर्ना हुनका लागि पालो कुरेर बस्नुपर्ने बाध्यता छ।

त्यसैगरी, ओपीडीमा आउने बिरामीको संख्यामा पनि बढिरहेको अस्पतालको प्रशासनले जनाएको छ।  डा. शाक्य अनुसार हाल एक हजारभन्दा बढीले ओपीडी टिकट काट्ने गरेका छन्।

नन कोभिडका लागि छुटाइएको आइसियू बेड पनि भरिभाउ नै छन्।  अस्पतालका प्रशासनका अनुसार ८ मेडिकल तथा ६ वटा सर्जिकल आइसियू बेड भरिएका छन्।

‘नन कोभिडका बिरामीका आइसियू बेड भरिएका छन्। अहिले थप बिरामीलाई भर्ना गर्न सक्ने अवस्था छैन। कोभिडका बिरामी भन्दा नन कोभिड भर्ना गर्न मुस्किल छ,’ उनले भने।

उनका अनुसार ब्लड प्रेसरका औषधि आएका बिरामी, मधुमेह, मानसिक रोगका लगायतका दीर्धकालिन रोगका बिरामीको भर्ना हुने चाप बढिरहेको छ।  त्यसैगरी, कोभिड तर्फ २ सय १० बिरामी भर्ना भएका छन्।

‘अहिले बिरामीको तथ्यांक हेर्दा तेस्रो लहर आइसकेको छैन। हामी अहिले दोस्रो लहरको उच्च अवस्था छौं। केही समय अगाडी भर्ना भएका बिरामी अहिले बिरामीको हकमा लक्षण उस्तै छ,’ डा. शाक्य भन्छन्।

‘असारको अन्तिममा दैनिक दश जना बिरामी भर्ना गर्ने गरेका थियौं। तर, पछिल्ला दिनमा लकडाउन खुकुलो बिरामीको संख्या बढने क्रम जारी छ। आजै मात्रै ३० जना नयाँ सक्रमित भर्ना भएका छन्,’ उनले भने।’

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार आजभोलि कोरोना संक्रमणबाट मृत्यु हुनेको तथ्यांक भने बढ्दै गएको छ।  दैनिक जसो करिब ३० जनाभन्दा बढीको संक्रमणबाट निधन भइरहेको छ।

तर, पाटनमा भने मृत्युदर स्थिर नै रहेको छ।  डा. शाक्यका अनुसार पाटनमा दैनिक जसो सरदर २ जनाको मृत्यु भइरहेको छ।

‘कोरोना संक्रमणबाट पाटनमा मृत्यु हुने संख्या सरदर २ जना छ। दोस्रो लहरको उच्च अवस्थामा ९ जनाको मृत्यु भएको थियो। अहिले पनि सरदर दुई जनाले ज्यान गुमाएका छन्,’ उनले भने।

अहिले १३ भेन्टिलेटर सहित २५ जनाको उपचार भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ। डा. शाक्यका अनुसार अधिंकाश कोरोना संक्रमित निमोनियाका कारणले अस्पताल भर्ना हुने गरेका छन्।

दोस्रो लहरमा उच्च अवस्थामा कोरोनाका बिरामीले बेड नपाउने अवस्था थियो। तर, अहिले समान्य लक्षण भएका बिरामी घरमै बस्ने प्रवृति बढ्दो छ। स्वास्थ्य मन्त्रालयले तेस्रो लहर असोजमा अन्तिममा देखि आउने प्रत्क्षेपण गरेको छ।

तेस्रो लहर आएको खण्डमा बिरामीको उपचारको तयारीमा जुटिसकेको अस्पताल प्रशासनले जनाएको छ। ‘तेस्रो लहरका लागि तयारीमा जुटेका छौं। अस्पतालमा छुट्टै अक्सिजन प्लान्ट जडान सात दिन भित्रमा तयारी गर्ने योजनामा छौं,’ डा. शाक्यले भने।



Leave a Reply

Your email address will not be published.