डा. केसीको जीवनरक्षाका लागि उत्रिए १२ पेसागत संगठन, बिहीबार १ बजे बृहत् -याली
२२ दिनदेखि अनशनरत डा. गोविन्द केसीको मागमा समर्थन र उनको जीवनरक्षाका लागि विभिन्न पेसागत, वैचारिकलगायत संघ–संगठनहरू बिहीबारदेखि संयुक्त रूपमा सरकारविरुद्ध संघर्षमा उत्रिने भएका छन् । सर्वसाधारण नागरिकलाई गुणस्तरीय स्वास्थ्यशिक्षा र सेवामा सहज पहुँच पुर्याउनुपर्ने पवित्र उद्देश्यका साथ डा. केसी १६औँ पटक आमरण अनशन बसेको २२औँ दिनसम्म पनि सरकारले सत्याग्रहीको जीवनरक्षाका लागि कुनै कदम नचालेकाले सरकारप्रति आक्रोशित भएको जनाउँदै विभिन्न १२ वटा संघ–संगठनले बुधबार सरकारविरुद्ध प्रदर्शन गर्ने संयुक्त विज्ञप्तिमार्फत जनाएका हुन् ।
बुधबार जारी गरिएको संयुक्त विज्ञप्तिमा बिहीबार दिउँसो १ बजे माइतीघरमण्डलाबाट सुरु हुने बृहत् र्यालीमा सहभागी भई डा. केसीको जीवनरक्षाका लागि सरकारलाई दबाब दिन लोकतन्त्र एवम् सामाजिक न्यायमा विश्वास गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, प्राध्यापक, शिक्षक, कानुनव्यवसायी, पत्रकार, इन्जिनियरलगायत अन्य विभिन्न पेसामा आबद्ध पेसाकर्मी तथा सर्वसाधारणलाई आह्वान गरिएको छ । यसरी आह्वान गर्नेमा प्रजातान्त्रिक विचार समाज, नेपाल डेमोक्रेटिक प्राध्यापक संघ, नेपाल प्रेस युनियन, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर नेपाल, नेपाल शिक्षक संघ, नेपाल स्वास्थ्यकर्मी एसोसिएसन, डेमोक्रेटिक लयर्स एसोसिएसन, पेसागत महासंघ, त्रिवि प्राक संघ, बिपी स्मृति अस्पताल, नेपाल सांस्कृतिक संघ र डिएएएन कीर्तिपुर क्याम्पस छन् ।
अनशनका क्रममा सरकारले डा. केसीसँग पटक–पटक सम्झौता गर्ने तर आफैँले त्यसको उल्लंघन गर्दै जाने प्रवृत्तिले लोकतन्त्रप्रति नै नागरिकको विश्वास डगमगाएको र स्वास्थ्यक्षेत्र थप विकराल स्थितितर्फ उन्मुख भएको उनीहरूको भनाइ छ । ‘सर्वसाधारण नागरिकलाई स्वास्थ्य शिक्षा तथा सेवामा सहज पहुँच पुर्याउनुपर्छ भन्ने पवित्र उद्देश्यका साथ पटक–पटक अनशनमा बस्दा नेपाल सरकारले उहाँसँग सम्झौता गर्ने, तर सम्झौताको मसी सुक्न नपाउँदै सरकारबाटै त्यसको उल्लंघन हुने परिपाटीले लोकतन्त्रप्रतिको नागरिकको विश्वास धर्मराएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसले नेपालको स्वास्थ्यक्षेत्र झन् पछि झन् विकराल स्थितितर्फ उन्मुख भएकोमा हामी सम्पूर्ण पेसाकर्मी तथा आमसर्वसाधारण नागरिक दुःखी र आक्रोशित भएका छौँ ।’
जनस्वास्थ्यसँग प्रत्यक्ष गाँसिएको विद्यमान समस्याको समाधानका लागि पहल गर्नुको सट्टा स्थितिलाई झन् बिगार्ने गरी सरकारप्रमुख एवम् सरकारका अन्य जिम्मेवार व्यक्तिहरूले दिँदै आएको गैरजिम्मेवार अभिव्यक्तिले लोकतान्त्रिक समाजका आमनागरिक तथा विद्वद्वर्गको शिर निहुरिएको र सरकारप्रतिको विश्वास र गरिमामाथि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै सन्देह पैदा भएकाले आफूहरूलाई चिन्तित तुल्याएको पेसाकर्मीहरूको भनाइ छ ।
पेसागत तथा वैचारिक संघ–संगठनले चिकित्साक्षेत्रको सुधारका लागि कोसेढुंगाका रूपमा रहेको माथेमा आयोगको प्रतिवेदन एवम् डा. केसी र नेपाल चिकित्सक संघसित गरिएका सम्झौताविपरीत वार्ता र संवादसमेत नगरी दुईतिहाइ बहुमतको आडमा चिकित्साशिक्षा विधेयक पारित गरिनुले लोकतान्त्रिक पद्धतिकै खिल्ली उडाएको ठहर गरेका छन् । उनीहरूले डा. केसीको अभियानमा ऐक्यबद्धता जाहेर गर्न सम्पूर्ण सरोकारवाला निकाय, नागरिक समाज, विभिन्न पेसामा आबद्ध संघ–संस्था तथा आमसर्वसाधारणमा अपिलसमेत गरेका छन् ।
