अवरोधका बीचमै राष्ट्रिय सभाबाट पारित भयो चिकित्साशिक्षा विधेयक, प्रतिनिधिसभा पनि अवरुद्ध

हेल्थपोस्ट नेपाल

अपडेट

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको विरोधका बाबजुद राष्ट्रिय चिकित्साशिक्षा विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएको छ । प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको विधेयक बिहीबार बहुमतका आधारमा पारित भएको हो । यससँगै डा. केसीको अनशनलाई बेवास्ता गर्दै आफूअनुकूलको विधेयक पास गराउन सत्तापक्ष सफल भएको छ ।

यसअघि कांग्रेस र राजपाका ५ सांसदले विधेयकमाथि संशोधनसमेत हालेका थिए । सोक्रममा कांग्रेसले संशोधन हाले पनि छलफलमा सहभागी नभई उठेर विरोध जनाइरह्यो । राजपाका सांसदले विधेयकलाई समितिमा पठाउन माग गरे पनि शिक्षामन्त्रीले विधेयक पारित गर्न ढिला भएकाले छलफल गर्ने समय नभएको जवाफ दिएपछि अध्यक्षले निर्णयार्थ पेस गरेर र बहुमतबाट विधेयक पारित गराए ।

यसअघि अध्यक्षले स‌ंशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरी बहुमतबाट अस्वीकृत भएको घोषणा गरेका थिए ।

 

…………

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै प्रतिनिधिसभाको बिहीबारको बैठक पनि अवरुद्ध गरेको छ । बैठक सुरु भएलगत्तै प्रतिपक्षी सांसदहरूले उठेर अवरोध जनाएपछि सभामुखले कांग्रेस सांसद डा. मीनेन्द्र रिजाललाई बोल्ने समय दिएका थिए ।

डा. रिजालले प्रतिनिधिसभाले बहुमतले पारित गरेको चिकित्साशिक्षा विधेयकमा त्रुटि भएको भन्दै अब मुठभेडबाट नभई वार्ता र संवादको माध्यमबाट राष्ट्रिय सभामार्फत त्यसलाई सच्याई डा. केसीको जीवनरक्षा गर्न र चिकित्साशिक्षा विकासका लागि मार्गप्रशस्त गर्न माग गरे । संसद सच्याउने ठाउँ भएको उल्लेख गर्दै उनले समितिमा फरक मत आइसकेपछि संसद्मा त्यसबारे बृहत् छलफल गरेर चिकित्साशिक्षा सुधारका लागि जीवन समर्पण गरेका डा. केसीको मागसमेत सम्बोधन हुने गरी सहमतिमा विधेयक पारित गर्नुपर्नेमा संसद् अवरुद्ध भएकै वेला सत्तापक्षले नाटकीय रूपमा विधेयक पारित गरेर समस्या झन् बल्झाएको बताए ।

विधेयक पारित गर्ने त्यस्तो बलमिच्याइँको तरिकाले गलत नजिर बसेको भन्दै उनले त्यो चिकित्साशिक्षा सुधारको खिलाफमा भएको समेत बताए । सरकार साम्यवादी शैलीमा प्रस्तुत भइरहेको आरोप लगाउँदै डा. रिजालले दुनियाँका सबै मुलुकलाई लल्कार्ने किसिमको वक्तव्यवाजीमा सरकार लागिरहेको बताए । सत्तापक्ष इतरका कुनै पनि शक्तिको अस्तित्व नदेख्ने सरकार एउटा आस्था र निष्ठाको प्रतीक सत्याग्रहीलाई दबाउन दुईतिहाइ जनमतको दुरूपयोग गरिरहेको उनको भनाइ थियो ।

‘एउटा निरीह अनशनकारी जो ज्यान दिन तयार छ, आफ्नो विचारका लागि, आफ्नो आस्थाका लागि, त्यसको बोली दबाउन दुईतिहाइ ? यो कस्तो दुईतिहाइ ?’ उनले भने, ‘आज मलाई लाग्छ, जनतालाई लाग्या होला– के मत दिएर पठायौँ, गोविन्द केसीसित लड्नका लागि पो मत दिएका रहेछौँ त ! गोविन्द केसीको जीवनरक्षा नगर्ने बाटोमा देशलाई धकेल्न पो मत दिएका रहेछौँ छ, नेपाली नागरिकको जीवन असुरक्षित बनाउनका लागि पो दुईतिहाइ मत दिएका रहेछौँ त !’

राष्ट्रिय सभामा ५ सांसदको ३ संशोधन दर्ता, अवरोधका बीच दफावार छलफल सुरु

राष्ट्रिय सभाको बिहीबारको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त चिकित्साशिक्षा विधेयकमाथि छलफल जारी छ । बैठक सुरु हुनासाथ डा. केसीको जीवनरक्षाको माग गर्दै प्रतिपक्षी संसदहरूले उठेर अवरोध जनाएका थिए । प्रतिपक्षीको अवरोधका बीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अध्यक्षको अनुमतिले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त चिकित्साशिक्षा विधेयकमाथि दफावार छलफल गरियोस् भनी प्रस्ताव राखेका थिए ।

सोलगत्तै अध्यक्षले विधेयकमाथि ३ वटा संशोधन परेको जानकारी गराउँदै संशोधन मागकर्ता सांसदहरूलाई आफ्नो राय राख्ने समय दिएका थिए । विधेयकमाथि नेपाली कांग्रेसका ४ र राष्ट्रिय जनता पार्टीका एक गरी जम्मा पाँच सांसदले ३ वटा संशोधन दर्ता गराएका छन् । संशोधन प्रस्तावकर्तामा कांग्रेसका सरिता प्रसाईं, प्रकाश पन्थ, बद्रीप्रसाद पाण्डे र राधेश्याम अधिकारी छन् भने राजपाका वृषेशचन्द लाल छन् । सांसदहरूले चिकित्साशिक्षा विधेयकलाई अनशनरत डा. गोविन्द केसीसित सरकारले गरेको सम्झौता अनुकूल हुने गरी संशोधन दर्ता गराएका छन् । जसमा प्रस्तावनामा विगतका आयोगको नाम उल्लेख, एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नमिल्ने व्यवस्था, पाँच वर्षभित्र सिटिइभिटीका प्रमाणपत्रतहमुनिका कार्यक्रम बन्द गर्ने व्यवस्थालगायत विषय संशोधनमार्फत सच्याउन प्रस्ताव गरिएको छ ।



Leave a Reply

Your email address will not be published.