पूर्वस्वास्थ्य मन्त्री थापाको प्रधानमन्त्री देउवालाई अनुरोध – विद्यार्थीको स्वास्थ्यमाथि खेलबाड नगरौं

हेल्थपोस्ट नेपाल

पूर्वस्वास्थ्य मन्त्री गगन थापाले विद्यार्थी भविष्य र स्वास्थ्य माथि खेलवाड नगर्न प्रधानमन्त्री शेर बहादुर देउवासँग अनुरोध गरेका छन्।

भौतिक उपस्थितिमै त्रिविलगायतका परीक्षा सञ्चालन भइरहेकोले विद्यार्थीको स्वास्थ्य जोखिममा रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका हुन्।

‘एकातिर स्वास्थ्य मन्त्रालयले तेस्रो लहरबारे बताइरहने अर्कोतर्फ यसरी परीक्षा सञ्चालन गरेर काेराेना संक्रमणको जोखिम बढाइरहने?कि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराऊ नत्र वैकल्पिक माध्यमबाट परीक्षा चलाऔं ! तर,विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलबाड नगरौं,’ थापाले भने।

यसबारे आफूले प्रधानमन्त्रीसँग भेटेर कुरा गरेको थापाले आज बिहान ट्वीट गर्दै उल्लेख गरेका छन्। ‘यस बारेमा हिजो साँझ प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराएको छु। उहाँले यो विषयलाई गम्भिरताका साथ लिनुभएको छ र तत्काल पहलकदमी लिई ठोस निर्णय लिने कुराको विश्वास दिलाउनु भएको छ,’ थापाले भनेका छन्।

‘वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्न ध्यानाकर्षण गराउँदा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी परीक्षा सञ्चालन भइरहेका छन्। एउटै हलमा धेरै विद्यार्थी राख्दा हुने संक्रमणको जोखिम त छ नै संक्रमितलाई समेत छुट्टै व्यवस्था नहुदा उनीहरू आफ्नो अवस्था लुकाइ परीक्षा दिन बाध्य छन्,’ थापाले भने।

सरकारले कक्षा १२ को परीक्षा रोके पनि त्रिविलगायतका परीक्षा भने सञ्चालन भइरहेका छन्। त्रिविले भदौ ५ सम्मका परीक्षाहरू सञ्चालन गर्ने यसअघि नै निर्णय गरिसकेको छ।

 

 



Leave a Reply

Your email address will not be published.