विज्ञप्ति जस्ताको तस्तै
मिति : २०७५ माघ १६ गते
प्रेस विज्ञप्ति
नेपालको गुणस्तरीय चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाका अभियन्ता प्रा. डा. गोविन्द केसी १६ औँ पटकको आमरण अनशनमा बसेको आज २२औँ दिन भइसक्दासमेत नेपाल सरकारले उहाँको जीवनरक्षाका निम्ति कुनै पनि कदम अगाडि नबढाइएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
सर्वसाधारण नागरिकहरूलाई स्वास्थ्य शिक्षा तथा सेवामा सहज पहुँच पुर्याउनुपर्दछ भन्ने पवित्र उद्देश्यका साथ पटक–पटक अनशनमा बस्दा नेपाल सरकारले उहाँसँग सम्झौता गर्ने, तर सम्झौताको मसी सुक्न नपाउँदै सरकारबाटै त्यसको उल्लंघन हुने परिपाटीले लोकतन्त्रप्रतिको नागरिकको विश्वास धर्मराएको छ । यसले नेपालको स्वास्थ्य क्षेत्र झन् पछि झन् विकराल स्थितितर्फ उन्मुख भएकोमा हामी सम्पूर्ण पेसाकर्मी तथा आमसर्वसाधारण नागरिकहरू दुखी र आक्राेशित भएका छौँ । विद्यमान समस्याको समाधानका लागि सरकारले पहल गर्नुको सट्टा स्थितिलाई झन् बिगार्ने गरी सरकार प्रमुख एवम् अन्य सरकारका सदस्यहरूले दिएको गैरजिम्मेवार अभिव्यक्तिले लोकतान्त्रिक समाजका आमनागरिक तथा विद्वत् वर्गको शिर निहुरिएको छ । त्यति मात्र नभई सरकारप्रतिको विश्वास र गरिमामाथि राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा सन्देह पैदा भएकोमा हामी अत्यन्तै चिन्तित भएका छौँ ।
यस विषमपूर्ण परिस्थितिमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रका लागि कोशेढुंगा साबित माथेमा आयोगको प्रतिवेदन एवम् डा. केसी र नेपाल चिकित्सक संघसमक्ष गरिएको सम्झौताको भावना र मर्मविपरीत विवादास्पद चिकित्सा शिक्षा विधेयकलाई वार्ता र संवादसमेत नगरी दुईतिहा बहुमतको आडमा पारित गरिनुले लोकतान्त्रिक पद्धतिकै खिल्ली उडाएको हाम्रो ठहर छ ।
त्यसैले प्रा. डा. गोविन्द केसीको जीवनरक्षाका निम्ति हाम्रो पेसागत तथा सामाजिक सुरक्षा, स्थापित मूल्यमान्यता र विधिको शासनको स्थापनाका लागि वर्तमान सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै डा. केसीको अभियानमा ऐक्यबद्धता जाहेर गर्न सम्पूर्ण सरोकारवाला निकाय, नागरिक समाज, विभिन्न पेसमा आबद्ध संघसंस्था तथा आमसर्वसाधारण नागरिकहरूमा अपिल गर्दछौँ ।
लोकतन्त्र एवम् सामाजिक न्यायमा विश्वास गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, प्राध्यापक, शिक्षक, कानुनव्यावसायी, पत्रकार, इन्जिनियरलगायतका अन्य विभिन्न पेसामा आबद्ध पेसाकर्मीहरूलाई उपस्थित भई विद्यमान समस्याका सम्बन्धमा संसदीय प्रक्रियाद्वारा नै उत्पन्न समस्याको निरूपण गर्दै सत्याग्रही डा. गोविन्द केसीको जीवनरक्षाका निम्ति नेपाल सरकारलाई दबाब दिन निम्न लिखित मिति, समय र स्थानमा आयोजना हुने बृहत् -यालीमा गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ ।
मितिः २०७५ माघ १७ गते
समयः दिउँसो ठिक १ः०० बजे
स्थानः माइतीघर मण्डला
आयोजकहरू
१) प्रजातान्त्रिक विचार समाज
२) नेपाल डेमोक्रेटिक प्राध्यापक संघ
३) नेपाल प्रेस युनियन
४) सेन्टर फर डेमोक्रेटिक इन्जिनियर नेपाल
५) नेपाल शिक्षक संघ
६) नेपाल स्वास्थ्यकर्मी एसोसिएसन
७) डेमोक्रेटिक लयर्स एसोसिएसन
८) पेसागत महासंघ
९) त्रिवि प्रा.क. संघ
१०) बिपी स्मृति अस्पताल
११) नेपाल सांस्कृतिक संघ
१२) डि.ए.ए.एन कीर्तिपुर क्याम्पस
सम्पूर्ण संस्थाहरूको तर्फबाट
डा. केदारनरसिंह के.सी.
अध्यक्ष
प्रजातान्त्रिक विचार समाज