नेपालमा सक्रिय संक्रमित ४० हजार नाघे , प्रवक्ता पौडेल भन्छन् – अझै संक्रमित पहिचान गर्न सकेका छैनौं
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको पहिचान गर्न कठिन भएको जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले अधिकांश व्यक्तिहरू लक्षण लिएर घरमा बस्दा थप समस्या भएको बताए।
‘धेरै व्यक्तिहरू सामान्य लक्षण भएर घरमा बसिराख्नु भएको छ। उहाँहरू परीक्षणको दायरामा नगएकाले पक्का संक्रमित पत्ता लगाउन सकेका छैनौं,’ डा. पौडेलले भने, ‘जनस्वास्थ्यको मापदण्ड पालना गराउन कमीकमजोरी भएकाले संक्रमणमा फैलिइरहेको छ।’
डा. पौडेलले कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको जानकारी दिए।
ज्वरो आउने, सास फेर्न गाह्रो हुने, शरीर दुख्नेजस्ता लक्षण छन् भने नजिकको स्वास्थ्य केन्द्रमा गएर परीक्षण गराउन डा. पौडेलले सबैलाई आग्रह गरे। ‘सबै सरकारी स्वास्थ्य संस्थामा लक्षण भएका बिरामीको निःशुल्क उपचार हुन्छ। केही लक्षण देखिएको खण्डमा तुरून्तै परीक्षण गराउनुहोस्,’ उनले भने।
कोरोना सक्रिय संक्रमितको संख्या ४० हजार नाघ्यो
नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको छ। जसमध्ये ३ हजार ५३२ जनाको अस्पतालमा उपचार भइरहेको छ। त्यसैगरि, ३६ हजार ८०६ होम आइसोलेसनमा छन्।
मन्त्रालयको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १७ हजार नाघेको छ। जसमध्ये ६ लाख ८९ हजार १९३ जना निको भइसकेका छन्। केही दिनयता संक्रमण तीव्र गतिमा फैलिइरहको छ।
दैनिकरूपमा ३ हजारभन्दा माथिमा संक्रमण पुष्टि भएको छ। पछिल्ला दिन गम्भीर बिरामीको भर्ना हुने संख्या पनि बढिरहेका तथ्यांकले देखाएको छ। पछिल्लो विवरणअनुसार देशभर ७७० जना सघन उपचार कक्ष (आइसियु) मा र १८६ जना भेन्टिलेटरमा उपचाररत छन्।
नेपालमा विगत २४ घण्टामा कोभिडका कारण ४२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ३९६ पुगेको छ। काठमाडौं उपत्यकामा हाल ११ हजार ७५८ जना सक्रिय संक्रमित रहेका छन्।
नेपालभरि २१ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् भने थप १७ जिल्लामा २०० देखि ४९९ सक्रिय संक्रमित रहेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
नयाँ समिति लाइ बिन्ती छ, नेपाल मा शहर भन्दा गाउँमा कोरोना को प्रकोपले भयावह रुप लिदै छ!गाउँमा अनुगमन छैन,सुरक्षा निकाय छैन,स्वास्थ्य उपचार छैन, मास्क कसैले लगाउदैन,कोरोना बारेको शिक्षा मा सरकारि निकायको लगानी सुन्य छ! कृपया गाउँ मा तपाईं हरुको आफन्त हरु नभए पनि भोटर हरु त्यहीँ बस्छन अनि उनीहरुको सुरक्षा मा यो नयाँ समितिको ध्यानाकर्षण गराउन चाहन्छु! कमसेकम गाउँमा प्रहरी वा शसस्त्र प्रहरी परिचालन गरि निषेधाज्ञा को अनुगमन मा कडाइ गर्न जिल्ला प्रमुखहरूलाई कडा निर्देशन दिएर सुरक्षा प्रदान गरियोस!