सरकारको न्यूनतम साझा कार्यक्रम : स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने [पूर्णपाठ]
गठबन्धनका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ।
गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।
जसमा कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मी, अस्पतालका कर्मचारी, एम्बुलेन्स चालक, सफाई मजदुर र सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता तथा आवश्यकता अनुसार व्यक्तिगत सुरक्षा साधन उपलब्ध गराउने उल्लेख गरिएको छ।
त्यसैगरी, स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति तथा संस्थालाई कारबाही गर्ने, नेपालमै खोप उत्पादन गर्न पहल गर्ने, कोभिड–१९ को तेस्रो लहरको सम्भावनामा स्वास्थ्य सचेतना बढाउन आवश्यक जनशक्ति र गुणस्तरीय सामग्रीको व्यवस्था गर्ने, अक्सिजन र अन्य आवश्यक औषधि आपूर्ति सुनिश्चित गर्ने तथा स्वास्थ्य संस्थाहरुको क्षमतामा अभिवृद्धि गर्ने तथा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबीन गर्ने र दोषी देखिएका व्यक्ति तथा संस्थालाई कानुनी कारबाही गर्ने प्रतिबद्धता पनि न्यूनतम साझा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
त्यसैगरी, स्वास्थ्यमा जनताको सरल र सहज पहुँच स्थापित गर्न आधारभूत स्वास्थ्य केन्द्र र अस्पतालहरूलाई विस्तार गरी स्वास्थ्य सेवालाई जनताको घरदैलोमा पुर्याउने। प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने। स्वास्थ्य बिमाको पहुँचलाई विस्तार गर्ने। राज्यको नीतिविपरीत मेडिकल कलेजहरूलाई दिइएका सम्बधनको पुनराबलोकन गर्ने। चिकित्सा शिक्षाको नियामक निकायलाई प्रभावकारी बनाउने, विभिन्न आन्दोलनमा घाइते भई उपचार नपाएकाहरूको यथोचित उपचारको व्यवस्था गर्ने, अङ्गभङ्ग भएकाहरूलाई क्षतिपूर्ति र परिवारका कम्तिमा एक जना सदस्यलाई रोजगारीको व्यवस्था गर्ने उल्लेख गरिएको छ।